१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

जंक फुड हटाउँदै सरकारी स्कुल– ‘वि डन्ट इट जंकी, वि आर नट मंकी’

विद्यालयमै आयोजना गरिएको स्थानीय उत्पादनका खानेकुराको प्रदर्शनी। तस्बिर: भीम/नागरिक

इलाम नगरपालिका–५, बरबोटेको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक जितबहादुर कार्की सधैं विद्यालयका पुस्तक, कापी, कलम बोकेर कक्षामा पस्थे। आज कति विद्यार्थी स्कुल आए, नआउने विद्यार्थी किन आउन सकेनन्, शिक्षक कति आए, कुन कक्षामा कस्तो पढाइ चल्दैछ। पहिलो घन्टी बजिसक्दा उनले गरिसक्ने ‘ड्युटी’ थिए यी।  

तर, केही दिनयता कार्कीलाई यी जिम्मेवारी पूरा गरिसक्दा पनि फुर्सद थिएन। गाउँतिर गएर इस्कुस, आलु, तरुल, गुन्द्रुक, धुलो अचार, दाल, चामललगायत भेला गर्दैथिए उनी। विद्यालयका शिक्षक–कर्मचारीले पनि साथ दिए, सहयोग गरे। व्यवस्थापन समितिका पदाधिकारीसमेत जाँगर चलाएर गाउँले खानेकुरा भेला गर्न तम्सिए। नभन्दै, भनेजस्तैगरी सबै सामान तल्लो घर–माथ्लो घरमै जुटे पनि। कार्कीको योजना थियो– बालबालिकालाई जंक फुड (पत्रु खाना) बाट मुक्त गर्ने। र, नारा पनि तय गरियो–‘वि डन्ट इट जंकी, वि आर नट मंकी।’ अर्थात्, हामी अखाद्य खाँदैनौं, हामी बाँदर होइनौं।

स्कुल आएका बालबालिकालाई अभिभावकले खानाका रूपमा जंक फुट नपठाऊन् र बिहान–बेलुका पनि बालबालिकाले जंक फुड खानु नपरोस् भन्ने उनको भावनालाई प्रभावकारी रूपमा सफल पार्न तम्सिएको थियो विद्यालय परिवार। गाउँमा उत्पादन भएका तरुल, दाल, चामल, दूध, गेडागुडी, तरकारी, अदुवा, पिँडालु, भुटेको मकै, भटमास, सेल रोटी, साग, फर्सीलगायत खानेकुरा कार्कीकै अगुवाइमा भेला गरिए। अनि, मंगलबार विद्यालयमै ल्याएर ती खानेकुरा विद्यार्थीलाई मात्र चिनाइएन, अभिभावकलाई समेत विद्यालयमै बोलाएर त्यसको महत्त्व बुझाइयो। यी खानेकुरा विद्यालयमै पकाएर बालबालिका, अभिभावक र आगन्तुकसमेतलाई खुवाइयो।  

बालबालिकालाई जंक फुडको प्रयोगबाट बचाउन स्थानीय आमा समूहले समेत विशेष चासो दियो। विद्यालयमा आमा समूहसमेतको सक्रियतामा स्थानीय उत्पादन हुने खानेकुराबारे छलफल चलाइयो। अभिभावकलाई जंक फुडले बालबालिकाको स्वास्थ्यमा गर्ने हानी र स्थानीय उत्पादनको महत्त्वबारे सचेत गराइयो। स्थानीय अभिभावक तारा आचार्यले बालबालिकालाई आफ्नो बारीमै उत्पादित खानेकुरा खुवाउनुपर्ने र बालबालिका मात्रै होइन, सबै मानिसले स्वादका लागि अखाद्य वस्तु खानु नहुने शिक्षा पाएको बताइन्। ‘आज विद्यालयले ज्यादै राम्रो कार्यक्रम गरेर हामी सबै अभिभावकलाई खानेकुराको महत्त्वबारे बुझ्ने मौका दिएको छ,’ उनले भनिन्, ‘बालबालिकालाई चाउचाउ, बिस्कुट, कुरकुरेहरूजस्ता खानेकुराले गर्ने हानी बारे पनि थाहा भयो।’  

