२५ पुस २०८२ शुक्रबार
image/svg+xml
सम्पादकीय

दैलेखले दिएको खुसी

दैलेखमा ठुलो परिमाणमा मिथेन ग्यास भेटिएको छ। प्रारम्भिक अन्वेषण प्रतिवेदनमा जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा एक सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको खानी तथा भूगर्भ विभागले जनाएको छ। चिनियाँ विज्ञ समूहद्वारा गरिएको यो अध्ययनका अनुसार, प्राप्त ग्यासले नेपालको अहिलेको खपत अनुसार कम्तिमा ५० वर्षलाई पुग्नेछ। चिनियाँ अधिकारीको प्रतिवेदनमा दैलेखका अन्य तीनवटा स्थानमा पनि मिथेन फेला पारेको बताइएको छ। चीनकै सिएनपिसी सिबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख १८ देखि चार हजार मिटर गहिराइसम्म जमिन खनेर नमुना निकाल्ने (ड्रिलिङ) कार्य गरेको थियो र प्राप्त नमूनालाई सरकारले चीनकै प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो। यो प्रतिवेदनलाई चीनको जियोेलोजिकल सर्भे कम्पनीले आउँदो डिसेम्बरसम्म अन्तिम रूप दिने तय भएको छ।

२०७२ सालमा भारतले अमानवीय नाकाबन्दी लगाएका बेला नेपालमा पेट्रोलियम पदार्थको विकल्पबारे छलफल सुरु भएको थियो। त्यहीबेला नेपालले चीनलाई पेट्रोलियम पदार्थ र ग्याँसको अध्ययन गर्न अनुरोध गरेको थियो। दैलेख उत्खनन् त्यसैको परिणाम हो, जसका लागि २०७२ चैतमा चीन र नेपालका प्रधानमन्त्रीबीच समझदारी भएको थियो। त्यसको चार वर्षपछि २०७६ असोजदेखि खानी विभाग र चिनियाँ प्राविधिकको टोलीले प्रारम्भिक अध्ययन गरेको थियो। लगत्तै २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओजिकल सर्भे कम्पनीबीच अन्वेषण तथा उत्खनन्का लागि दुई अर्ब ४० करोड रूपैयाँको सम्झौता भएको थियो। तीनवर्षका लागि गरिएको सम्झौताको म्याद सन् २०१९ फेब्रुअरीमा सकिएपछि सन् २०२२ मा आयोजनाले म्याद थप गरिएको थियो।

दैलेखमा पाइएको यो ग्यासबाट व्यावसायिक उत्पादन गर्न मिल्ने÷नमिल्नेलगायतका विषयमा अन्तिम प्रतिवेदनबाट टुंगो लाग्ने नै छ। तर, अहिलेका लागि यही सुसमाचारले पनि हामी नेपाली सबैलाई एकैपटक खुसी तुल्याएको छ। पेट्रोलियम पदार्थका लागि भारतमा निर्भर नेपालले के अब चाँडै आफ्नै भूमिबाट यसको आपूर्ति गर्ने छ त भन्ने विश्वास पनि जागेको छ। सँगै यसले भारतसँगको नेपालको व्यापार घाटालाई पनि उल्लेख्य मात्रामा कमी ल्याउने आशा गर्न सकिन्छ। शुक्रबारमात्र भन्सार विभागले गरेको सूचनामा चालु आर्थिक वर्षको ११ महिनामा नेपाललाई १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रूपैयाँ व्यापार घाटा भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३० प्रतिशतले बढी हो। चालु आर्थिक वर्ष निर्यात बढेको छ भने आयातको हिस्सा घटेको छ। कुल वैदेशिक व्यापारमा निर्यातका हिस्सा १३.०८ प्रतिशत छ भने आयातको हिस्सा ८६.९२ प्रतिशत। नेपालको कुल आयातमा पेट्रोलियम पदार्थको मात्र १८ प्रतिशतभन्दा बढीको हिस्सा रहेको छ, जुन वार्षिक तीन खर्ब रूपैंयाभन्दा बढी हो ।

दैलेखमा मिथेन भेटिएकोमा शुक्रबारको छलफलमा शीर्ष तीन दलका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि आपसमा खुसी बाँडेका छन्। प्रधानमन्त्री ओलीले त शुक्रबार बिहानै फेसबुकमा हात जोडेको तस्बिरसहितको एक पोस्ट सार्वजनिक गरे जसमा खुसीसँगै लेखिएको छ, ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु। समर्थन र विरोध–आवाज थरिथरिका थिए। ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ। यो खुसीको समाचार हो।’

शुक्रबार नै ललितपुरस्थित ग्वार्कोको ओभर पास उद्घाटनमा पुगेका प्रधानमन्त्री ओलीले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम आफूले थालेको दाबी गरेका थिए। यता शनिबार माओवादी केन्द्रका सांसद राजन दाहालले फेसबुकमार्फत नै ओलीविरुद्ध कटाक्ष गर्दै ओलीले नभइ आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहालको निर्णायक नेतृत्वले नै दैलेखमा ग्यास अन्वेषण भएको दाबी गरेका छन्। २०७३ सालमा दाहाल प्रधानमन्त्री बनेपछि नेपाल र चीनबिच सरकार–सरकार (जिटुजी) प्रारम्भिक समझदारी सम्पन्न भएको उल्लेख गर्दै सांसद दाहालले लेखेका छन्, ‘जसले दैलेख ग्यास परियोजनालाई राष्ट्रिय प्राथमिकतामा ल्यायो। सो समझदारीमा पहिलो चरण ६ महिनाभित्र र सम्पूर्ण परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।’

हाम्रो विडम्बना यही हो। कुनै एउटा राष्ट्रिय खुसीको समाचार नागरिकमा राम्ररी सञ्चार हुन नपाउँदै हाम्रा पार्टीहरूमा यसैगरी जस लिने होडबाजी चल्छ। जुन सरकारको पालामा भए पनि राम्रो कार्यको स्वागत, समर्थन गर्ने र त्यसको कार्यान्वयनमा सहकार्य गर्ने संस्कार हराउँदा दलहरू विकासका सहायक होइन, आफ्नो स्वार्थसिद्ध नभए बाधक बन्न तत्पर छन्। विकास आयोजनाहरूलाई दलीयकरणको दलदलमा फसाउन अभ्यस्त छन्। प्राकृतिक सौन्दर्य, सम्पदा र संसाधनमा धनी हाम्रो देशले विकासको मूलधार पहिल्याउन नसक्नुका थुप्रै कारणमा यो पनि एउटा हो भन्न अत्युक्ति हुँदैन। हाम्रो अपेक्षा छ, दैलेखमा भने त्यस्तो नहोस्। यहाँ भेटिएको मिथेनबाट ऊर्जा निकाल्न सकियोस् र त्यसले नेपालीमा आशा र आत्मविश्वासको प्रकाश छर्न सकियोस्। सम्भावना देखिने, काम पनि शुरू हुने तर त्यसको प्रतिफल कहिल्यै नपाउने रोगबाट यो आयोजना मुक्त हुनैपर्छ। दैलेखको दिएको खुसीमा उत्सव मनाउने नागरिकको हकलाई सरकार र दलहरूले खोस्नु हुन्न। तर, यसका लागि नागरिक खबरदारी पनि उत्तिकै महत्वपूर्ण रहेको तथ्य पनि हामीले भुल्नु हुन्न। 

प्रकाशित: ८ असार २०८२ ०५:५४ आइतबार

Download Nagarik App
Download Nagarik App