नेपालकै लाइफ लाइन (जीवन रेखा) मानिएको ९४.६ किमिको नागढुंगा-मुग्लिङ सडक विस्तारको काम तोकिएको समयमा नबन्ने भएको छ। यो सडकको निर्माण काम पूरा हुन अझै कम्तीमा दुई वर्ष लाग्ने देखिएको छ।
काठमाडौं उपत्यका बाहिरका जिल्ला जोड्ने यो सडक देशैकै महत्त्वपूर्णमध्येको एक हो। यही सडकमा विस्तारको काम चरम ढिलो भइरहेको छ। यो ढिलाइले गर्दा नागढुंगा भएर यात्रा गर्ने सबै यात्रुले दुःख पाइरहेका छन्।
सडक निर्माण र सुधारमा सरकारले बर्सेनि अर्बौं रुपैयाँ विनियोजन गर्दै आएको छ। यसका लागि चालु आर्थिक वर्षमा पनि डेढ खर्ब रुपैयाँभन्दा बढी छुट्याएको छ।
मुलुककै जीवनरेखा (लाइफलाइन) भनेर चिनिएका सडक नै लामो समयदेखि अलपत्र छन्। सडक स्तरोन्नति र सुधारका नाममा ठाउँठाउँमा उधिनेर अलपत्र अवस्थामा छोड्दा राज्यको पैसा मात्र खेर गएको छैन, हिउँदमा धुलो र वर्षामा हिलोले यात्रा कष्टकर र जोखिमपूर्ण बनिरहेको छ। सडककै दुरवस्थाका कारण दिनहुँजसो सवारी दुर्घटना समेत भइरहेको समाचार आइरहेका छन्।
त्रिभुवन राजपथअन्तर्गतको नागढुंगा–नौविसे तथा पृथ्वी राजमार्गअन्तर्गतको नौविसे-मुग्लिङ सडक खण्डको स्तरोन्नति गर्न २०२२ जुन ९ मा ठेकेदार कम्पनीसँग सरकारले सम्झौता गरेको थियो।
सम्झौताअनुसार यो सडक २०२५ डिसेम्बर २८ सम्ममा पूरा भइसक्नुपर्ने थियो तर तोकिएको समयमा काम पूरा नहुने निश्चित भएको छ।
नागढुंगा-मुग्लिङ सकडलाई दुई खण्डमा बाँडिएको छ। यसमध्ये नागढुंगादेखि मलेखुसम्म एउटा आयोजना (पूर्वी खण्ड)ले हेर्ने गरेको छ। जसको प्रमुख केशव ओझा हुन्।
यसैगरी मलेखुदेखि मुग्लिङसम्म अर्को कार्यालयले हेर्ने गरेको छ। जसको प्रमुख सजना अधिकारी हुन्।
नागढुंगा–मलेखु सडक पनि दुई खण्डमा बाँडिएको छ। पहिलो खण्डमा नागढुंगादेखि नौबिसेसम्म पर्छ। यसको लम्बाइ १२ किमि छ। यो सडक खण्डको विस्तारको काम आगामी फागुन मसान्तसम्ममा पूरा हुने ओझाले बताए।
उनका अनुसार हाल यस सडक खण्डको विस्तारको प्रगति ८५ प्रतिशत पूरा भएको छ। ‘फागुन मसान्तसम्ममा काम सकिने विश्वास हामीले गरेका छौं’, उनले भने।
यस सडक खण्डको ठेक्का सगुन कन्स्ट्रक्सन जियाम्सु जेभीले लिएको छ। यसको ठेक्का सम्झौता रकम एक अर्ब ३१ करोड रुपैयाँँ छ। यस सडक खण्डको काम पूरा गर्न यसअघि दुई पटक म्याद थप भइसकेको छ। नागढुंगादेखि मुग्लिङसम्म सबैभन्दा ब्यस्त र अप्ठ्यारो सडक यही हो।
नागढुंगा-नौविसे सडक खण्ड विस्तारको काम करिबकरिब अन्तिम अवस्थामा भए पनि नौविसे-मलेखु तथा मलेुख-मुग्लिङ खण्ड विस्तारको काम भने निकै सुस्त छ।
नौविसेदेखि मलेखुसम्म्म सडकको दूरी ४३ किमि छ। २०७८ सालमा यस सडक खण्डको विस्तार गर्न विभागसँग शर्मा लामा जेडआइसिवी जेभीले पाँच अर्ब ३० करोड रुपैयाँमा सम्झौता गरेको थियो।
ओझाका अनुसार हाल यस सडक खण्डको विस्तारको काम ५० प्रतिशतको हाराहारीमा मात्र भएको छ। आगामी २०८३ कात्तिक मसान्तसम्म यस सडक खण्डको विस्तारको काम पूरा गर्नुपर्ने अन्तिम म्याद दिइएको छ। तोकिएको समयमा उक्त सडक खण्डको विस्तारको काम नहुने निश्चित भएको छ।
सबैभन्दा समस्या मलेखु-मुग्लिङ सडक खण्डमा छ। यो सडक खण्ड विस्तार गर्न कम्तीमा दुई वर्ष लाग्ने भएको छ। यस खण्डका आयोजना प्रमुख सजना अधिकारीका अनुसार हाल यस सडक खण्डको विस्तारका काम जम्मा ३७ प्रतिशत मात्र प्रगति भएको छ।
उनका अनुसार ठेकेदार कम्पनीले दुई वर्षभन्दा बढी म्याद थप गर्न प्रस्ताव गरेको छ। ‘कति म्याद थप गर्ने भन्ने विषयमा निर्णय भएको छैन तर म्याद थप हुने निश्चित भएको छ’, अधिकारीले भनिन्।
उनका अनुसार ठेकेदार कम्पनीले विभिन्न कारणले दुई वर्षभन्दा बढी म्याद थप गर्न विभागसँग प्रस्ताव राखेको छ। शर्मा जीआइम्यासु जेभीले उक्त सडक खण्ड विस्तारका लागि विभागसँग सम्झौता गरेको थियो। सम्झौता रकम करिब पाँच अर्ब रुपैयाँ छ।
ओझाका अनुसार नागढुंगा–मुग्लिङ सडक विस्तारपछि उक्त सडकको चौडाइ कम्तीमा साढे सातमिटरदेखि २४ मिटरसम्ममको हुने छ। यो भनेको दुई लेन देखि ६ लेन सम्मका हुने छ। ‘अवस्था हेरेर काहीं दुई लेनको हुनेछ भने कहीं ६ लेनसम्मको हुनेछ। बजार क्षेत्रमा ६ लेनसम्म्मको हुने छ’, ओझाले भने।
प्रकाशित: २१ पुस २०८२ ०९:१३ सोमबार