विद्यालयमा आयोजित कार्यत्रकमबाट अभिभावकलाई बालबालिकाको खानाबारे राम्रो सन्देश प्रवाह भएको आमा समूह अध्यक्ष संगीता पौडेलले बताइन्। ‘गाउँमा आफैंले उत्पादन गरेका खानेकुरालाई बेवास्ता गर्दै बालबालिकालाई बजारमा पाइने खानेकुरा खुवाउने चलन छ,’ उनले भनिन्, ‘आमा समूह र सबै अभिभावकमा जंक फुडले स्वास्थ्यमा पु¥याउने असर र स्थानीय खानेकुराको महत्तवबारे चेतना बढ्नुपर्ने रहेछ।’ उनले विद्यालय र आमा समूहले अखाद्य वस्तु र स्थानीय उत्पादनको महत्तवबारे चेतना अभिवृद्धि गर्दै जाने बताइन्। ‘मेरो आफ्नै पसल पनि छ तर मैले पसलबाट जंक फुड हटाएर अरू सामान मात्र राख्न थालिसकेकी छु,’ उनले सुनाइन्।  

स्थानीय अगुवा तथा खाद्यान्न र पोषणबारे जानकार नरेन्द्र गुरुङले बालबालिका र अभिभावकलाई खाद्य र अखाद्य वस्तुबारे जानकारी गराए। ‘हामीले बालबालिका र हाम्रो स्वास्थ्य राम्रो बनाउने हो भने किचनबाटै अभियान सुरु गर्नुपर्छ,’ गुरुङले भने, ‘जंक फुडमा स्वाद हुन्छ तर पोषण हुँदैन, स्वाद जिब्रोले मात्र लिने हो, जिब्रो खुसी बनाउन हामी शरीरमा दिनहुँ असर पु¥याइरहेका छौं।’ गुरुङले खानेकुराकै आधारमा मानिसको बौद्धिक विकास हुने भएकाले खानेकुरामा विशेष चनाखो हुन सुझाए। उनले जंक फुडको किन–बेच नै रोकिए यसको नियन्त्रण सजिलो हुने जनाए।

कक्षा ५ सम्मको यो विद्यालयमा ७० बालबालिका पढ्छन्। बालबालिका आकर्षित गर्न विद्यालयले अंग्रेजी माध्यममा पढाइरहेको छ। प्रधानाध्यापक कार्कीले सरकारले बालबालिकाको खाजाका लागि दिएको पैसासमेत जंक फुडमै प्रयोग हुन थालेपछि अभिभावकमा चेतना अभिवृद्धि गर्न विद्यालयमा खानेकुरा प्रदर्शनी नै आयोजना गरेको बताए। ‘बालबालिकाको स्वास्थ्यमा जंक फुडले गम्भीर असर गर्ने भएकाले बेलैमा अभिभावकमा चेतना जगाउन प्रयास गरिएको हो,’ उनले भने, ‘थोरै खर्चमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, आमा समूह, अभिभावक, शिक्षक र कर्मचारीलगायत सबैको सहयोगमा चेतना अभिवृद्धिको कार्यक्रम आयोजना गरिएको हो।’ स्थानीय परिकार प्रदर्शनीका लागि कसैले दूध, कसैले चामल, कसैले दाल, कसैले तरुललगायत सामान ल्याएर विद्यालयलाई सहयोग गरेका थिए।

इलाम नगरपालिका उपप्रमुख विष्णु दाहाल लिम्बूले विद्यालयले नयाँ र महŒवपूर्ण कार्यक्रम सुरुआत गरेको बताइन्। ‘यो प्रयास सबैका लागि अनुकरणीय छ, निजी विद्यालयले समेत यसको सिको गर्न जरुरी छ,’ उनले भनिन्, ‘अब म यो उदाहरण धेरैतिर प्रचार–प्रसार गर्न सहयोग गर्छु।’ उनै दाहालको सक्रियतामा यो गाउँमा धेरै वर्षअघि आमा समूह गठन गरिएको थियो। दाहालको पहलमा आमा समूहमा आबद्ध महिलालाई फलफूल, तरकारी र अन्नको बीउ वितरण गरिएको थियो। त्यसको उत्पादन बेचेर बालबालिका पढाउन सजिलो भइरहेको पनि स्थानीय महिलाले बताए।

विद्यालयमा आर्थिक स्रोत अभावले समस्या छ। विद्यालयले राखेका शिक्षकको तलबसमेत नहुँदा स्थानीय समाजसेवीको सहयोगकै भरमा चल्नुपरेको प्रधानाध्यापक कार्कीले बताए। कार्यक्रममा सहभागी हुन पुगेका नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा इलाम शाखाका पूर्व अध्यक्ष सटेन्द्र जबेगूले विद्यार्थीको खाजाका लागि नगद ५ हजार रुपैयाँ सहयोग प्रदान गरे।  

प्रकाशित: २० मंसिर २०७९ ११:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App