२५ असार २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

संकटमा बिपी प्रतिष्ठान, सास्ती भोग्दै बिरामी

भोजपुर षडानन्द नगरपालिका–१२ का उत्तरबहादुर मगर सोमबार धरान आएर मंगलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुगे।  उनी तीन वर्षअघि पनि प्रतिष्ठानमा उपचारका लागि आएका थिए। त्यतिबेला सहजै उपचार पाएका उनले यसपटक भने ठुलो झन्झट बेहोर्नुपर्‍यो।

‘यस पटक त निकै ठाउँ धाइसकें,’ उनले भने, ‘डाक्टरले शुक्रबार आउन भन्नुभयो।  घर टाढा रहेको बताएपछि स्वास्थ्य जाँच त भयो तर रिपोर्ट कहिले आउने हो, टुंगो छैन। ’ उनी फोक्सोको समस्या लिएर अस्पताल आएका हुन्। ‘धान रोप्ने चटारो छ।  छिटै उपचार भए हुन्थ्यो।  कति दिन लाग्ने हो, केही थाहा भएन,’ उनले भने।  

तेह्रथुमको मोराहाङका गंगाबहादुर तामाङले पनि उत्तमबहादुरले जस्तै सहज उपचार नपाएको गुनासो गरे।  ‘पेटको उपचार गर्न आएको हुँ। बिहानै जाँच गराए पनि ४ बजे (मंगलबार दिउँसो) सम्म रिपोर्ट आउँछ भनिएको थियो तर आधा घन्टा बितिसक्दा पनि आएको छैन,’ उनले भने।

उनका छोरा चेतनले प्रतिष्ठानको सिस्टम नबुझेका व्यक्तिलाई उपचार पाउन गाह्रो हुने बताए। ‘कर्मचारीले पनि सही सूचना दिन्नन् अनि बढी दुःख पाइन्छ,’ उनले भने, ‘साह्रो बिरामीलाई त गाह्रो छ। ’

धरानकै पदमकुमारी मगरलाई चार दिनदेखि प्रतिष्ठानको आइसियुमा राखिएको छ।  उनलाई कलेजोको समस्या छ तर चिकित्सकले परिवारका सदस्यलाई सही सूचना नदिँदा मनमा बेचैनी बढेको नातिनी ममता गिरीले बताइन्।

प्रतिष्ठानमा ओपिडी र आकस्मिकमा गरी दैनिक तीन हजार हाराहारी बिरामी उपचार गराउन आउँछन्।  तीमध्ये ८० प्रतिशत बिरामीले बिमाअन्तर्गत उपचार गराउँछन्। बिरामीको चापले आइसियुमा राख्नुपर्ने र गर्भवतीलाई कठिनाइ हुने गरेको छ। यहाँ आइसियुअन्तर्गत पल्मोमा दस, एसआइसियु र एनआइसियुमा ६÷६ वटा बेड छन्। त्यस्तै पिआइसियु र एमआइसियुमा चार÷चार वटा बेड छन्।  भेन्टिलेटर ९७ वटा रहेकोमा ३९ वटाले काम गर्दैन।  ३० वर्षअघिका ती मेसिन भएकाले र सामान नपाइएकाले मर्मत गर्न नसकिएको प्रतिष्ठानका प्रवक्ता डा. शमशेर श्रेष्ठले बताए।

आइसियु बेड र भेन्टिलेटर पर्याप्त नहुँदा प्रतिष्ठानमा ल्याइएका कतिपय बिरामीलाई विराटनगर, काठमाडौं र भारत लानुपर्ने बाध्यता छ। ‘पूर्वका अन्य अस्पतालले पनि क्रिटिकल बिरामीलाई प्रतिष्ठानमै रेफर गर्ने हुँदा आइसियु र भेन्टिलेटरको अभाव हुने गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘आइसियु र भेन्टिलेटरका सबै प्रोटोकल फलो गर्दा यसलाई व्यापक रूपमा बढाउन कठिनाइ भएको छ।’

बिरामीको धेरै चाप हुँदा व्यवस्थापनमा कठिनाइ भएको छ। ‘लाइन बस्नुपर्ने र पर्खनुपर्ने समस्या छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘बिरामीको चापलाई मध्यनजर गरेर व्यवस्थित गर्न लागिपरेका छौं।’ उनका अनुसार बिमाअन्तर्गत उपचार गर्ने बिरामीका लागि बिमा बोर्डबाटै कडाइ भएकाले प्रतिष्ठानबाट पनि कडाइ गरिएको हो। यहाँ कोसी र मधेस प्रदेशसँगै भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्।

अतिक्रमित १० बिघा जग्गा खाली गराइँदै

विभिन्न संस्थाले अतिक्रमण गरेको झन्डै साढे १० बिघा जग्गा खाली गराउने तयारी प्रतिष्ठानले थालेको छ।  प्रतिष्ठान स्वामित्वका जग्गा विभिन्न संस्थाले अतिक्रमण गरी प्रयोग गर्दै आएका छन्। प्रक्रिया पूरा गरी जग्गा खाली गराउन लागिएको छ। दुई दिनअघि प्रतिष्ठानको निरीक्षणमा आएका गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले अतिक्रमण गरिएको जग्गा खाली गराउन निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालय र प्रतिष्ठानको व्यवस्थापन समूहले प्रक्रिया अगाडि बढाएको हो। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार जग्गाको नापजाँच थालिएको छ र यकिन विवरण निकालेपछि खाली गराइने छ।

