१४ माघ २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

साम्पाङको ‘गाग्री राजनीति’

धरान उपमहानगरपालिकाको खानेपानी समस्याको हल खोज्न मेयर हर्कराज राई (साम्पाङ) रित्तो गाग्री बोकेर गत साता संघीय राजधानी आएको खबर अहिलेसम्म पनि सेलाएको छैन। सिंहदरबारभित्र गाग्री लिएरै प्रधानमन्त्रीलाई भेट्न आएको भनिएका उनलाई सरकार प्रमुख केपी शर्मा ओलीले भेट नदिएको बरु गाग्री खोसिएको कुरालाई राई स्वयंले महत्वपूर्ण मुद्दा बनाएका छन् र सञ्चारमाध्यमले त्यसलाई पछ्याएका छन्। उनको भेट खानेपानीमन्त्री प्रदीप यादवसँग भएको छ, जसले राईकै भाषामा समस्या समाधानमा केवल आश्वासन दिएका छन्।

धरानमा खानेपानी समस्या नयाँ होइन। तीनतिर पहाड र दक्षिणमा जंगल रहेका कारण पानी नजम्ने बरु सोस्ने भिरालो प्रकृतिको भूगोल रहेकाले पनि धरान सधैं पानीका लागि भूमिगत स्रोतमा निर्भर रहिआएको छ। तर बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरण, जलवायु परिवर्तनले यो समस्या केही दशकयता संकट बनेको छ। अनुमानित तथ्यांकअनुसार धरानको अहिलेको एक लाख ६६ हजार ५३१ जनसंख्यालाई दैनिक तीन करोड लिटर पानी आवश्यक पर्छ तर मुस्किलले एक करोड ५० लाख लिटर पानी पनि उपलब्ध छैन। खानेपानी आपूर्ति सहज तुल्याउन २०७७ सालमा धरान खानेपानी व्यवस्थापन बोर्ड पनि गठन गरियो, एसियाली विकास बैंकको सहयोगमा दीर्घकालीन समाधानको प्रयत्न पनि थालियो। तर, बैंकको सहयोग र स्थानीयमा पारदर्शितामा प्रश्न उठेपछि त्यसले पनि गति पाएन। समस्या ज्यूँका त्यूँ रह्यो। धरानवासीहरू उपलब्ध पानीले मुखसमेत धुन नपुग्नेजस्ता गुनासा गर्न बाध्य छन्।

धरानलाई पूर्वकै सचेत, शिक्षित र सुन्दर सहर मानिन्छ। इतिहासमा किराँतकालीन राजा बुद्धिकर्ण रायको दरबार रहेको मानिने यहाँको विजयपुरलगायत पिण्डेश्वर मन्दिरको पनि पाँच सय वर्षको इतिहास भेटिएको स्थानीयको दाबी छ। १९५० सालयता जंगल फाडेर बनाइएको अहिलेको धरान बजारले २०५७ सालमै आफ्नो स्थापनाको शतवार्षिकी उत्सव पनि मनाइसकेको छ। एक समय पूर्वी पहाडकै मुख्य बजार धरान शिक्षा, स्वास्थ्यका लागि पनि त्यस क्षेत्रकै केन्द्र थियो। २०१० सालमा बेलायती गोर्खा सैनिकको भर्तीका लागि धरानमै शिविर खुलेपछि बिस्तारै धरान लाहुरेको सहरका रूपमा पनि परिभाषित हुन थाल्यो। कवि भूपी शेरचनले त कवितामै धरानलाई ‘लेफ्टराइटको सहर’ भनेका छन्। बसोबासका लागि उपयुक्त सहरका रूपमा अहिले पनि धरानलाई नै धेरैले सम्झन्छन्।

राजनीतिक रूपमा पनि धरानले जहिल्यै विद्रोही सहरको पहिचान बनायो। २००७ सालको राजनीतिक परिवर्तनलाई राजाले भारतसँग सम्झौता गरेको भन्दै विरोध गरेको धरानले पञ्चायतमा जहिल्यै जनपक्षीय वामपन्थी उम्मेदवारलाई जितायो। २०४६ सालको परिवर्तनपछि पनि सुनसरी–१ का धराने जनताले जहिल्यै कम्युनिस्ट वा कम्युनिस्ट समर्थकलाई नै सांसद बनाए। स्थानीय निर्वाचनमा पनि एक उपनिर्वाचनमा छोटो कार्यकालका लागि नेपाली कांग्रेसका उम्मेवारलाई मेयरमा चुनेर आफ्नो असन्तुष्टिको सुरुआत गरेका धराने मतदाताले २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्कराज राईलाई मेयर बनाएर अर्को विद्रोह गरे। यसलाई विद्रोह किन पनि मान्न सकिन्छ भने कम्युनिस्ट भनिएका दल खासगरी नेकपा (एमाले) को लामो समय पकडमा रहेको धरानले आफ्नो मेयर, उपमेयरकालमा ध्यानबहादुर राई र मनोजकुमार मेन्याङ्बोजस्ता नेताले त्यहाँको विकासको खाका र केही हदसम्म नयाँ दृष्टि देखाए पनि दुई दशकयता धरान घडीको अडिएको सुईजस्तै टक्क रोकिन पुग्यो, ज्यान भएर पनि जीवन नभएको झैं। अहिले मेयर राईको उदयलाई यही सन्दर्भमा बुझ्नु सान्दर्भिक हुन्छ, जो नगरवासीको खानेपानीको वर्षौंको प्यास बुझाउने नारा लिएर चुनावमा उत्रिए र जिते। निर्वाचनमा २० हजार ८२१ मत ल्याएका उनको मुख्य प्रतिस्पर्धी एमालेकी मञ्जु भण्डारी (१२,८२५ मत) भइनन् बरु नेपाली कांग्रेसका किशोर राई (१६,०५९) भए।

