३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

रुस–युक्रेन युद्धको बाछिटाः साहसिक पर्यटन प्रभावित हुने

पर्यटन क्षेत्रले फेरि अवसर गुमाउनुपर्ने अवस्था आयोः व्यवसायी

मर्दी हिमाल पदयात्रामा रहेका विदेशी पर्यटक। फाइल तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र अझै उठ्न सकेको छैन। संक्रमणको तेश्रो लहरले थला परेको पर्यटन क्षेत्रले संक्रमण कम भईसक्दा पनि गति लिन पाएको छैन। कोरोना संक्रमण सुरु भएपछि आन्तरिक पाहुनाको भरमा थामिएको पर्यटन क्षेत्रले विदेशी पाहुना भिœयाउन नसकेको झन्डै दुईवर्ष हुन थाल्यो। आसैआसमा पर्यटन क्षेत्रले झन्डै दुइवर्षको अवधि गुजारिसकेको छ।  

संक्रमण कमजोर भएपछि विदेशी पाहुना आउने आशमा यहाँका पर्यटन व्यवसायी थिए। संक्रमण कमजोर हुँदै जाँदा आगामि सिजनमा विदेशी पाहुना आउनेमा व्यवसायी आशावादी भएपनि युरोपेली मुलुक युक्रेनमा रुसले सैन्य कारवाही सुरु गरेपछि त्यसको मार पर्यटन क्षेत्रमा पर्ने व्यवसायीको भनाई छ। रुस–युक्रेनको तनावको बाछिटा नेपालको पर्यटन क्षेत्रमा समेत पर्ने व्यवसायीले बताएका छन्। आगामि सिजनमा ती मुलुक सहित त्यस क्षेत्रबाट आउने पर्यटनमा प्रभाव पर्ने व्यसायीको भनाई छ।  

व्यवसायीका अनुसार ती मुलुकका पर्यटकहरु नेपालको साहसिक गतिविधिमा रमाउन आउँछन्। अध्यागमन विभागको तथ्यांक अनुसार कोरोना महामारीबीच पनि २०२१ मा रुसबाट २१०७ जना पाहुना नेपाल भित्रिएका छन्। ती मध्ये ११ सय ४१ पुरुष र ९ सय ६६ महिला छन्। त्यस्तै त्यहीवर्ष युक्रेनबाट आएका पर्यटकको संख्या ९ सय ९७ छ। ती मध्ये ५०७ पुरुष र ४९० जना महिला छन्।

२०२० मा रुसबाट आउनेको संख्या ८५३ पुरुष र ८६० महिला सहित १७ सय १६ जना रहेका छन्। त्यही वर्ष युक्रेनबाट २१२ पुरुष र २६७ महिला सहित ४७९ जना नागरिक नेपाल घुम्न आएका थिए। २०२२ को जनवरीमा रुसबाट नेपाल आएका पर्यटकको संख्या १२१ र युक्रेनबाट ४१ जना आएका छन्। त्यत्तिमात्र नभई पर्वतारोहणका लागि मात्र तोकिएर २०१८ मा रुसबाट ५१ र युक्रेनबाट १८ जना विदेशी आएका छन्। २०१९ मा पर्वतारोहणका लागि रुसबाट ५० र युक्रेनबाट २० जना आएका थिए।  

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)का गण्डकी अध्यक्ष सुशील पौडेलले रुस र युक्रेनबीचको द्वन्द्वले पर्वतीय पर्यटनमा असर पर्ने बताउँछन्। द्वन्द्वमा होमिएका मुलुकबाहेक ती मुलुकको आकाश हुँदै यात्रा गर्ने पर्यटनमा पनि यसको प्रभाव पर्ने पौडेल बताउँछन। ‘युक्रेन र रुसबाट आउने पर्यटक त स्वतः घट्नै नै भए, त्यसमा दुइमत रहेन। किनकी द्वन्द्वग्रस्त मुलुकका पर्यटक घुमघाममा निस्कने कुरै हुँदैन,’ उनले भने, ‘ती मुलुकको द्वन्द्वको प्रभाव त्यस क्षेत्रका पर्यटकको आउजाउमा पनि पर्छ। ती मुलुकको आकाश प्रयोग गरेर आउने अरु मुलुकका पर्यटक घटनेछन्।’ 

दुई मुलुकबीचको युद्धले समग्र युरोपेली र अमेरिकन पर्यटक पनि प्रभावित हुने उनले बताए। ‘युक्रेन र रुसको आकाशमा उडान रोक्दा पर्यटकको आउजाउ प्रभावित हुने उनले बताए। ‘हवाई रुटले गर्दा समस्या पर्ने पक्का छ। युद्धग्रस्त क्षेत्रको आकाश पार गरेर आउने सम्भावना रहन्न। साहसिक पर्यटन अझै एकवर्ष पछाडि धकेलिने पक्का छ,’ उनले भने, ‘यूरोपियनलाई बढी अप्ठ्यारो पर्छ। अमेरिकन पनि प्रभावित हुन सक्छन।’

