बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु भएको छ। बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजना पाँच दिने मेला मंगलबार सुरु भएको हो।
मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोख्रेलले उद्घाटन गरे। मेला उद्घाटन गर्दै पोख्रेलले स्थानीय उत्पादनको बजारीकरणसँगै पर्यटन प्रवर्द्धनका लागि मेला महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
‘यो एउटा ऐतिहासिक मेला हो, यो केवल मेलाको निरन्तरता मात्रै होइन,’ उनले भने, ‘यसले यहाँको स्थानीय उत्पादनका वस्तुहरूको बजारीकरण र काममा महत्त्वपूर्ण सहयोग पुर्याउँछ। मैले यहाँ आउँदै गर्दा हेरें यहाँ बाहिरपट्टी धेरै स्थानीय उत्पादनका सामग्रीहरू राखेको पाइयो। मेलाले पर्यटनको समेत विकास गर्नेछ।’
.jpg)
चैत १० गतेबाट १४ गतेसम्म कालिका भगवती मन्दिर परिसरमा सञ्चालन हुने मेलाको अवसरमा खुल्ला कालिका कप पुरुष भलिबल, महिला भलिबल प्रतियोगिता, खुल्ला छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ।
यो वर्ष भलिबल प्रतियोगिताको पुरस्कार रकम समेत बढाइएको छ। खुला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद तीन लाख, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन्।
द्वितीय हुने समूहले नगद एक लाख ५० हजार मेडल ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले नगद ५० हजार मेडल र प्रमाणपत्र पाउनेछन्।
उत्कृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउनेछन्। कालिका कप खुला महिला भलिबल प्रतियोगिताका विजेताले नगद एक लाख मेडल ट्रफी र प्रमाणपत्र, द्वितीयले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र तृतीय हुनेले नगद २५ हजार पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीले नगद पाँच हजार पाउनेछन्।
अहिलेसम्म पुरुषतर्फ १० टिम सहभागी भएको मूल आयोजक समितिका संयोजक भूपेन्द्र खड्काले बताए। प्रतियोगिता खेल्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल खेलिसकेको खेलाडीहरू पनि आउने उनले जानकारी गराए।
छेलो फाल्ने प्रतियोगिताको विजेताले नगद ३० हजार पाउनेछन्। मेला सम्पन्न गर्न झण्डै ६० लाख खर्च लाग्ने उनले जानकारी दिए। मेलामा रथयात्रा सहित झाँकी प्रदर्शन लगायतका कार्यक्रमको आयोजना गरिएको भने नेपालका चर्चित कलाकारको साङ्गीतिक कार्यक्रम र रमाइलो मेला, बाल उद्यान र सस्तो बजारको व्यवस्थापन मिलाइएको खड्काले जानकारी दिए।
बागलुङको धार्मिक पर्यटनको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको मेला नाफामुखी भन्दा पनि सेवामुखी भएकाले कुनै टिकट बिनै प्रवेश गर्न सकिने उनले बताए।
घरेलु उत्पादनलाई प्रवर्द्धन गर्नका लागि स्थानीय उत्पादनका व्यापारीहरूलाई निःशुल्क स्थान उपलब्ध गराएको उनले सुनाए। ‘हामीले यहाँको स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न चाहेका छौं,’ उनले भने, ‘यहाँका डोका, डाला, नाङ्ला, ठेकाभाँडा जस्ता स्थानी वस्तुको व्यापार गर्नेहरूलाई स्टलको शुल्क लिएका छैनौं। उहाँहरुले रोजेको ठाउँमा निःशुल्क उपलब्ध गराएका छौं।’
.jpg)
