२०७२ को भूकम्पको बेला उद्धार र राहत पुर्याउने काममा पोखराको चालु विमानस्थल निकै नै उपयोगमा आएको थियो। अरुबेला नियमित हवाई सेवा दिईरहेको यो विमानस्थलले भूकम्पको बेलामा पनि राहत र उद्धारमा उत्तिकै साथ दियो। भूकम्पपीडितको सहयोगका लागि आएका भारतीय वायुसेनाका हेलिकप्टर कैयौं दिन यही विमानस्थलमा अड्याएर पोखरा र आसपासका जिल्लाका भूकम्पपीडितका लागि राहत सामाग्री बोकेर खटिएका थिए।
प्राकृतिक प्रकोपका बेला एउटा विमानस्थलले राहत र उद्धारमा कतिसम्म योगदान दिन्छ भन्ने यो उदाहरण नै काफि छ। केही गरि त्यो बेला यो विमानस्थलले साथ नदिदो हो त त्यो बेला ती भारतीय हेलिकप्टरको सेवा सहज नहुन पनि सक्थ्यो। एउटा विमानस्थलका कारण प्राकृतिक प्रकोपका बेला राहत र उद्धारमा खटिन कत्तिको सहज हुन्छ भन्ने पोखरेलीले त्यो बेलादेखि अनुभव गरेका छन्। त्यसैले पोखरेलीले भन्ने गरेका छन, ‘विमानस्थल वा विमानस्थल जस्ता खुला ठाउँ कुनैपनि बेलाका लागि आवश्यक पर्न सक्छ, अझ प्राकृतिक प्रकोपका बेला त झनै काम लाग्छ। यस्ता संरचना यथास्थितिमा राख्नुपर्छ। सहरको उकुसमुकुसबाट बाहिरिनका लागि पनि यस्ता खुला मैदान आवश्यक छ।’
पोखरामा बनेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी एकदेखि संचालन गर्ने लक्ष्य छ। हालको (चालु) विमानस्थलबाट करिब पाँचकिलोमिटरको दूरीमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। जनवरीदेखि संचालनमा आउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरु भएपछि चालु विमानस्थल कुन रुपमा उपमा उपयोग गर्ने भन्नेबारे अझैसम्म कतै स्पष्ट भईसकेको त छैन। तर, हाल चालु अवस्थामा रहेको विमानस्थल अन्तर्राष्ट्रियमा गाभिएपछि यहाँ कर्मचारी आवास तथा व्यापारिक कम्प्लेक्स बनाउने योजना सार्वजनिक भएपछि पोखरेली भने सशंकित भएका छन। पोखरेलीले कुनैपनि हालतमा यो विमानस्थललाई खुला मैदानको रुपमा राखिरहनुपर्ने बताईरहेका छन्।
‘भूकम्पका बेला राहत र उद्धारमा यो विमानस्थलले दिएको योगदान हामीले कहिल्यै बिर्सन सकिन्न,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘पोखरेलीका हितका लागि सोच्ने हो भने विमानस्थल खुला पार्कका रुपमा राख्नुपर्छ। भूकम्पका बेला विमानस्थल नहुँदो हो त उद्धार र राहतमा ढिलाई हुनसक्थ्यो।’
अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपनि चालु विमानस्थललाई यथास्थितिमा राख्दा अत्यावश्यक काममा उपयोग हुने उनले बताए। ‘केही गरि अर्काे विपद् आइहालेमा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गरेर यो विमानस्थललाई उद्धार र राहतका काममा उपयोग गर्नुपर्छ । भएभरका संरचनामा भवन बनाएर अर्थ राख्दैन,’ उनले भने।
आपतविपद् आइपर्दा अहिलेको विमानस्थललाई उपयोग हुनेगरि प्रयोग योग्य अवस्थामा राख्नुपर्ने उनले बताए। पोखरामा अहिले सबैतिर खुला मैदान छैन। बजार बाक्लिएको छ। सबैतिर अग्ला भवन बन्दा पोखरा साँघुरो बनिसकेको अवस्थामा विमानस्थल क्षेत्र खुला मैदानका रुपमा राख्नुपर्ने उनले बताए। ‘खुला मैदान र अत्यावश्यक काम पर्दा काम लाग्ने गरि विमानस्थल जोगाउनुपर्छ। पोखरेलीले शरण लिने ठाउँको रुपमा यो विमानस्थल उययोग हुनुपर्छ,’ उनले भने।
