१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाली नयाँ वर्षमा पनि ‘सडक महोत्सव’

होटल संघको फेवा नववर्ष अबदेखि सडक महोत्सवमा बदलियो

होटल संघ पोखराले नेपाली नयाँ वर्षको अवसर पारेर यहाँ सडक महोत्सव गर्ने भएको छ। यसअघि ‘फेवा नववर्ष’ ब्राण्डमा महोत्सव गर्दै आएको संघले रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराकै शैलीमा सडक महोत्सव गर्ने तयारी गरेको हो। रेवान पोखराले हरेक अंग्रेजी नयाँ वर्षको सुरुवातमा ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ।

होटल संघ पोखराले पनि यसवर्ष नेपाली नयाँवर्षको अवसरमा यहि चैत ३० देखि बैशाख १ गतेसम्म सडक महोत्सव गर्ने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो। होटल संघले यसअघि कोमागाने पार्कमा महोत्सव आयोजना गर्ने गरेको थियो। तर यस वर्षदेखि रेवानकै शैलीमा लेकसाईडको तीनकिलोमिटर क्षेत्रमा सडक महोत्सव गर्ने तयारी गरेको छ।

‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ हुने महोत्सव कोभिड–१९का कारण थला परेको पर्यटन पुनरुत्थान गर्ने उद्देश्यले गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। उनका अनुसार महोत्सवको उद्घाटन दिन खहरेचोक र ड्यामसाइड गरेर दुई ठाउँबाट एकैपटक र्‍याली निस्केर लेकसाइडको मध्य क्षेत्र अम्बोटमा आएर उद्घाटन समारोहमा परिणत हुनेछ। महोत्सव उद्घाटनका लागि दुबै क्षेत्रबाट आमा समूह, क्लवलगायतका सहभागितामा झाँकीसहितको र्‍याली निस्किनेछ।

महोत्सवका मुख्य आकर्षणका रुपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, ख्याती प्राप्त कलाकार तथा स्थानिय कलाकारको प्रस्तुती, लोकदोहोरी, हास्यव्यंग्य, नृत्य, लाइभ कन्सर्ट लगायत रहने आयोजकले बताएको छ। लेकसाइडको तीनकिलोमिटर क्षेत्रमा रहेका होटलहरुले होटल बाहिर सडकमै स्टल राख्नेछन। ती स्टलमा दर्शकले अवलोकन गर्नुका साथै आफुले चाहेअनुसारको स्वाद लिन पाउनेछन्।

महोत्सव हुने दुईदिन अम्बोट र सेन्टर प्वाइन्ट चोकमा दुईवटा ठूला स्टेज बनाइने पनि उनले बताए। जहाँ हरेक दिन दिउँसो लोकदोहोरी, हास्यव्यंग्य, नृत्य र लाइभ पपकन्सर्ट आयोजना हुनेछन्। यसअघि एउटा मात्रै स्टेजमा हुने गरेको कार्यक्रम यसवर्ष दुई स्टेजमा हुने अध्यक्ष सुबेदीले बताए। त्यस्तै, महोत्सव हुने तीनकिलोमिटर क्षेत्रमा पर्ने ६ वटा चौतारीमा पञ्चेबाजा, रत्यौली, भजन, चुड्का लगायतका कार्यक्रम हुने उनले बताए।  

महोत्सवको अवसरमा होटल संघले मातहतका होटलमा ३० प्रतिशत छुट दिने घोषणा गरेको छ। संघका अध्यक्ष सुबेदीले संघमा आबद्ध होटलहरुले छुट दिने ब्यबस्था मिलाइएको बताए। त्यस्तै, रेष्टुरेण्ट तथा बारले पनि अहिलेको भन्दा शुल्क नबढाउने प्रतिबद्धता जनाएको उनले जानकारी दिए।

संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले कोभिडबाट थलिएको पर्यटन पुनरुत्थान गर्न महोत्सव सहयोगी हुने बताए। संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले पर्यटनमा कोभिडको असर परेपनि पछिल्लो क्रममा पर्यटन पूर्वाधार थपिएकाले पर्यटकको बसाई लम्बिने स्थिति बनेको बताए। त्यसमा महोत्सवले पर्यटक आगमनमा बृद्धि ल्याउने उनको भनाई छ। होटल संघले यस वर्ष महोत्सवमा टिकट काट्नुपर्ने बाध्यता हटाएको छ। कोभिडका कारण सबै क्षेत्रमा असर परेकाले सहजै प्रवेश पाउने व्यवस्थाका लागि आफूहरुले प्रवेश निःशुल्क गरेको संघका अध्यक्ष सुबेदीले बताए।

प्रकाशित: २२ चैत्र २०७८ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App