चितवनमा सोमबार आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले मेसिनबाट धान रोपेर २३औैं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने भएको छ। जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ चितवन र खैरहनी–१०मा रहेको महिला साना किसान कृषि सहकारी संस्था संयुक्त आयोजनामा धान दिवस मनाउन लागिएको हो।
महिला साना किसान कृषि सहकारी संस्थाको परिसरमा हुने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख तथा विशिष्ट व्यक्तिबाट धान रोपाइँ गरिने जानकारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले दिए। कार्यक्रम असार १५ गते बिहान सात बजेदेखि सुरु हुनेछ।
सो कार्यक्रमअन्तर्गत धान रोप्ने मेसिनको प्रयोगमार्फत धान रोपाइँको प्रदर्शन गरिने, कृषकलाई आधुनिक कृषि प्रविधिबारे जानकारी दिने उद्देश्यले महिला समूहसँग मिलेर कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुखसमेत रहेका रेग्मीले बताए।
चितवन धान उत्पादनको प्रमुख जिल्ला समेत हो। यहाँ चालु आर्थिक वर्षमा २७ हजार ३२५ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती भएको थियो। चितवनमा धान खेतीमा यान्त्रीकरणको प्रयोग बढ्दो छ। अहिलेसम्म जिल्लामा १४ वटा धान रोप्ने मेसिन छन्। त्यसमध्ये राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ चितवनले १३ वटा मेसिनमा ८५ प्रतिशत अनुदान दिएको छ।
कठारको महिला साना किसान कृषि सहकारी संस्थामा मात्रै दुई वटा मेसिन छन्। मेसिन भएपछि धान रोप्न सहज भएको संस्थाकी अध्यक्ष गीता केसी बताउँछिन्। भोलि मेसिन र हात दुवैले धान रोपेर धान दिवस मनाउने तयारीसमेत गरेको उनले बताइन्। यसका लागि १० कट्ठा खेत तयारी अवस्थामा राखेको उनले बताइन्। ‘मेसिनबाट धान रोप्दा एक बिघामा कम्तिमा पनि पाँच हजार फाइदा हुन्छ’, उनले खर्चको विवरण बताउँदै भनिन्, ‘मेसिनबाट रोप्दा बिऊसमेत कम लाग्छ।’
चितवनमा धान रोप्ने मानिस पाइन छाडेकाले मेसिन खरिद गरेको उनले बताइन्। संस्थामा दुई हजारभन्दा बढी महिला किसान आवद्ध रहेका छन्। उनीहरूले मात्र यस वर्ष ४० बिघाभन्दा बढी क्षेत्रमा मेसिनबाट धान रोप्ने तयारी गरेको केसीले बताइन्।
प्रकाशित: १५ असार २०८३ ११:०७ सोमबार