पुरानाहरूप्रति नगरवासीको असन्तुष्टि, आक्रोशको मत पाएर चकित तुल्याउँदै स्वतन्त्र मेयर बनेका राईमा मतदाताले कम्तीमा खानेपानी समस्या समाधानको सपना देख्न थाले। कहिले कोसी नदीबाट पानी ल्याउने त कहिले कोका खोलाबाट पानी ल्याउने उनको योजना पनि सुने। कोका खोलाबाट त करिब दैनिक तीन लाख लिटर पानी धरानमा झारे पनि। तर, यो ‘हात्तीको मुखमा जिरा’ थियो, जसको स्थायित्वको पनि कुनै टुंगो छैन। जनसहभागितामा विकासका लागि जहिल्यै तत्पर धरानेको चरित्र बुझेका उनले श्रम पार्कमार्फत माटोसँग जनलाई जोड्ने गजबको अभियान त ल्याए तर यहाँ पनि उनी न प्राविधिक न आर्थिक रूपमा पारदर्शी नै बने। योसँगै नगरवासीका मेयर हुनुपर्ने राई आफू स्वतन्त्र उम्मेदवारका रूपमा जितेकाले कोप्रति उत्तरदायी हुने भन्नेमै अलमल देखिन्छन्। त्यसैकारण हुनुपर्छ, आफूलाई जे लाग्छ, त्यही सही हो भन्नेमा उनी प्रवृत्त छन्। नगरमा लामा समयदेखि कार्यपालिकाको बैठक नबसाउनु, संयुक्त निर्णयको परिपाटीसँग असहमत हुनु, आफूलाई कसैको सुझाव र सल्लाहको आवश्यकता नभएको अभिव्यक्ति दिनु, हुँदाहुँदा आफ्ना क्रियाकलापबारे टिप्पणी गर्ने राजनीतिकर्मी मात्र होइन, समाचार लेख्ने (पत्रकार गोपाल दाहाललगायत) लाई खुलेआम धम्की दिनु उनी स्वाभाविक मानिरहेका छन्।

कुनै व्यावसायिक संस्था, कम्पनीको प्रमुख भए बेग्लै कुरा तर राजनीति गर्छु भनेर आइसकेपछि पार्टी होस् वा स्वतन्त्र, जुनसुकै विधिबाट चुनाव जिते पनि जनप्रतिनिधिको पहिलो काम जनतासँगको नियमित संवाद हुनुपर्छ। उनीहरूको समस्या, गुनासा सुन्नुपर्छ। आलोचक र विरोधीका प्रश्नको सामना गर्नुपर्छ। तर, पछिल्लो निर्वाचनमा स्वतन्त्र आवरणमा जितेका अधिकांशले राजनीतिको यो आधारभूत चरित्रसँग आफूलाई एकाकार गराउन सकिरहेका छैनन्, जुन वैकल्पिक राजनीतिका लागि सबैभन्दा ठुलो खतरा बनेको छ।

यही लहरमा छन्, हर्कराज राई पनि। यति भन्न किन गाह्रो छैन भने आधा समय कार्यकाल बिताइसकेका राईमा राजनीतिक चरित्र कम र अराजनीतिक बढी, लोकतान्त्रिक कम र अलोकतान्त्रिक चरित्र बढी छ। उनी रित्तो गाग्री बोकेर सिंहदरबारमा पानी खोज्न होइन, सामाजिक सञ्जालमा ‘कन्टेन्ट’ बनाउन आएका हुन्। ‘नाम होस् वा बदनाम तर गुमनाम चाहिँ हुनु नपरोस्’ भन्ने भाइरल मनोवृत्तिले ग्रसित उनी आफूलाई आफ्नै मर्जीका मालिक ठानिरहेका हुन सक्छन् तर यथार्थमा उनी त्यही मर्जीका दास बनिरहेका छन्।

समय अझै शेष छ। जनताले उनलाई नचिताएको पदमा विराजमान गराइदिएका छन्। र, उनको आधा कार्यकाल बाँकी नै छ। यो समयमा उनले संयमित भएर आफूलाई सुधार्दै जनताको विश्वास आर्जन गर्न सक्छन्। केही इमानदार प्रयास गर्दै आशा छर्न सक्छन्। नत्र इतिहासको पाद टिप्पणीमा समेत ठाउँ नरहने गरी त्यही जनआक्रोशले उनलाई त्यस्तो अन्धकारमा फालिदिनेछ, जसको स्मरणसमेत अप्रिय लाग्न सक्छ।
 

प्रकाशित: १३ माघ २०८१ ०५:५८ आइतबार

Download Nagarik App
Download Nagarik App