१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

बिर्तामोडको पाँच वर्षे आवधिक योजना निर्माण

झापाको प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ। स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिधि आएसँगै नगरपालिकाले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेको हो।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, वनजंगल, पर्यटन, व्यापार–व्यवसायलगायत विविध पक्षलाई समेटेर पाँच वर्षे आवधिक योजना निर्माण गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईंले जानकारी दिइन्।

‘उद्योग, व्यापार, स्वास्थ्य, शिक्षा, कृषि र रोजगारको अभिवृद्धि: बिर्तामोड नगरको, विकास र सुशासनसहितको समृद्धि’ नारासहित नगरपालिकाको आगामी कार्ययोजना बनाएको हो। नगरपालिकाले स्वास्थ्यतर्फ चिकित्साशास्त्र अध्ययन गर्न मेडिकल कलेजको स्थापनाका लागि उपयुक्त वातावरण तयार गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, क्यान्सर, मिर्गौला, आँखा, स्पाइनलकर्ड इन्जुरी, ब्रेन, ग्यास्ट्रोजस्ता सेवा उपलब्ध भएका अस्पताल स्थापना गर्न प्रोत्साहित गर्ने, ज्येष्ठ तथा अपांग नागरिकका लागि नियमित रूपमा स्वास्थ्य परीक्षण तथा उपचारका लागि घरदैलो सेवा सञ्चालन गर्ने र सोका लागि विशेषज्ञ चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना बनाएको छ।

यस्तै, आर्थिक रूपमा पछाडि परेका समुदायमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने र बहुक्षेत्रीय पोषणको आवधारणालाई सबै नागरिकसँग आबद्ध गराई स्वास्थ्य समाज निर्माण गर्ने योजना बनाएको छ। त्यस्तै, पाँच वर्षभित्र शिक्षातर्फ ९० प्रतिशतभन्दा बढी नगरवासी उच्च शिक्षा हासिल गरेका हुने, माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क हुने, प्राविधिक शिक्षा स्नातकोत्तर तहसम्मको उपलब्ध भएको हुने, सबै बालबालिकाले आधारभूत माध्यमिक विद्यालय गएका हुने लक्ष्य निर्धारण गरेको छ।

त्यसैगरी, ८० प्रतिशत नगरवासी पाइपलाइनबाट तथा बाँकी नागरिकलाई ट्युबेल प्रयोग गरी आधारभूत तहको स्वच्छ तथा सफा खानेपानी सेवा उपलब्ध गराउने, कृषि क्षेत्रलाई उन्नत बनाउन मल, बिउ र प्रविधिसहित विकास गर्दै उत्पादन वृद्धि गर्दै लैजानुका साथै माछा, मासु, अन्डा र तरकारीमा आत्मनिर्भर बनाउने नगरको योजना छ।

पाँच वर्षभित्र सडकको स्तरोन्नति गर्दै युटिलिटी कोरिडरसहितको सडक निर्माण,नयाँ निर्माण हुने सडकमा ड्रेन युटिलिटी कोरिडोरसहित चौबाटोमा ट्राफिक लाइट, आकासे पुल, जमिनमुनिमा सब–वे निर्माण गर्ने र १२५ किलोमिटर सडक कालोपत्रे तथा पेवर्स लगाउने लक्ष्य छ।

त्यस्तै, तिनवटा झोलुंगे पुल र ४० वटा थप कल्भर्ट पुल निर्माण गर्ने, सबै घरमा विद्युत् सेवा पुर्‍याउने, सतह नालासहितको सहरी विकास गुरुयोजना निर्माण गर्ने, नगरपालिकाको नाममा रहेको बुधबारे बजारमा बहुतले पार्किङसहितको सुविधा सम्पन्न भवन निर्माण गर्नेलगायत महŒवाकांक्षी योजना नगरपालिकाले अघि सारेको छ।

यस्तै, औद्योगिक विकासका लागि बिर्तामोड–२ को गोकुल जोशी मार्ग दक्षिण भागलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्दै लैजाने, नयाँ उद्योग स्थापना सञ्चालनमा उपयुक्त कानुनी संरचना निर्माण गर्ने, औद्योगिक प्रदूषण न्यून गर्न लगाई वातावरणमैत्री बनाउने नगरको आगामी योजना रहेको नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले बताए।

नगरको पर्यटन प्रवद्र्धनका लागि विराटपोखर वडा नम्बर ३, हरियाली सामुदायिक वन वडा नम्बर ६, रामचोक सामुदायिक वन वडा नम्बर २, बाह्रदशी पोखरी वडा नम्बर २, सदु पोखरी, मधु पोखरी र तेलकानी पोखरी वडा नम्बर १० लाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै लगिने भएको छ। नगर क्षेत्रमा रहेका शक्तिपीठलाई धार्मिक, पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने नगरको योजना छ। 

प्रकाशित: ५ असार २०७९ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App