सेयर बजार पुँजीकरणले नयाँ किर्तिमान कायम गरेको छ। सेयर बजारको पुँजीकृत रकम सोमबार अहिलेसम्मकै धेरै ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। अर्थतन्त्र सकारात्मक लयमा उन्मुख हुँदै नेपाल राष्ट्र बैंकले सेयर बजारमैत्री मौद्रिक नीति लिएपछि नयाँ रेकर्ड ब्रेक गरेको हो। यसअघि सेयर पुँजीकरण सबैभन्दा धेरै ४७ खर्ब ९९ अर्ब रुपैयाँसम्म पुगेको थियो।
मौद्रिक नीतिको नीतिगत सुधारसँगै अर्थतन्त्रमा सकरात्मक परिवर्तन आएकाले नेप्से पुँजीकरणले नयाँ रेकर्ड कायम गरेको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए। ‘१४/१५ प्रतिशतको ब्याजदर करिब आठ प्रतिशतमा झरेको छ,’ अध्यक्ष ढकालले भने, ‘मौद्रिक नीतिले सेयर बजारलाई साथ दिएको छ।’ सेयरमा लगानीकर्ताको आकर्षण, बजारमा नयाँ–नयाँ कम्पनीको प्रवेश, बजारको वृद्धिको कारण पनि सेयर बजारको पुँजीकरण बढेको हो।
चार पाँच वर्षदेखि थलिएको अर्थतन्त्र सकारात्मक गतिमा अघि बढेकाले पनि लगानीकर्ताको आत्मबल बढेको ढकालले बताए। ‘कोडिभमा थलिएको अर्थतन्त्र चलायमान हुँदै छ,’ ढकालले भने, ‘अर्थतन्त्रका समग्र सूचकमा सुधार आएकाले सेयरमा पनि लगानीकर्ताको आकर्षण बढेको छ।’
सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ अंकले बढेर २८ सय ९२ बिन्दुमा पुगेको छ। सोमबार १५३ कम्पनीको मूल्य बढ्दा ९६ कम्पनीको मूल्य घटेको छ। सेयर बजारको पक्षमा देखिएका गर्भनर डा. विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीति पनि सेयर बजार अनुकूल छ।
राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा १५ करोडबाट बढाइ २५ करोड रुपैयाँ पुर्याएको छ। सेयर कारोबार गर्ने व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अब सेयर धितो राखेर कुल २५ करोड रुपैयाँसम्म कर्जा पाउने व्यवस्था गरिएको छ। यसले लगानीकर्तामा मनोबल बढाएको छ। निक्षेपको ब्याजदर घट्नु, बैंकमा पर्याप्त तरलता हुनुले पनि त्यसको प्रभाव सेयर बजारमा परेको छ।
ब्याजदर सस्तो भएकाले ऋण लिएर लगानी गर्ने पनि बढेका छन्। आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा धेरै फागुन १८ गते बजार पुँजीकरण ४७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको थियो भने सबैभन्दा कम २०८१ असार २६ गते ३४ खर्ब ५० अर्ब रुपैयाँ थियो। अर्थतन्त्रमा सुधारका संकेत देखिएकाले पनि त्यसको प्रभाव बजारमा परेको हो। आर्थिक क्रियाकलाप वृद्धिको पहिलो प्रभाव सेयर बजारमा पर्छ।
सोमबार नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ। आइतबार करिब साढे २१ अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ३११ स्टकको एक लाख ३८ हजार ८२८ पटकको कारोबारमा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँबराबरको ३ करोड ५६ लाख ४९ हजार कित्ता सेयर किनबेच भयो। सोमबार १३ वटै उपसमूहको परिसूचक बढ्यो। लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.९३ प्रतिशत बढेको छ भने विकास बैंक, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढेको छ। सोमबार तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।
थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। त्यसैगरी उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब साढे नौ प्रतिशत वृद्धि भयो। कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रह्यो। नेपाल पुनर्बिमा कम्पनीको सेयर ७५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भयो भने हिमालयन रिइन्स्योरेन्सको कारोबार रकम ७५ करोड रुपैयाँ नाघेको छ।
आर्थिक वृद्धिमा सुधार, राजस्व वृद्धि, आयात तथा निर्यात वृद्धि हुँदाको प्रभाव पनि बजारमा परेको छ। राष्ट्र बैंकका अनुसार अर्थतन्त्र क्रमश: लयमा फर्कन थालेको छ। मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ। विप्रेषण आप्रवाह, विदेशी पर्यटक आगमन र निर्यातको बढोत्तरीले विदेशी विनिमय सञ्चिति बढेको छ। विगत दुई वर्षदेखि संकुचनमा रहेका आर्थिक क्षेत्रहरूसमेत विस्तार भई आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार भएको छ।
प्रकाशित: ६ श्रावण २०८२ ०६:४० मंगलबार





