२५ श्रावण २०७९ बुधबार
अर्थ

व्यापार घाटा मासिक डेढ खर्ब

विदेशी मुद्रा सञ्चितिमा गिरावट आएर नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि व्यापार घाटा मासिक करिब डेढ खर्ब रूपैयाँ पुगेकोे छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमा समेत विदेशको भर पर्दा बर्सेनि व्यापार घाटा बढ्दै गएको हो। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव २०७८/७९ को फागुन मसान्तसम्म (आठ महिनामा) मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ। यसरी हेर्दा मासिक १ खर्ब ४५ अर्ब रूपैयाँको व्यापार घाटा देखिन्छ।

पोहोरको तुलनामा यो वर्ष व्यापार घाटा ३४.५ प्रतिशतले बढी हो। पोहोर सोही अवधिमा व्यापार घाटा ८ खर्ब ६३ अर्ब रूपैयाँ थियो। गत वर्ष १२ महिनाको अवधिमा व्यापार घाटा १३ खर्ब ९८ अर्ब रूपैयाँ रहेकोमा यो वर्षको आठ महिनामै साढे ११ खर्ब बढी पुगेको हो।

आठ महिनाको अवधिमा १३ खर्ब ८ अर्ब रूपैयाँको वस्तु विदेशबाट आयात भएको छ। पोहोरको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३८.६८ प्रतिशतले आयात बढेको छ। अघिल्ला महिनाहरूको तुलनामा आयात वृद्धिदरमा केही कमी आए पनि समग्रमा घाटा त्यति कम आएको थिएन। माघसम्म आयात ४२.७८ प्रतिशत थियो। पोहोर सोही अवधिमा ९ खर्ब ४३ अर्ब ९८ करोड रूपैयाँको वस्तु आयात भएको थियो। चालु आवको फागुनसम्म कुल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब रूपैयाँ पुगेको छ। यो पोहोरभन्दा ४२.१३ प्रतिशतले बढी हो।

निर्यात व्यापारमा उल्लेख्य सुधार भए पनि सानो हिस्सा भएकाले यसले त्यति ठुलो प्रभाव पार्न सकेको छैन। पोहोरको तुलनामा फागुनसम्मको निर्यात व्यापार ८२.९० प्रतिशतले बढेको छ। फागुनसम्म १ खर्ब ४७ अर्ब रूपैयाँको वस्तु निर्यात भएको छ। पोहोर सोही अवधिमा ८० अर्ब ७७ करोड रूपैयाँको वस्तु निर्यात भएको थियो। निर्यातको ठूलो हिस्सामा पाम तेल, सोयाबिन तेल, भटमास तेल रहेको छ। यी वस्तुको कच्चा पदार्थ विदेशबाट आयात गरेर फेरि भारत निर्यात हुन्छ। फागुनसम्म ८४ अर्ब रूपैयाँको तेल भारत निर्यात भएको छ। यो कुल निर्यातको ५७ प्रतिशत हो। कच्चा पदार्थ विदेशबाट आयात भएकाले यसमा धेरै भ्यालु एड हुँदैन।

मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब रूपैयाँ पुग्यो
आठ महिनामा १३ खर्ब आठ अर्ब रूपैयाँको वस्तु आयात
आयात ३८.६८ प्रतिशतले वृद्धि
विदेशी विनिमय सञ्चिति ६.७ महिनाको
वस्तु तथा सेवा आयात धान्न सक्ने मात्र
रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशतले घट्यो
निर्यात व्यापार ८२.९० प्रतिशतले वृद्धि   

नेपालको सबैभन्दा ठुलो व्यापार घाटा भारतसँग छ। आठ महिनाको अवधिमा भारतसँगको व्यापार घाटा ६ खर्ब ७८ अर्ब रूपैयाँ पुगेको छ। यो अवधिमा भारतबाट ७ खर्ब ९७ अर्ब रूपैयाँको वस्तु आयात भएको छ भने १ खर्ब १८ अर्ब रूपैयाँको मात्र वस्तु निर्यात भएको छ।

