coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पोखरा सडक महोत्सवः थप आन्तरिक पाहुना तान्ने प्रयास

पोखरामा विहीबारदेखि सुरु हुने सडक महोत्सवबारे जानकारी गराउँदै आयोजक। तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र आन्तरिक पाहुनाको भरमा माथि उक्लिने प्रयत्नमा छ। पुरानो अंग्रेजी वर्ष बिदाई र नयाँवर्ष स्वागतको अवसर पारेर अझै बढी आन्तरिक पाहुना पोखरा भिœयाउने तयारीमा व्यावसायी जुटेका छन्। आन्तरिक पाहुना भिœयाउन सके कोरोनाबाट थलिएको व्यवसाय अझ माथि उकासिने व्यवसायीको विश्वास छ।

अहिले भित्रिएका भन्दा थप पाहुना भिœयाउने लक्ष्यसहित पर्यटन क्षेत्रले विहीबारदेखि तीनदिनका लागि पोखरा सडक महोत्सव आयोजना गर्दैछ। सडक महोत्सवका लागि पोखराको पर्यटकीय क्षेत्र लेकसाइड पुरै सिंगारिएको छ। महोत्सवमा पाहुनाको आगमन बढाउन आकर्षक कार्यक्रम सहित केही सस्तोमा प्याकेज पनि व्यवसायीले दिने तयारी गरेका छन।

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले हरेक वर्ष एकै समय र अवधिका लागि पोखरामा सडक महोत्सव आयोजना गर्दै आएकोमा कोरोना संक्रमणले गर्दा पोहोर र अहिलेको संस्करण तीनदिनमा झारिएको छ। विहीबारदेखि सुरु हुने २३ औं संस्करण पनि तीनदिनमात्र संचालन हुने रेबानले बताएको छ। रेबानका अध्यक्ष लक्ष्मण बरालले पाहुनाको स्वागतार्थ लेकसाइड तयारी अवस्थामा रहेको बताए। उनले पोखरामा आन्तरिक आन्तरिक पाुहना बोलाउनकै लागि वर्षेनी हुँदै आएको यो महोत्सव प्रभावकारी बनेको बताए।

‘पोहोर भन्दा यो पटक अझै बढी आन्तरिक पाहुना आउने अपेक्षा छ। किनकी कोरोनाको त्रास पोहोर भन्दा अहिले घटेको छ,’ उनले भने, ‘पाहुनाले कोरोना विरुद्धको खोप पनि लगाइसकेकोले आगमन बढ्नेमा हामी विश्वस्त छौं।’ पोखरामा सडक महोत्सवका अवसरमा कति संख्यामा आन्तरिक पाहु्ना आउँछन भन्ने यकिन तथ्यांक कतै नभएपनि अरुबेला भन्दा निकै नै बढी संख्यामा पाहुना भित्रिने व्यवसायी बताउँछन।  

‘होटलको अकुपेन्सीले पनि पाहुना आगमन यो बेला बढेको देखिन्छ। अरुबेला निकै नै तल झर्ने अकुपेन्सी यो बेला झन्डै सतप्रतिशत हुन्छ,’ बरालले भने, ‘कोरोनाको बाबजुत पनि यो पटक पाहुना बढी आउनेमा हामी आशावादी छौ।’

महोत्सव संयोजक नरेश भट्टराइले तयारी पुरा भएको बताए। उनका अनुसार पोखराका ठुला आकारका होटलको अकुपेन्सी करिब सतप्रतिशत पुगिसकेको छ। साना र मझौला आकारका होटलले पनि बढी आकारमा बुकिङ पाएका छन। ‘आन्तरिक पाहुनाले पर्यटन क्षेत्रलाई निकै नै राहत दिएको छ। कोरोनाको यो अप्ठेरोमा आन्तरिक पर्यटनबाट साच्चिकै सहज भएको छ,’ भट्टराइले भने, ‘आन्तरिक पाहुनाको आउजाउ नहुने हो भने त यो बेला पर्यटन क्षेत्र टिकाउन सहज छैन।’ उनले आन्तरिक पाहुना भिœयाउन विभिन्न व्यवसायिक संस्थाले छुट सहित आकर्षक कार्यक्रम राखेको बताए।

संयोजक भट्टराइका अनुसार महोत्सवमा आएका पाहुनालाई मनोरञ्जन दिलाउन विभिन्न आकर्षक कार्यक्रम गरिँदैछ। लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा सडकमा रेस्टुरेन्टले परिकार पस्किने र पाहुनाले सडकमै बसेर रमाउन पाउने भएकोले महोत्सवले पर्यटकलाई मनोरम प्रदान गर्ने उनले बताए। ‘पुरै तीनकिलोमिटर क्षेत्र झकिझकाउ पारिएको छ। अब हामी पाहुनाको स्वागतको तयारीमा छौ,’ उनले भने, ‘सबै तयारी पुरा भएको छ।’

उनका अनुसार विभिन्न ठाउँबाट सांस्कृतिक झाँकि पोखरा बोलाइएको छ। लेकसाइडकै मूल सडकका ठाउँठाउँमा मनोरञ्जनात्मक कार्यक्रम पनि गरिनेछ। पर्यटकलाई निराश नभई उत्साही बनाउनका लागि कार्यक्रम गर्ने र त्यसमाफर्त संस्कृति प्रवद्र्धन गर्न खोजेको पनि उनले बताए।

यो पटक कोरोना संक्रमण विरुद्ध खोप अभियान चलेकोले मेलामा सहभागि हुन आएका जो कोही स्वदेशी वा विदेशी पाहुनालाई कोरोना विरुद्धको खोप लगाउने तयारी भएको भट्टराईले बताए। महोत्सवको अवसरमा विहीबार र शुक्रबार खोप लगाइनेछ। दिनको पाँचसय जनालाई खोप लगाउने तयारी रहेको उनले बताए।  

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि भट्टराईले पनि आन्तरिक पाहुनाबाट पर्यटन क्षेत्र धानिएकोले पनि यस्ता महोत्सव प्रभावकारी हुने बताए। उनले पोखरा आन्तरिक पाहुनाको घुम्ने मुख्य थलो भएको र पोखरामा पाहुना आउँदा त्यसको लाभ पर्यटनको सबै क्षेत्रमा पर्ने बताए।

प्रकाशित: १४ पुस २०७८ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App