भोटेकोशी बाढीमा परेर पदयात्रा र धार्मिक यात्रामा रहेका धेरै विदेशी पाहुना सम्पर्कविहीन छन्। विदेशी नागरिक बाहेक बिदेशमा बस्ने तर नेपाल घुम्न आएका नेपाली पाहुना पनि त्यही बाढीको चपेटामा परेका छन। विपत्मा परेर हराएका स्वदेशी र विदेशी पाहुनाबारे सर्वत्र चिन्ता एकातिर छँदैछ, त्यससँगै विपत्का कारण पर्यटन क्षेत्रले नजिकिएको पर्यटकीय सिजनमा मार खेप्ने पक्का भएको व्यावसायीको चिन्ता छ।
पर्यटन क्षेत्रले पछिल्ला केहीवर्षदेखि पर्यटकीय सिजनको मुखमा विपत्को सामना गर्नुपर्ने अवस्था आएको व्यावसायीको भनाई छ। अघिल्लो वर्ष पनि जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रले सिजनको मुखैमा ठुलो क्षति बेहोरेको थियो। योपटक पनि पर्यटकीय सिजनको मुखमै निम्तिएको बिपत्ले आगामि दिनमा विदेशी पाहुना आउजाउमा असर पार्ने उनीहरुको चिन्ता छ। व्यावसायीका अनुसार नेपाल आउने तयारीमा रहेका विदेशी पाहुनाले धमाधम बुकिङ रद्द गर्न थालेका छन्।
‘अबको केहीदिनमा मुख्य पर्यटकीय सिजन सुरु हुँदैछ। पर्यटक भित्रिने यो सिजनमा फेरि मार खेप्नुपर्ने अवस्था आएको छ। पर्यटकको पर्खाइमा रहेको बेला बिपत्को सामना गर्नुपरेको छ,’ होटल व्यावसायी ओम पाण्डे भन्छन, ‘सिजनका लागि राम्रो बुकिङ पनि आएको थियो। बाढीपहिरोको यो समस्यापछि विदेशी पाहुनाले धमाधम नेपालको यात्रा रोकेका छन। बुकिङ रद्द भएको छ।’ उनका अनुसार सेप्टेम्बरदेखि पर्यटकीय सिजन सुरु हुन्छ। यो सिजन तीनमहिना राम्रोसँग चल्छ। तर, यो पटक सिजनको मुखमै मार परेको छ।
‘अबको तीनमहिना नेपालमा विदेशी पाहुना भित्रिने सिजन हो। त्यही अनुसार अग्रिम बुकिङ पनि उकासिएर ६० प्रतिशत हाराहारीमा पुगेको थियो। अहिले त्यो बुकिङ धमाधम रद्द भईरहेको छ। आउन चाहेका पाहुनमध्ये केहीले यात्रा रद्द गरेका छन, केहीले पछाडि धकेलेका छन,’ उनले भने।
उनका अनुसार वर्षा कम हुने भएकोले पदयात्राका लागि यो सिजनमा विदेशी पाहुना नेपाल आउन चाहन्छन। तर, अघिल्लो वर्ष जेनजी आन्दोलनका कारण सिजन प्रभावित भएको थियो। अहिले फेरि विपत्ले गर्दा सकस थपिदिएको उनले बताए।
नेपालमा अहिले विपत्ले निम्त्याएको सकसबारे अन्तर्राष्ट्रिय निकायमा पनि संचार भएकोले पाहुना आउन समस लाग्ने व्यावसायीको भनाई छ। ‘विश्वकै ध्यान यतिबेला नेपालको विपत्मा छ। अकल्पनीय घटनाक्रम भएकोले अन्तर्राष्ट्रिय मिडियामा नेपालको घटनाबारे ब्यापक रुपमा समाचार प्रशारण भएको छ। त्यसैले पनि यो सिजनमा पाहुना आउन सक्ने अवस्था कमजोर रहेको छ,’ होटल कौशीका संचालक धर्मराज पन्थी भन्छन, ‘सिजनको मुखमा परेकोले पनि पर्यटन क्षेत्रले क्षति भोग्नु पर्नेछ।’ नेपाल आएका सयौं विदेशी पर्यटक अहिले बाढीकै चपेटामा परेकोले पनि समस्या थपिएको उनले बताए।
नेपालको घटना र नेपालको घुमघामबारे जानकारी गराउँदै विभिन्न मुलुकले आफ्ना नागरिकलाई नेपालको घुमघामबारे सचेत पनि गराएका छन्। हराएका आफ्ना नागरिकको खोजी गरिदिनका लागि नेपालस्थित दूतावाबासमार्फत सरकारको ध्यानाकर्षण पनि उनीहरुले गराएका छन्। ‘पर्यटक पनि यही बाढीको चपेटामा परे। त्यसले गर्दा झनै नराम्रो सन्देश प्रवाह भएको छ,’ उनले भने।
