८ वैशाख २०८१ शनिबार
अर्थ

पोखरा सडक महोत्सवमा पाहुनाः तीनकिलोमिटर दूरी भरिभराउ

शनिबार बिहान चारबजेसम्म सडक खचाखच

शुक्रबार मध्यरातमा पोखरा लेकसाइडमा पाहुनाका भीड। तस्बिरः उमेश पुन÷नागरिक

कोरोना संक्रमण सुरु भएको दुई पुगेर तीवर्ष लाग्यो। यो बीचमा पर्यटन क्षेत्रले कहिले सुस्ताउने त कहिले ब्यूँतने प्रयत्न ग¥यो। संक्रमण सुरु भएपछिको दुईवर्ष पुरा अवधिमा पर्यटन क्षेत्रले जे जति सकस खेप्यो, त्यो सकस बिर्साउने गरि शुक्रबार पोखरामा पाहुनाको मानवसागर ओर्लियो। कोरोना संक्रमण सुरु भएपछिको यो अवधिमा अहिलेसम्मकै धेरै पाहुना पोखरा आएको व्यवसायीको अनुमान छ।  

व्यवसायीको भनाईलाई पुष्टि गर्ने अर्को आधार के भने शुक्रबार रातभर यहाँ पाहुना खचाखच थिए। यतिसम्मकी शनिबार बिहान चारबजेसम्म पनि पर्यटकीय क्षेत्र लेकसाइडमा पाहुना थेगिसक्नु थिएन। खुला सडकमा पाहुनाको भीडभाड थियो। पर्यटन व्यावसायीका अनुसार पोखरामा भित्रिएका अधिकांश पाहुना आन्तरिक हुन, त्यसमा भारतीय पनि मिसिँदा शुक्रबार रातभर पर्यटकीय क्षेत्र लेकसाइड गुञ्जायमान बन्यो, पाहुनाको भीडभाडले मुल सडक खचाखच भरियो। काखे बालबच्चा, युवायुवतीदेखि वृद्धवृद्धासम्म लेकसाइडको त्यो भीडमा देखिन्थे।  

पोखरामा विहीबारदेखि पोखरा सडक महोत्सवको २३ औं संस्करण सुरु भएको थियो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले हरेक वर्ष अंग्रेजी नयाँवर्ष स्वागत र पुरानोवर्ष बिदाइ अवसर पारेर लेकसाइडमा सडक महोत्सव आयोजना गर्छ। एकैसमय र अवधिका लागि हुँदै आएको यो महोत्सव कोरोना संक्रमणका कारण पोहोरदेखि पाँचदिनबाट खुम्चिएर तीनदिनमा झरेको छ। महोत्सव अवधिमध्ये सबैभन्दा बढी नयाँवर्ष स्वागत र पुरानो वर्ष बिदाईको रात यहाँ अधिक भीड लाग्छ।  

यो पटक शुक्रबार बेलुकी ‘न्यू इयर इभ’मा लेकसाइडमा पाइला राख्ने ठाउँ थिएन। महोत्सव सुरु भएदेखि यहाँ पाहुनाको भीड बढ्नेमा ‘इभ’का राती यहाँ अधिक भीड लाग्छ। शुक्रबारको त्यही भीड शनिबार बिहानसम्म पनि देखिन्थ्यो। शुक्रबार बेलुकी पाँचबजेपछि बढ्न थालेको भीड शनिबार बिहानको झिस्मिसेसम्म पनि देखिन्थ्यो।

कोरोना संक्रमण केही कमजोर भएको यो बेलामा यतिधेरै पाहुना आउँदा व्यवसायी नै दंग छन। अपेक्षा गरेभन्दा धेरै पाहुना पोखरा भित्रिएको व्यवसायीको भनाई छ। ‘यतिधेरै पाहुना आउँदा हामी नै दंग प¥यौ। शनिबार बिहान चारबजेसम्म लेकसाइड पुरै खचाखच थियो, त्यो भीड बढ्न शुक्रबार बेलुकीबाट सुरु भएको थियो,’ रेबानका अध्यक्ष लक्ष्मण बराल भन्छन, ‘मान्छे रातभर सुतेनन, लेकसाइडमा सबैतिर भीड रह्यो। तीनकिलोमिटर दूरीमा सडक महोत्सव भएकोमा सबैखण्डमा उत्तिकै भीडभाड रह्यो।’

अध्यक्ष बरालले कोेरोना संक्रमण सुरु भएपछिको सबैभन्दा बढी खचाखच भएको दिन शुक्रबार भएको बताए। ‘कोरोना संक्रमण नै भुलेको आभास भयो। यतिसाह्ै पाहुना आउनेमा हामी आशावादी थिएनौ, उनले भने, ‘सोचेभन्दा बढी पाहुना आए।’ उनका अनुसार शुक्रबार बेलुकी लेकसाइड झरेर रातभर रमाउनेमा केही स्थानीय पाहुना पनि छन। स्थानीय बाहेक घुम्न भनेरै आएका पाहुनाको कारण लेकसाइड भरिभराउ भएको उनले बताए। ‘लेकसाइड भरिभराउ रह्यो। यो भीडले हामीलाई कोरोना संक्रमण नै बिर्सायो,’ उनले भने।