बागलुङ कालिका मन्दिरमा बलि चढाउँदा र पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। त्यही विश्वासकै आधारमा हजारौं खसी बोका, राँगा तथा हाँस र सुँगुर समेत बली चढाइन्छ। बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समिति अध्यक्ष खड्काका अनुसार हरेक वर्ष वडा दसैँमा पाँच लाख र चैते दसैँमा छ लाख भन्दा बढी आन्तरिक तथा बाह्य श्रद्धालुहरूले मन्दिरको दर्शन तथा पूजापाठ गर्छन्।
वडा दसैँमा भाकल गरेकाहरू पूजा गर्न धेरै आउँछन् भने चैते दसैँमा घुम्न र हेर्नका लागि आउनेहरूको संख्या बढी हुने गरेको खड्काको अनुभव छ।
.jpg)
बागलुङ कालिकामा गरेको भाकल पूरा भएको भन्दै सुनचाँदी चढाउने चलन पनि छ। केही दशक पहिलेसम्म चैते दसैँको मेला भर्न आउने हजारौँ श्रद्धालुहरूका लागि दुई तीन दिन पहिले देखि नै पानी बोकेर हालको कालिका कुञ्ज परिसरमा माटोका घैँटाहरूमा भरेर श्रद्धालुहरूलाई खुवाएर स्थानीयवासीले पुण्य कमाउँथे।
मन्दिरमा आउने भक्तजनहरूको सहजताका लागि आवश्यक व्यवस्थापन मिलाइएको अध्यक्ष खड्का बताउँछन्। कालिका मन्दिरको दर्शन गर्न बागलुङ, म्याग्दी, पर्वत, गुल्मी, पाल्पा, कास्की, रुकुम, रोल्पा, नवलपरासी, काठमाडौं र भारतबाट समेत हजारौं दर्शनार्थीहरु आउने गर्छन्।
विक्रम संम्वत १५९१ मा पर्वते राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरे। विवाह गरेर राजकुमारीलाई ल्याउँदा उनकी असाध्यै प्रिय माझकी देवीको मूर्तिलाई राजाले दाइजो स्वरुप छोरी ज्वाँइको जिम्मा लगाएर पठाए। किम्बदन्ती अनुसार बागलुङका पँवार खड्काले देवीको खड्ग समातेका थिए।
अहिले बानपाको लमगाउँमा बस्ने मगरहरूले डोली बोकेर आएका थिए। अहिले बागलुङ कालिका मन्दिर भएको ठाउँमा डोली बिसाएपछि पुनः डोली उठाउन खोज्दा डेग नचलेपछि उक्त ठाउँमा मन्दिर स्थापना गरेर पूजा पाठको प्रचलन सुरु भएको बताइन्छ।
राजकुमारीको निकै प्रिय माझकी देवीलाई बाँगेचौरमा स्थापना गरेपछि रानीको चित्त दुखाइलाई सम्बोधन गर्न राजा प्रतापी नारायणले बाँगेचौरमा देवीलाई स्थापित गरेर चैत्र शुक्ल अष्टमीलाई मध्यनजर गरी चैतदसैं मेलाको आयोजना गरी रानी सहित आफू आएर देवीको पूजा अर्चना गर्ने, स्थानीय लोक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, खेलकुद लगायत हाट बजार सञ्चालन गर्ने साथै जनताको पिर मर्का सुन्ने र बुझ्ने परम्परा कायम गरेको उल्लेख गरेका छन्।
जिल्लाको इतिहासबारे खोज अनुसन्धान गर्दै आएका वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले बाइसे चौबिसे राजाको पालामा एकले अर्को राज्यमाथि आक्रमण गर्ने र राज्य विस्तार गर्ने परम्परा रहेका कारण बागलुङमा भगवती मन्दिरको स्थापना भएको तर्क गर्छन्।
‘भगवतीको पूजा गरेर उनलाई खुसी बनाएमा लडाइँमा विजय प्राप्त गर्न सकिन्छ भन्ने आस्थाका आधारमा राजाहरूले यो प्रचलन बसाएको विश्वास गर्न सकिन्छ,’ श्रेष्ठ भन्छन्।
श्रेष्ठले चैते दसैँ मेला र बागलुङ कालिका मन्दिर बागलुङको आर्थिक सामाजिक अवस्थासँग जोडिएको बताउँछन्। ‘बाइसे चौबिसे राज्य हुँदा एउटा राज्यले अर्को राज्यमाथि आक्रमण गरे कब्जा गर्ने चलन थियो,’ श्रेष्ठ भन्छन्,‘देवीको पूजा गरेमा शक्ति प्राप्त हुन्छ र युद्ध जितिन्छ भन्ने विश्वासका आधारमा राजाहरूले पूजापाठको चलन बसाएका हुन्। त्यही चलन पछि यहाँको सामाजिक र आर्थिक क्षेत्रसँग जोडिन पुग्यो।’
प्रकाशित: १० चैत्र २०८२ २१:३५ मंगलबार





