२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

विद्युतीय सवारी प्रवर्द्धन गर्दै सरकार

साझा यातायातले चिनियाँ कम्पनीसँग खरिद गरेका तीन वटा विद्युतीय बस एक महिनाभित्रै काठमाडौं भित्रिने भएका छन्। साझा यातायातले चीनको सिएचटिसी किनविन अटोमोवाइल कम्पनी लिमिटेडसँग ४० वटा विद्युतीय बस र यसलाई आवश्यक पर्ने चार्जरहरू खरिद गरी ५ वर्षसम्मको मर्मतसम्भार समेत गर्ने सम्झौता गरेको थियो।

साझा यातायातका सञ्चालक समितिका सदस्य भुषण तुलाधारले साझाले चिनियाँ कम्पनीसँग खरिद गरेका तीन वटा विद्युतीय बस एक महिनाभित्रै आउने बताएका छन्। पहिलो चरणमा तीनवटा विद्युतीय बस परीक्षणको लागि ल्याइँदैछ’, उनले भने– ‘चिनियाँ कम्पनीले निर्माण गरेको बस यहाँको सडक अनुसार गुड्न सक्छ कि सक्दैन भनेर पनि परीक्षण गर्न लागिएको हो।

केही सुधार गर्न परेको खण्डमा सोही अनुसार सवारीसाधनको स्वरूप तथा डिजाइन समेत परिर्वतन गर्न सकिएला।’ सञ्चालक समितिका सदस्य तुलाधारले बाँकी रहेका ३७ वटा विद्युतीय बस करिब ४ देखि ५ महिनाभित्रै आइपुग्ने बताए। बाँकी ३७ वटा भने तीन–चार महिनाभित्रै आइपुग्छन् होला’, उनले भने– ‘अर्काे साना खालका ४ वटा विद्युतीय बस भने दुई तीन महिना भित्र आउला जस्तो छ।’ साझा यातायातका तर्फबाट बन्दना थापा र सिएचटिसीको नेपाल प्रतिनिधि एनईभी नेपाल प्रालिका प्रबन्ध निर्देशक राजन रायमाझीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार साझाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरको लागि ३७ लाख ३८ हजार ५५० मिलियन अमेरिकी डलरमा खरिद गर्न लागेको हो। त्यसैगरी साझाले आवश्यक तालिम र पाँच वर्ष अवधिसम्मको मर्मतसम्भार र स्पेयरपार्टको लागि ६ करोड ७३ लाख ६५ हजार ५ सय ५३ रूपैयाँ उपलब्ध गराउने छ। साझा यातायातले २०७७ चैत १३ गते आह्वान गरेको अन्तर्राष्ट्रिय स्तरको बोलपत्रमा ९ वटा कम्पनीले प्रतिस्पर्धा गरेका थिए। बोलपत्रमा सहभागिमध्ये सबैभन्दा कम रकम कबोल गर्ने सिएचटिसीले ठेक्का पाएको थियो। सिएचटिसीले सुरुमा तीन वटा र बाँकी चार महिनाभित्र ल्याउने योजना रहेको छ।

साझा यातायातका अनुसार २६ सिट क्षमताका विद्युतीय बसहरूले एक पल्ट चार्ज गरेपछि ४२ भन्दा धेरै यात्रु लिएर दुई सय किलोमिटरको दूरीसम्म गुड्न सक्नेछन्। नयाँ विद्युतीय बसहरू आउँदाआउँदै साझा यातायातले यीभन्दा ठूला विद्युतीय बसहरू पनि सञ्चालन गर्न आवश्यक अनुसन्धान सुरु गरिसकेको जनाएको छ। ललितपुर महानगरपालिकासँगको सहकार्यमा थप चार वटा विद्युतीय बसहरू खरिद गर्ने प्रक्रिया समेत अगाडि बढाएको साझाले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०७८ ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App