पछिल्लो समय पोखरालाई काठमाडौंसँग जोड्ने पृथ्वी राजमार्गको अवस्था र त्यसले स्थलमार्गको यात्रालाई रोक्दा आन्तरिक पाहुनाको आगमन पनि प्रभावित हुने चिन्ता व्यवासायीको छ। अबको सिजन विदेशीको मात्र नभई स्वदेशी पाहुनाको पनि भएको तर, स्वदेशी पाहुना पोखरासम्म आउनै नसक्ने गरि राजमार्ग अवरुद्ध भएकोले पनि त्यसको मार पर्यटन क्षेत्रले खेप्न बाध्य हुने व्यावसायीको भनाई छ।
‘फाट्टफुट्ट विदेशी पाहुना आउन थालेका थिए। कर्मचारीको खर्च धान्ने अवस्था देखिएको थियो। तर, यहीबेला बाढीपहिरो निम्तियो। अबको केही समय विदेशी पाहुना आउन सक्ने अवस्था रहन्न। यसले व्यावसायीमाथि आर्थिक भार थपिनेछ,’ लेकसाइडका व्यावसायी गणेशबहादुर भट्टराई भन्छन, ‘जसोतसो खर्च धान्न सकेको भए राम्रो हुन्थ्यो। तर, खर्च धान्न नसक्दा व्यावसायीले ऋण खोजेर भएपनि कर्मचारीको खर्च व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको छ।’ विपद् र त्यसको प्रभावका कारण विदेशी मात्र नभई स्वदेशी पाहुना पनि प्रभावित भएको उनले बताए।
चितवन सौराहाका पर्यटन व्यावसायी सुमन घिमिरे पनि अहिलेको विपत्का कारण मुखैको पर्यटकीय सिजन प्रभावित हुने पक्का भएको बताउँछन। ‘अबको एकमहिना अवधिका लागि पक्का पनि पर्यटन क्षेत्र प्रभावित हुन्छ। त्यसपछि भने त्यतिखेरको अवस्थाले देखाउनेछ। सबै सहज भएको खण्डमा पाहुना आउनेछन। अहिलेका लागि पाहुना आउने अवस्था रहन्न,’ घिमिरेले भने, ‘हुन त सबैतिर असर परेको होईन। तर, नेपालको यो विपत्बारे विश्व नै चकित छ। यसले गर्दा पर्यटकहरु नेपाल आउने अवस्था रहनेछैन।’ उनले पनि होटलको अग्रिम बुकिङ गरेका पाहुनाले रद्द गर्ने अवस्था सिर्जना भएको बताए।
पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछाने पनि पर्यटकीय सिजनको मुखमा निम्तिएको यो सकसले पर्यटन क्षेत्रलाई सहज नहुने बताउँछन्।
‘पर्यटकीय सिजन सुरु हुनै लागेको थियो। यहीबेला विपत् निम्तियो। त्यत्तिमात्र नभई आन्तरिक पर्यटकको आउजाउ प्रभावित हुने गरि राजमार्गमा पनि सकस थपिएको छ,’ लामिछाले भने, ‘अबका तीनमहिना पर्यटकीय सिजन सुरु हुने हो। तर, पाहुना आउने अवस्था छैन। अब पाहुनाले यात्रालाई रोकेर बुकिङ पनि रद्द गर्नेछन।’
नेपालको पर्यटन क्षेत्रले पछिल्लो समय बारम्बारजसो प्राकृतिक विपत् खेप्दै जाँदा यसले दीर्घकालिन असर पर्न सक्ने चूनौति थपिएको पनि उनले बताए। ‘अघिल्लो वर्ष जेनजी आन्दोलनले खायो, यो पटक प्राकृतिक विपत्ले सर्बत्र नोक्सान गरेको छ। पर्यटकको ठूलो संख्या नै त्यही बाढिको चपेटामा परेको छ,’ उनले भने, ‘यसले अहिलेका लागि नेपालको यात्रा रोकिने अवस्था सिर्जना भएको छ।’
यसैबीच नेपाल पर्यटन बोर्डले सूचना जारी गर्दै पर्यटकलाई आफ्नो यात्रा सुरु गर्नुअघि पछिल्लो सडक तथा मौसमको अवस्था अनिवार्य रुपमा जाँच गर्न अनुरोध गरेको छ। विशेषगरी प्रभावित जिल्लातर्फ वा ती जिल्ला हुँदै यात्रा गर्दा स्थानीय प्रशासन तथा सुरक्षा निकायले दिएका निर्देशन पालना गर्न पनि बोर्डले आग्रह गरेको छ। भोटेकोशी–त्रिशूली नदीको करिडोर (रसुवा, नुवाकोट, धादिङ र गोरखा हुँदै बग्ने क्षेत्र) बाहेक अन्य स्थान, पर्यटकीय स्थल तथा पर्यटकीय गतिविधि सामान्य रुपमा सञ्चालनमा रहेको पनि बोर्डको भनाई छ।
प्रकाशित: १६ भाद्र २०८३ १८:१२ मंगलबार



-600x400.jpg)