रेमिट्यान्स आगमनमा कमी र बढ्दो वैदेशिक व्यापार घाटाले विदेशी विनिमय सञ्चिति घटेको छ। शोधनान्तर घाटा बढेको छ। अर्थतन्त्रका बाह्य सूचक सकारात्मक छैनन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा परेको बताउँछन्। आफूले उद्योग क्षेत्रमा काम गरेको ३५ वर्षको अनुभवमा पहिलोपटक निजी क्षेत्रको मनोबल उच्च रूपमा खस्केको उनको दाबी छ। ‘म ३५ वर्ष भयो उद्योग वाणिज्य क्षेत्रमा लागेको तर अहिलेसम्म यस्तो समय देखेको थिइनँ,’ गोल्छाले भने, ‘निजी क्षेत्रको मनोबल खस्केको अवस्था छ।’

व्यापार घाटा वृद्धि, विदेशबाट रेमिट्यान्स आगमनमा कमी, विदेशी मुद्रा सञ्चितिमा गिरावट हुँदा अर्थतन्त्र समस्यामा परेको हो। पोहोरको माघ मसान्तसम्मको भन्दा अहिले रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशतले घटेको छ। गत वर्ष रेमिट्यान्स सोही अवधिमा १०.९ प्रतिशतले बढेको थियो। माघसम्म रेमिट्यान्स ५ खर्ब ४० अर्ब रूपैयाँ भित्रिएको छ। यो गत वर्षभन्दा २७ अर्ब रूपैयाँले कम हो। आयात बढेपछि विदेशी विनिमय सञ्चिति पनि घट्दै गएको छ। असार मसान्तसम्म १३ सय ९९ अर्ब ३ करोड रूपैयाँ बराबरको कुल विदेशी विनिमय सञ्चिति रहेकोमा सात महिनामा १६.२ प्रतिशतले घटेर माघ मसान्तसम्म ११ सय ७३ अर्ब २ करोड रूपैयाँमा झरेको छ। विदेशबाट सामान आयात गर्न विदेशी मुद्रा (डलर) आवश्यक पर्छ। डलर भएन भने सामान आयात गर्न सकिँदैन।  

डलर घट्दै गएपछि नेपाल राष्ट्र बैंकले वस्तु आयातमा कडाइ गरिरहेको छ। चालु आवको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात मात्र धान्न सक्ने रहेको छ। वस्तु आयात गर्न आवश्यक विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले आयात निरुत्साहित गर्दै आएको छ। कोभिडपछि वैदेशिक रोजगारीमा आएको गिरावटसँगै रेमिट्यान्स आप्रवाहमा कमी र वस्तु आयात वृद्धि भएपछि नेपाल राष्ट्र बैंकले एकपछि अर्को वस्तुको आयातमा कडाइ गर्दै आएको हो। ४७ वस्तुको आयातमा कडाइ गरेको नेपाल राष्ट्र बैंकले फेरि सुन आयातको कोटा आधा कटौती गरेको छ। राष्ट्र बैंकले विलासी वस्तुको आयातमा कडाइ गर्दै जाने नीति लिएको छ। विदेशबाट सामान आयात गर्दा डलर देशबाट बाहिरिन्छ। यसलाई रेमिट्यान्स र निर्यातले धान्न नसकेपछि विदेशी मुद्रा सञ्चिति घट्दै गएको हो।

नेपालबाट निर्यातको हिस्सा निकै सानो भएको, विदेशी मुद्रा आर्जनको माध्यम पर्यटन क्षेत्रमा कोभिडले असर परेको र रेमिट्यान्स आगमनमा पनि गिरावट आएकाले विदेशी मुद्रामा चाप परेको हो।

आयातको हिस्सा ठुलो र निर्यातको हिस्सा निकै सानो भएकाले विदेशी मुद्राको चाप परेर वस्तु आयात गर्न विदेशी विनिमय सञ्चिति घटे पनि राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो। कोभिडपछि विदेशी मुद्रा सञ्चिति घटेर लगातार ओरालो लागेपछि अर्थतन्त्रमा समस्या देखिएको छ। यसकारण राष्ट्र बैंकले केही वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन र केहीमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ। चकलेट, चुइगम, इनर्जी ड्रिंक, चुरोट, अत्तर, शृंगारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचरजस्ता वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरिएको हो।

प्रकाशित: ८ चैत्र २०७८ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App