गतवर्षको तुलनामा यस वर्षको माघे संक्रान्तिसम्म छ लाख ३६ हजार किलो बढी कन्दमूलको व्यापार भएको छ । बिहीबार माघे संक्रान्ति पर्व भएकाले कन्दमूलको माग बढेसँगै व्यापार बढेको हो ।
माघ १ गते मनाइने यो पर्वमा विशेष परिकारका रूपमा तरुल, सखरखण्ड र पिँडालु खाने परम्परा रहेकाले कन्दमूलको व्यापार ह्वात्तै बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार यस वर्ष छ लाख ३६ हजार छ सय ५९ किलो कन्दमूलको व्यापार बढेको छ । यस वर्ष २२ लाख छ हजार सात १४ किलो कन्दमूलको व्यापार भएकोमा गत वर्ष १५ लाख ७० हजार ५५ किलो कन्दमूलको व्यापार भएको उनले बताए । कन्दमूलको यो व्यापार पुस महिनाको मात्र हो ।
अहिले बजारमा हात्तीपाइले तरुल, आकाशे तरुल, सिमल तरुल, वन तरुल, घर तरुल, पाताले तरुल, स्कुसको जरा, सखरखण्ड र मुडे तरुललगायतका विभिन्न प्रजाति उपलब्ध छन् ।
झापा, सर्लाही, धादिङ, गोरखा, नवलपरासी, सप्तरी, सुनसरी, नुवाकोट, मकवानपुर, भारत र दाङलगायतका जिल्लाबाट ठुलो परिमाणमा तरुल भित्रिएको बजार विकास समितिले जनाएको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार यस वर्ष तरुल १३ लाख ६१ हजार सात सय ६९ किलो, पिँडालु दुई लाख ४६ हजार सात सय ९८ किलो र सकरखण्ड पाँच लाख ९८ हजार एक सय ४७ किलो बराबरको व्यापार व्यवसाय भएको छ ।
गत वर्ष तरुल ११ लाख ४२ हजार नौ सय ४० किलो, पिँडालु एक लाख ४० हजार पाँच सय १५ किलो र सकरखण्ड दुई लाख ८६ हजार ६ सय किलो व्यापार व्यवसाय भएको सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।
गत वर्षभन्दा यस वर्ष कन्दमूलको व्यापार बढी छ । अहिले कन्दमूल खाने प्रविधि बढेकाले कन्दमूलको माग बढी भएको सूचना अधिकारी श्रेष्ठ बताउँछन् । माघे संक्रान्तिमा मात्रै हो अरु महिनामा पनि कन्दमूलको माग बढी नै रहेको सूचना अधिकारी श्रेष्ठको भनाइ छ । आन्तरिक उत्पादन हुने क्षेत्रहरूबाट तरकारी बजारमा आयात हुने गरेको विकास समितिले जनाएको छ ।
प्रकाशित: ३० पुस २०८२ १९:५७ बुधबार





