१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अर्थ

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, चार महिनायता कै उच्च विन्दुमा

चालु आर्थिक वर्षको अन्तिम कारोबार हुने दिन मंगलबार नेप्से परिसूचकमा हरियाली छाएको छ । लगातार बढ्ने क्रममा नेप्से आज ३४.६१ अंक बढेर २७९४.७८ विन्दुमा पुगेको छ। यो करिब चार महिनायताकै उच्च विन्दु हो । गत फागुन २२ गते नेप्से २८१८.४३ विन्दुमा थियो । सो पछि भने लगातार घटेको नेप्सेमा मौद्रिक नीति आएपछि आइतबारदेखि सुधार देखिएको हो ।  

बुधबार सेन्सेटिभ इण्डेक्स ७.८६, फ्लोट इण्डेक्स २.६६ र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ अंकले बढेको छ।  

बुधबार ३३० स्टकको ९९ हजार ५०५ पटकको कारोबारमा १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार रुपैयाँबराबरको ४ करोड ३१ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यो रकम साढे चार महिनायताकै उच्च हो । गत फागुन १९ गते नेप्सेमा १४ अर्ब २८ करोडको कारोबार भएको थियो ।  

बुधबार केबिएल डिबेञ्चर २०९० र थ्रिस्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। ग्रीन डेभलपमेन्ट बैंक, एनआईबिएल स्टेबल फण्ड, अप्पर हेवाखोला हाइड्रोपावर, माइ खोला हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशत हाराहारीमा वृद्धि भएको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको बुटवल पावर कम्पनीको ६१ करोड ८७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। राधी विद्युत कम्पनी र सानिमा माइ हाइड्रोपावरले पनि उल्लेखय कारोबार गरेका छन् ।  

बुधबार १२ वटा उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.८६ प्रतिशत, बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। व्यापार उपसमूहको परिसूचकमा भने सामान्य गिरावट आएको छ । 

प्रकाशित: ३२ असार २०८२ १५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App