१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

भिजिबिलिटी नपुग्दा दुई दिनदेखि पोखराको हवाइसेवा अवरुद्ध

विमानस्थल नै खुल्न सकेन, सबै उडान रद्द

पोखरा विमानस्थल। यहाँबाट दुईदिनदेखि हवाई उडान हुनसकेको छैन। फाइल तस्बिरः नागरिक

निरन्तरको झरिले पोखराबाट सबै सहरसँगको हवाई सेवा बिच्छेद भएको छ। दुइदिनदेखि पोखराबाट कुनैपनि हवाई उडान हुन सकेको छैन। पोखरामा मंगलबार रातीदेखि सुरु भएको वर्षा अझै रोकिएको छैन। त्यसले गर्दा हवाई सेवा प्रभावित भएको पोखरा विमानस्थलले बताएको छ।

हवाई उडान नहुँदा दसैंको टीका थाप्न आउजाउ गर्ने यात्रु बढी प्रभावित भएका छन। दसैंको टीको दिन बुधबार पनि कुनै पनि उडान भएको थिएन। त्यस्तै विहीबार पनि पोखराबाट कुनै पनि उडान हुन नसकेको विमानस्थलले बताएको छ।  

विमानस्थलका सूचना अधिकारी देराज सुवेदीका अनुसार विहान साढे ६ बजे खुल्ने विमानस्थल दुईदिनदेखि खुल्नै सकेको छैन। त्यसले गर्दा सबै उडान रद्द भएको उनले बताए। उनका अनुसार यो बेला पोखराबाट जोमसोम, काठमाडौं, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी सहितका गन्तव्यमा सिधा उडान भईरहेको थियो। ती सबै गन्तव्यका उडान रोकिएको उनले बताए।

सुवेदीका अनुसार यो बेला बुद्धले काठमाडौं, नेपालगञ्ज, भरतपुर, भैरहवा लगायतका गन्तव्यमा दैनिक १६ वटासम्म उडान गरिरहेको थियो। त्यस्तै यतीले पनि काठमाडौंका लागि दैनिक ६ वटा, श्री एयरलाइन्सले काठमाडौंकै लागि दैनिक तीनवटा र गुण एयरलाइन्सले पनि दुईवटा उडान राखेको थियो। ती सबै गन्तव्यका उडान दुईदिनदेखि अवरुद्ध भएको उनले बताए। त्यस्तै हिमाली जिल्ला मुस्ताङको जोमसोमका लागि समिट र तारा एयरले गर्दै आएको दैनिक उडान पनि रद्द भएका छन। जोमसोममा अहिले तारा र समिटले दिनमा ६ देखि १० वटासम्म उडान भर्दै आएका थिए। जोमसोममा बिहानपख मात्र उडान हुन्छ।

‘भिजिविलिटी नै पुग्दैन। त्यसैले दुईदिनदेखि कुनै पनि उडान हुन सकेको छैन,’ सुवेदीले भने, ‘विमानस्थल नै खुल्न सकेको छैन। दुईदिनकै सबैतिरका उडान रद्द भएका छन।’ दुईदिनमा कम्तिमा ७० (एकतर्फी) उडान रद्द भएको सुवेदीले बताए। उनका अनुसार उडान अवरुद्ध हुँदा दसैंमा टीका थाप्न जाने यात्रु मर्कामा परेका छन। लगातारको वर्षाले स्थलमार्ग पनि अवरुद्ध भएको र हवाई मार्ग पनि संचालन नहुँदा यात्रुलाई सकस भएको छ।

दसैं अघि काठमाडौंबाट पोखरा आउने यात्रु चाप रहेकोमा विहीबारदेखि पोखराबाट काठमाडौं जाने यात्रुको चाप बढ्छ। यो बेला दसैंको बिदा रहिरहेकोले घुमघामका लागि निस्कने आन्तरिक पाहुना पनि पोखरा आउने गरेकोमा वर्षाले आउजाउ नै अवरुद्ध पारेको उनले बताए। ‘शुक्रबार पनि वर्षा हुने भनिएको छ। त्यही भएर विमानस्थल खुल्ने नै यकिन छैन,’ उनले भने।

उनका अनुसार पोखरा विमानस्थलमा हवाई उडान र अवतरण हुन कम्तिमा ५ हजारमिटर भिजिविलिटी चाहिन्छ। तर, वर्षा र कुहिरोले गर्दा पोखराको भिजिविलिटी २ हजार मिटर मात्र रहेको सुवेदीले बताए। पोखरामा यो बेला बेलुकी साढे ५ बजेसम्म मात्र हवाई उडान संचालन हुन्छ।

पोखरामा भिजुअल फ्लाईट रुल्स (भिएफआर) प्रविधिमा आधारित भएर मात्र उडान हुन्छ। भिएफआरमा पाँचकिलोमिटर दुरीको ग्राउन्ड भिजिविलिटी हुनुपर्छ। तर वर्षा र कुहिरोले पोखरा विमानस्थलको भिजिविलिटी घटेको सुवेदी बताउँछन्। हवाई उडड्यन क्षेत्रका पदाधिकारीका अनुसार विमानस्थलमा सामान्यतया दुई नियम अनुसार उडान र अवतरण संचालन हुन्छ। एउटा भिजुअल फ्लाइट रुल (भीएफआर) र अर्को इन्स्ट्रयुमेन्ट फ्लाइट रुल (आइएफआर) हुन्छ।

सामान्य अवस्थामा भीएफआरबाट उडान–अवतरण गरिन्छ। यस नियम अनुसार भिजिबिलिटी पाँचकिलोमिटर आवश्यक पर्छ। यो नियमअनुसार जहाजको उडान–अवतरण छिटो हुन्छ। किनकि यसमा जहाजको ककपिटमा बसेका पाइलटले आफैले हेरेर कन्ट्रोल टावरसँगको समन्वयमा जहाज उडान–अवतरण गराउन सक्छन।  

तर, मौसम बिग्रदाँ, तुवाँलो लाग्दा भीएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआरबाट उडान गर्छन। यसका लागि काठमाडौंमा २ किलोमिटर भिजिविलिटी आवश्यक पर्छ। आइएफआरमा ढिला उडान हुने पदाधिकारी बताउँछन्। प्रविधिमा आधारित रहेर उडान गर्ने भएकोले आइएफआर नियमअनुसार उडान–अवतरण गर्न २ हजारदेखि २५ सय मिटरसम्म भिजिबिलिटी चाहिन्छ। तर, पोखरामा भने भिएफआरबाट मात्र उडान र अवतरण हुने हुँदा भिजिविलिटी घट्दा यहाँबाट हुने हुने हवाईसेवा पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ।

प्रकाशित: २० आश्विन २०७९ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App