८ वैशाख २०८१ शनिबार
अर्थ

गत आवमा ६०० प्रतिशतले बढ्यो विद्युतीय सवारी साधनको आयात

सरकारले गत आर्थिक वर्षमा विद्युतीय सवारी साधनको अन्तःशुल्क र भन्सार महसुल घटाएसँगै विद्युतीय सवारी साधनको आयात ६ सय प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ मा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारी साधनमा अत्यधिक मात्रामा कर लगाएपछि विद्युतीय सवारी साधनको आयात निकै कम भएको थियो।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चार पाङ्ग्रे विद्युतीय सवारी साधन १८ सय ७ वटा आयात भएका छन्। आव २०७७/७८ मा भने २४९ वटा मात्रै आयात भएका थिए।  गत आवको बजेटमा विद्युतीय सवारी साधनको आयातमा लाग्ने कर घटाइएसँगै झण्डै ६ गुणा बढी विद्युतीय सवारी साधन भित्रिएका हुन्।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा २ अर्ब ६६ करोड रूपैयाँको एक सय किलोवाट क्षमताका विद्युतीय कार, जीप र भ्यान ९ सय ९६ वटा भित्रिएका छन्। सो अवधिमा ३ करोड ६७ लाख रूपैयाँ बराबरको १५० किलोवाट क्षमताको १३ वटा विद्युतीय सवारी साधन आयात भएका थिए। यसैगरी दुई अर्ब ५६ करोड रूपैयाँको १०० देखि २ सय किलोवाट क्षमताका ७९२ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए।

भन्सार विभागका अनुसार २०० देखि ३०० किलोवाट क्षमताका ४ वटा विद्युतीय सवारी साधन आयात गर्दा २ करोड ४१ लाख रूपैयाँ खर्च भएको थियो। त्यस्तै गरी ३ सय किलोवाट क्षमताका दुई वटा विद्युतीय सवारी साधन आयात गर्दा २ करोड ५६ लाख रूपैयाँ खर्च भएको छ। आर्थिक वर्ष २०७७/८ मा १८ करोड ५५ लाख रूपैयाँ बराबरको एक सय किलोवाट क्षमताको विद्युतीय कार, जीप र भ्यान १२० वटा आयात गरिएको थियो।

त्यसैगरी ७ करोड ६४ लाख रूपैयाँको ५० देखि १०० किलोवाट क्षमताका कार, जीप र भ्यान २५ वटा आयात भएको थियो। १६ करोड ६४ लाख रूपैयाँ बराबरको एक सयदेखि १५० किलोवाट क्षमताका ५३ वटा विद्युतीय सवारीसाधन आयात भएको थियो। त्यसैगरी २२ करोड ९३ लाख रूपैयाँ बराबरको १५० देखि २ सय किलोवाट क्षमताका ५३ वटा विद्युतीय सवारीसाधन आयात भएको थियो।

सरकारले गत आर्थिक वर्षमा ६२ करोड १९ लाख रूपैयाँको ६ हजार ४ सय पाँच वटा तीन पाङ्ग्रे विद्युतीय सवारी साधन भित्र्याएको थियो। आर्थिक वर्ष २०७७/७८ मा १६ करोड ४९ लाख रूपैयाँको १९ सय ४३ वटा तीन पाङ्ग्रे विद्युतीय सवारी साधन आयात गरिएको थियो। अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत विद्युतीय सवारी साधनको आयातमा अन्तःशुल्क र भन्सार महसुल वृद्धि गरेका छन्।

सरकारले चालु आवको बजेटमा तीन सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको भन्सार महसुल ४० प्रतिशतबाट वृद्धि गरेर ६० प्रतिशत बनाएको छ। त्यसैगरी ३ सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको अन्तःशुल्क ४५ बाट बढाएर ६० प्रतिशत पुर्‍याएको छ। यी तीन सय किलोवाट क्षमताका विद्युतीय सवारी साधन अन्यन्तै न्यून संख्यामा मात्रै आयात हुँदै आइरहेका छन्।

सरकारले आर्थिक ऐन मार्फत एक सय किलोदेखि दुई सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको १५ प्रतिशत भन्सार महसुललाई वृद्धि गरेर ३० प्रतिशत पुर्‍याएको छ। आर्थिक ऐन मार्फत दुई सय किलोवाटदेखि तीन सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारी साधनको भन्सारदर ३० प्रतिशत रहेकोमा अहिले वृद्धि गरेर ४५ प्रतिशत कायम गरेको छ।

तीन सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको भन्सार महसुल ४० प्रतिशतबाट वृद्धि गरेर ६० प्रतिशत बनाएको छ। त्यस्तै एक सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनमा भने अन्तःशुल्क लगाइएको छैन। 

प्रकाशित: २७ श्रावण २०७९ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App