अहिले नेपालमा मुख्य पर्यटकीय सिजन चलिरहेको छ। नेपालको पर्यटन क्षेत्रमा फेब्रुुअरी–अप्रिल र सेप्टेम्बर–नोभेम्बर गरि ६ महिना मुख्य सिजन मानिन्छ। कोरोना संक्रमण कम भएपछि यतिबेला युरोपियन मुलुकका पर्यटकको सोधखोज सुरु भईरहँदा आगमन नै प्रभावित हुनेगरि द्वन्द्व निम्तिएको उनले बताए। उनका अनुसार रसियन र युक्रेनका पर्यटक साहसिक गतिविधिमा रमाउँछन। पदयात्रामा जाने, हिमाल आरोहणमा ती मुलुकका पर्यटकको रुची हुन्छ। उनीहरुको बसाई अवधि पनि बढि हुन्छ। व्यवसायीका अनुसार ती मुलुकका पर्यटक खर्चिला पनि हुन्छन।

‘रसीयन पर्यटक समुहमा आउँछन्। १५–२० जनाको समुहमा आउँछन्। उनीहरु समुहमै पदयात्रामा जान्छन, पुरै समुहले लामो अवधि साहसिक गतिविधिमा बिताउँछन। धेरैजसो पदयात्रा र पर्वतारोहण क्षेत्रमा रमाउँछन्,’ पौडेलले भने। कोरोना भाइरसको संक्रमण सकिनै लागेको बेला विश्वभरमा यात्रा खुल्नै लाग्दा यो युद्धले पर्वतारोहण क्षेत्रलाई असर पार्ने उनले बताए।  

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पनि रुस र युक्रेनबीचको द्वन्द्वको प्रभाव पर्यटन क्षेत्रमा पर्ने पक्का भएको बताउँछन्। कोरोना संक्रमण कम भएपछि विदेशीको आगमनको माहोल बन्नै थालेकोमा फेरि युद्धका कारण अप्ठेरोमा पर्ने अवस्था आएको उनले बताए। उनका अनुसार २०१९ मा नेपालमा रुसबाट करिब १० हजार पाहुना आएका थिए। त्यसभन्दा अघिल्ला वर्षमा पनि करिब ६ हजार रुसी पर्यटक नेपाल आउने गरेका थिए। 

‘नेपालले रसियन मार्केट गुमाउने अवस्था आएको छ । द्वन्द्वका कारण युक्रेन र रसीयाका पाहुनाको यात्रा नै धरापमा पर्ने पक्का छ,’ लामिछानेले भने, ‘नेपाल सरकारले पनि युक्रेनमाथिको आक्रमणको विरोध गरेकोले रसियन पाहुनाका लागि नेपाल तत्काल प्राथमिकतामा नपर्न सक्छ।’

त्यसबाहेक एयरस्पेस बन्द भएपछि युरोप रुटका पर्यटकको आउजाउ प्रभावित हुने उनले बताए। ‘द्वन्द्वका कारण ती मुलुकको अर्थतन्त्र पनि धरापमा पर्नेछ। अर्थतन्त्र नै धरापमा पर्ने भएपछि पर्यटकीय गतिविधि रोकिन्छन,’ लामिछानले भने, ‘आफ्नो घरमा डिस्टर्ब भएपछि कोही पनि घुम्न निस्कदैन।’ उनका अनुसार यो द्वन्द्वको बाछिटाका कारण युरोपियनले तत्काल यात्रा योजना नबनाउन सक्छन। ‘रुसको आकाश प्रयोग गर्ने भएकोले बढि प्रभावित हुन्छन। अमेरिकन पनि यो समस्या समाधान नभएसम्म यात्रामा ननिस्कन सक्छन,’ उनले भने। उनका अनुसार अहिलेको समस्या कारण पर्यटन क्षेत्रको बुकिङ धमाधम रद्द हुन थालेको छ। ‘धेरै विदेशी नेपाल आउन चाहेका थिए। कोरोना संक्रमण कमजोर पनि भएको हो। अब रुस र युक्रेनबीचको द्वन्द्व मत्थर नभएसम्म पर्यटकको यात्रा होल्ड वा रद्द हुन सक्छ,’ उनले भने।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा पनि रुस र युक्रेनबीचको द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्रले फेरि अवसर गुमाउनुपर्ने अवस्था आएको बताउँछन। उनका अनुसार मार्च अप्रिलको पदयात्रा पर्वतोरोहण प्रभावित हुने पक्का छ। ‘युरोपको आकाश नै प्रभावित भएको छ। युरोपियन मुलुकका पर्यटक हिडडुल गर्नबाट रोकिन सक्छन,’ उनले भने, ‘त्यसको मार नेपालको पर्यटन क्षेत्रमा परिहाल्छ।’ उनका अनुसार रुस र युक्रेनका पर्यटक एडभेन्चरमा रुचाउँछन। ती मुलुकका पर्यटक एभरेस्ट, अन्नपूर्ण बेसक्याम्पस लगायतका क्षेत्रमा जान्छन। ‘ती मुलुकका पर्यटक हाईएडभेन्चर रुचाउँछन,’ उनले भने, ‘पिक र हिमाल आरोहण नै प्रभावित हुने पक्का भएको छ।’ यो मुद्धाले अमेरिकनको हिडडुल पनि नहुन सक्ने सापकोटाले बताए।  

प्रकाशित: १७ फाल्गुन २०७८ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App