प्रतिष्ठानको स्वामित्वमा कुल दुई सय ६८ बिघा जग्गा छ।  त्यसमा निर्माण कन्ट्री क्लबले १० बिघा, बिपी सुन्दर बजार र धार्मिक संस्था गुम्बाले चार÷चार कट्ठाजति अतिक्रमण गरेका छन्।  यस्तै धार्मिक कार्य साकेलाका लागि झन्डै एक कट्ठा जग्गा अतिक्रमण गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठान स्थापनापछि २०५८ सालमा काठमाडौं लिजिङ एन्ड हाउजिङ प्रालिले ५० वर्षका लागि रेस्टुरेन्ट, गेस्ट हाउसलगायत चलाउन १० बिघा जग्गा भाडामा लिएको थियो।  जग्गा भाडामा लिएको कम्पनीका मुख्य व्यक्ति नै पाँच वर्षअघि छाडेर हिँडेपछि धरानकै केही व्यक्तिले उक्र जग्गा उपयोग गर्दै आएका छन्। गुम्बाले पनि भौतिक पूर्वाधार निर्माण गरी भाडा लिर्दैै आएको छ।  गुम्बा र साकेलाले प्रतिष्ठान सुरु भएदेखि नै जग्गा अतिक्रमण गरेर प्रयोग गर्दै आएको हुन्।  प्रतिष्ठानले उपयोग गरेको जग्गामध्ये ८४ बिघामा जंगल छ।वनले प्रतिष्ठानलाई जग्गा उपलब्ध गराउँदा घेराबेरा गरेर राखिए पनि अहिले पनि जंगल नै राखिएको छ।

बिपी सुन्दर बजारको जग्गामा भौतिक पूर्वाधार बनाएर उपमहानगरपालिकाले भाडा लिने कार्य भने नियम संगत नभएको प्रजिअ घिमिरेले बताए।  गुम्बा र साकेलाले पनि लिजमा लिने सम्झौता नगरेमा तत्काल खाली गराइने प्रजिअ घिमिरेले बताए।

आर्थिक कारणले धराशयी बन्दै

प्रतिष्ठान आर्थिक सन्तुलन मिल्न नसक्दा धराशयी बन्दै गएको छ। प्रतिष्ठानको वार्षिक बजेट साढे तीन अर्ब हाराहारीमा छ।  प्रतिष्ठानको आम्दानी ४० प्रतिशत शैक्षिक र ६० प्रतिशत अस्पताल तथा अन्य स्रोतबाट हुने गरेको छ। आम्दानीमध्ये ६० प्रतिशत तलबभत्ता र अन्य विभिन्न खालको सञ्चालनमा खर्च हुन्छ। तलबभत्तामा मासिक १६ करोड रुपैयाँ खर्च हुन्छ।  यहाँ चार सय चिकित्सक र एक हजार पाँच सय कर्मचारी कार्यरत छन्।

प्रतिष्ठानमा ८० प्रतिशत बिरामी बिमाका हुन्छन्।  बिमाअन्तर्गत उपचारको पैसा समयमा नपाउने समस्या छ।  कतिपय पैसा त कट्टा गरेर आउने गरेको छ।  तलबभत्ताका लागि सरकारले सहयोग गर्दैन।  पूर्वाधारका लागि भने सरकारले सहयोग गर्छ।  ‘एकातिर बिमाअन्तर्गत स्वास्थ्य उपचारको पैसा समयमा नआउने अर्कातिर प्रतिष्ठानको आम्दानीको पैसा तलबभत्तामा खर्चनुपर्ने कारण आर्थिक सन्तुलन मिलाउन समस्या छ,’ प्रतिष्ठानका प्रवक्ता श्रेष्ठले भने, ‘भविष्यमा प्रतिष्ठानमा आर्थिक कारणले नै कठिनाइ आउने सक्ने खतरा छ।’

एमआरआई मेसिन खरिद  प्रक्रिया सुरु

सरकारले २५ करोड रुपैयाँ छुट्याएपछि प्रतिष्ठानले एमआरआई मेसिन खरिद प्रक्रिया अघि बढाएको छ।  १५ वर्षदेखि नभएको मेसिन खरिद प्रक्रिया थालिएको हो।  मंगलबार टेन्डर आह्वान गर्नुअघि नै सम्भावित आपूर्तिकर्ता कम्पनीहरूबाट प्राविधिक प्रस्तुतीकरण (प्रिजेन्टेसन) गराएको जानकारी दिइयो।  यसअघि आवश्यकता पहिचान भएपछि बायोमेडिकल इन्जिनियरले स्पेसिफिकेसन तयार गरेर सिधै टेन्डर आह्वान गर्ने अभ्यास थियो।  

पुरानो प्रक्रियामा स्पेसिफिकेसन सीमित हुने, चिकित्सक तथा बायोमेडिकल टोलीले बजारमा उपलब्ध नवीनतम प्रविधि र सुविधाबारे पर्याप्त जानकारी नपाउने तथा टेन्डर प्रक्रियामा पटकपटक संशोधन गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको थियो।  प्रतिष्ठानले एमआरआई खरिद अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (आइसिबी) मार्फत गर्ने तयारी गरेको छ।

आइसिबी प्रक्रियाबाट खरिद गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) लगायत केही कर छुटको सुविधा प्राप्त हुने भएकाले मेसिनको लागत अघिल्लो तुलनामा कम पर्ने अपेक्षा गरिएको छ।  मेसिन खरिद भएपछि प्रतिष्ठित अस्पतालमा बिरामीलाई पनि सहज हुने भएको छ।  ‘एमआरआई मेसिन नहुँदा अन्ट्रासाउन्ड र एक्सरेबाट पत्ता नलागेका कतिपय रोग पहिचान गर्न टेवा पुग्छ,’ प्रतिष्ठानका प्रवक्ता डाक्टर समशेर श्रेष्ठले भने।  

प्रकाशित: २५ असार २०८३ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App