महोत्सवका संयोजक नरेश भट्टराई पनि सडकमा मानवसागर ओर्लेको देख्दा दंग छन्। कोरोना संक्रमण सुरु हुनु अघिको महोत्सव भीडलाई पनि यो पटक उछिनेको उनको अनुमान छ। ‘पोखरा भित्रैका पनि पाहुना लेकसाइड झरे। त्यसबाहेक कास्की आसपासका जिल्लाबाट पनि मानवसागर ओर्लिएको पक्का हो,’ भट्टराइले भने, ‘शनिबार बिहान चारबजेसम्म पनि सडकमा भीड थियो। पाहुना बरु सुत्न गएनन, सडकमा रमाउन छाडेनन।’  

यो पटकको महोत्सवमा यतिसारो मानवसागर ओर्लेला भन्ने आफुहरुको अनुमान समेत नभएको उनले बताए। ‘यो भीडभाडले त कोरोना नै बिर्सायो। पोहोर यत्तिधेरै थिएन। कोरोनाको खोप लगाएकोले पनि मान्छेको भीड यो पटक बढेको हो,’ उनले भने, ‘आन्तरिकको यही भीडमा भारतीय पनि थपिँदा पर्यटन क्षेत्र झनै चम्कियो।’ उनका अनुसार यो बेला भारतीय पाहुना ठुलो समुहमा नभई पारिवारिक र साथीभाईबीचमा सिमित छ। ठुलो र एउटै समुहमा नभई सानो आकारमा पर्याप्त भारतीय भित्रिएको उनले बताए। ‘ठुलो समुहमा भारतीय भित्रिएका होईनन, तर, सानो आकारमा निजी गाडीमा आउने पाहुना पर्याप्त भए,’ उनले भने।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराईका अनुसार करिब तीनकिलोमिटर दूरीको लेकसाइड क्षेत्रमा शुक्रबार बेलुकी आठबजेदेखि शनिबार बिहानसम्म पाहुना थिए। ‘मध्यरातमा त थामिनसक्नु भीड रह्यो । हामी नै यो भीड देखेर दंग परेका छौ,’ उनले भने, ‘पर्यटन अब आन्तरिक पाहुनाको भरमा पनि टिक्छ भन्ने यो भीडले देखाएको छ। किनकी यही भीडका पाहुनाले पोखराका सबै होटल भरिभराउ छन्।’ तीनकिलोमिटर सडकमा मध्यरातमा करिब दुईलाख पाहुना उत्रिएको भट्टराइको अनुमान छ।  

उनका अनुसार पाहुनाको भीडभाडले होटलका कोठा करिब भरिभराउ भएका थिए । व्यावसायीका अनुसार लेकसाइड क्षेत्रका होटलमा मात्र ४० हजार बेड छन। पोखराभित्रका अन्य ठाउँ र आसपासका डाँडाकाँडामा खुलेका होटलमा अरु करिब दशहजार बेड थपिँदा पोखरा उपत्यकासँग करिब ५० हजार बेड रहेको उनीहरु बताउँछन। ती सबै बेडले पाहुना पाएको भट्टराईको भनाई छ।

 ‘कोरोनाको खोप लगाउन पाएकोले पनि घरबाहिर निस्कने मनोवल पाहुनामा बढेको हो,’ उनले भने, ‘पोहोर खोपको निश्चितता थिएन। तर, अहिले खोप लगाएकोले पाहुनामा घुम्ने मनोवल बढेको छ,’ उनले भने, ‘हेर्दा भीडभाड देखिएपनि यो भीडबाट पर्यटनमा कुनै न कुनै लाभ मिलेको छ। पर्यटन क्षेत्रको आर्थिक चलायमान बनाउन यसले सघाएको छ।’  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली महोत्सव आफैमा ब्राण्ड बनिसकेकोले पनि पोखरामा यो बेला आगमन बढाएको बताउँछन। यो पटक पर्याप्त भारतीय र आन्तरिक पाहुना भित्रिँदा त्यसले पर्यटनमा सुखद सन्देश दिएको उनले बताए। कोरोनाले सबैतिर निराश बनाएको बेला यस्ता गतिविधि गर्दा पाहुना भिœयाउन सकिने मनोवल व्यवसायीमा बढाएको उनले बताए। ‘मध्यम र सामान्य वर्गमा पनि घुम्ने संस्कारको विकास भएको देखियो। यो पटक लेकसाइडलाई पाहुनाको भीड थेग्न सहज थिएन,’ उनले भने, ‘एकरातका लागि भएपनि लेकसाइड भरिभराउ रह्यो ।’ सोचेभन्दा बढी पाहुना आएको उनले पनि बताए।  

पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारी पनि आन्तरिक पाहुनाले पर्यटनमा कन्फिडेन्स बढाएको बताउँछन। ‘कोरोनाको यो अप्ठेरोमा आन्तरिक पर्यटकबाटै पर्यटन क्षेत्र बचेको हो,’ भण्डारी भन्छन, ‘मान्छेमा खर्च गर्न सक्ने क्षमता बढाएकोले पनि घुम्न निस्केका हुन।’ नयाँवर्षमा विदेशी पाहुना कुर्नुपर्ने अवस्था अब बिस्तारै कम भएको आन्तरिकको यो भीडले देखाएको उनले बताए।  

प्रकाशित: १७ पुस २०७८ १०:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App