१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ। आज नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो।

अनेरास्ववियुले समाजशास्त्रको छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै एक महिनाअघि परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तालाबन्दी गरेको थियो।

महिना दिनसम्म परीक्षा नियन्त्रक कार्यालयमा तालाबन्दी हुँदा नतिजा प्रकाशन र परीक्षासम्बन्धी सबै काम ठप्प भएपछि स्वतन्त्र विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए। विद्यार्थीले आफूहरूको भविष्यमाथि नै खेलबाड गरेको भन्दै परीक्षा नियन्त्रकको कार्यालयमा ताला तोडेका थिए।

अनेरास्ववियुले लगाएको ताला विद्यार्थीले तोडेपछि आफ्नोको सहमतिबिनै ताला तोडेको भन्दै समाजवादी निकट विद्यार्थी सङ्गठनले परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड गरेको हो। परीक्षा नियन्त्रक देवसिंह नाथ र सहपरीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा रहेका टेबुल, कुर्सी, दराज र कम्प्युटरमा क्षति पुगेको परीक्षा नियन्त्रक नाथले जानकारी दिए।

‘समाजवादीका १२÷१५ जनाको समूहले एक्कासि कार्यकक्षमै आएर विद्यार्थीको मुख्य डाटा राख्ने सर्भरसहितको कम्प्युटरमा क्षति गरेको छ’, परीक्षा नियन्त्रक नाथले भने, ‘विद्यार्थीको उत्तरपुस्तिकालगायत परीक्षासम्बन्धी महत्त्वपूर्ण कागजातमा नोक्सानी पुगेको छ।’

उनले विद्यार्थी सङ्गठनले फोनमा भौतिकरूपमा कारबाही गर्ने धम्की दिएको बताए। ‘उहाँहरूले राखेका माग हामीले पूरा गरे पनि क्याम्पस प्रमुख र विभागीय प्रमुखमा भाग मागेकाले सहमति हुन नसकेको हो’, नाथले भने, ‘अहिलेकै अवस्थामा हामी परीक्षासम्बन्धी कुनै पनि काम गर्न नसक्ने अवस्थामा छौँ।’ परीक्षा नियन्त्रक कार्यालयमै तोडफोड भएपछि विश्वविद्यालयका परीक्षा र नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण कार्य प्रभावित भएको उनको भनाइ छ।

अनेरास्ववियु कञ्चनपुरले भने उक्त घटना सृजना हुनुमा स्वयं परीक्षा नियन्त्रक देवसिंह नाथसहित विश्वविद्यालयका पदाधिकारी जिम्मेवार रहेको जनाएको छ। अनेरास्ववियु कञ्चनपुरका संयोजक रमेश पन्तले आफूहरूको सङ्गठनले तोडफोड नगरेको दाबी गरे। ‘हामी भागबन्डा अन्त्य हुनुपर्छ भन्ने पक्षमा हौँ हामीले कतै तोडफोड गरेका छैर्नाै।’, उनले भने , ‘हाम्रा जायज माग राखेर हामीले परीक्षा नियन्त्रक र केन्द्रीय कार्यालयमा ताला लगाएका छौँ।’

उता विश्वविद्यालयको केन्दीय कार्यालय डेढ महिनादेखि बन्द छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले लगाएको ताला ४५ दिनपछि खुले पनि समाजवादी निकट विद्यार्थी सङ्गठनको ताला अझै खुलेको छैन। विश्वविद्यालयको केन्द्रीय कार्यालय साउन १ गतेदेखि बन्द छ।

विश्वविद्यालयको कार्यकारी परिषदबाट  विभिन्न आङ्गिक क्याम्पसमा तथा केन्द्रीय विभागमा रिक्त रहेको क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ। 

प्रकाशित: १५ भाद्र २०८० १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App