उनका विचारमा विमानस्थलको भवन संरचनामा सेमिनार हल बनाउन सकिन्छ, किनकी त्यहाँ पार्किङ क्षेत्र पनि पर्याप्त छ। त्यसबाहेक ट्याक्सी–वे र धावनमार्ग आपतविपद्मा जहाज अवतरण गराउन मिल्ने गरि तयारी हालतमा राख्नुपर्ने उनले बताए। घासे मैदानमा पार्क बनाउन सकिन्छ। ‘पोखराको यो विमानस्थल प्रति गलत नजर लगाउनु हुँदैन। महानगरले यसलाई पनि जोगाउन पहल गर्नुपर्छ,’उनले भने, ‘यो विमानस्थलप्रति गलत दृष्टि लगाउनु भनेको पोखरेली माथिको घात हो। कुनै पनि बहानामा अरु काममा लगाउन पाइदैन । त्यसका लागि आन्दोलन गर्न पनि तयार हुनुपर्छ।’
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि पोखराको यो विमानस्थलको उपयोग गलत काममा गर्न नसकिने बताउँछन। खुला ठाउँकै रुपमा यसलाई राखिने उनले बताए। स्वामित्व नागरिक उड्डयन प्राधिकरण (क्यान) मातहत रहेपनि यो क्षेत्रलाई खुला मैदानकै रुपमा राख्नुपर्ने उनले बताए। ‘अप्ठेरो पर्दा उपयोग हुने गरि यो विमानस्थल रहनेछ। यसलाई कुनै गलत काममा उपयोग गरिन्न। खुला ठाउँकै रुपमा विमानस्थल रहनेछ,’ मेयर आचार्यले भने, ‘कुनैपनि प्राकृतिक विपद् बाजा बजाएर नआउने भएकोले कुनैपनि बेला आवश्यक पर्ने भनेर यो विमानस्थल तयारी र चालु अवस्थामै राख्नुपर्छ।
मेयर आर्चायले विमानस्थलको धावनमार्ग र एप्रोनलाई कुनैपनि बेला जहाज अवतरण गराउन सकिनेगरि तयारी अवस्थामा राखिने जानकारी दिए। ‘धावनमार्ग भत्काउने होईन। इमर्जेन्सी ल्याण्डिङ गराउन परे यो विमानस्थल उपयोग गर्नुपर्छ,’ उनले भने, ‘ठुला विपद् आइपर्दा खुला आकाश चाहिन्छ। त्यो बेला उपयोग गर्नुपर्छ। यदी यो विमानस्थललाई गलत रुपमा उपयोग गरियो भने आगामि पुस्ताले हामीलाई निकम्मा ठान्नेछन।’
पोखराको भूगोल र वातावरणका बारेका जानकार प्राडा कृष्ण केसी विमानस्थलको खुला मैदानमा गिद्धे दृष्टिल गाउन नहुने बताउँछन। ‘पोखराको फोक्सोको रुपमा पनि यस्ता खुला मैदान उपयोग हुनुपर्छ। त्यसलाई गिद्धे नजर लगाउनु पूर्णतया गलत हो,’ केसीले भने। विमानस्थल आसपासका वडामा घना बस्ती भएकाले त्यहाँका बासिन्दालाई खुला चौरको आवश्यक छ। स्वस्थ सहर र वातावरणका दृष्टिले एकजना व्यक्तिका लागि नौ वर्गमिटर सार्वजनिक जग्गा आवश्यक पर्ने भनेर अनुसन्धानले देखाएको अवस्थामा यस्ता खुला ठाउँलाई बिगार्न नहुने उनले बताए।
‘विमानस्थल नजिकका वडा घनामा बस्ती छ। त्यहाँ सार्वजनिक जग्गा निकै नै कम छ। विमानस्थल नजिकै ठुलो बस्ती जोखिमपूर्ण अवस्थामा सेती किनारमा बसेको छ। भोलि कुनै आपत आइपरे उनै बासिन्दालाई त्यही विमानस्थलको खुला चौरमा राख्नुपर्छ भन्ने सोच्ने बेला भएको छ,’ केसीले भने, ‘कुनैपनि खालका उद्धारका लागि पनि यस्ता मैदान चाहिन्छन। अहिले बिगार्न हतार छैन।’ पोखरा क्षेत्रका खुला मैदानमध्ये अन्यत्रका चौर अर्कै काममा उपयोग भएकोले अब विमानस्थल जोगाउनुपर्ने उनले बताए।
‘धेरैतिरका खुला चौर विभिन्न गतिविधिका लागि उपयोग भएका छन। त्यसैले यो विमानस्थललाई बिगार्न जरुरी छैन। संरक्षित रुपमा राख्नुपर्छ,’ उनले भने, ‘पोखरा विमानस्थल बाहिर खुला देखियो भनेर जथाभावि बिगार्न पाइदैन।’ पोखरा महानगरले विमानस्थलको जग्गा कसरी उपयोग गर्ने भनेर पहिचान गर्नुपर्ने उनले बताए। ‘गलत रुपमा उपयोग हुनुहुन्न। यो ठाउँलाई संरक्षित रुपमा राख्नुपर्छ,’ उनले भने। पोखराको यो विमानस्थल विंस २०१४ देखि संचालनमा आएको हो। ११५६ रोपनी क्षेत्रफलको यो क्षेत्रमा ११ सय ४७ मिटर लामो र ४० मिटर चौडाइको धावनमार्ग रहेको छ।
प्रकाशित: २६ श्रावण २०७९ ११:४८ बिहीबार