१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

देउवा–कोइराला भेट, खड्काले बोलाए आकस्मिक कार्यसम्पादन समिति बैठक

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस २७ र २८ गते विशेष महाधिवेशन बोलाइएपछि नेपाली कांग्रेस विभाजनको संकटमा फसेको छ। यही बेला पार्टीवृत्त फुटको चिन्ता प्रकट गरिरहेको छ।

विशेष महाधिवेशन मागकर्ताले बुधबार पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन बोलाएका थिए। साँझ दुई महामन्त्रीले संयुक्त वक्तव्य निकाले मागकर्ताले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन सार्वजनिक आह्वान नै गरेका छन्।  

यसैबिचमा बिहीबार बिहाने कांग्रेस नेता डा. शेखर कोइराला र डा. मीनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भेटवार्तामा नेता कोइरालाले पार्टी एकताबद्ध राख्न विशेष महाधिवेशन रोकेर पहलकदमी लिइदिन आग्रह गरेका छन्। कोइरालाले बरु विशेषको सट्टा संकल्प सम्मेलनको आयोजना गरेर पार्टीको विवाद मत्थर पार्नुपर्ने प्रस्ताव समेत राखेका छन्।  

कोइरालाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिइसकेको भनेर सभापति देउवा चुप लाग्न नहुने अवस्था सिर्जना भएको पनि स्मरण गराएका थिए।  

त्यसपछि देउवाले संस्थापन पक्षका नेतालाई बोलाएर आफू छलफल गर्ने र अन्य नेतासँग छलफल गरेर साझा धारणा बनाउन फेरि छलफलमा जुट्न कोइरालालाई पनि आग्रह गरेको स्रोतले बतायो।  

आकस्मिक कार्यसम्पादन समितिको बैठक आह्वान  

यसैबिच कार्यवाहक सभापति खड्काले आकस्मिक रूपमा कार्यसम्पादन समितिको बैठक डाँकेका छन्। बिहीबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको छ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ।  

प्रकाशित: २४ पुस २०८२ १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App