२७ श्रावण २०७९ शुक्रबार
अर्थ

रेमिटेन्स घट्ने र शोधनान्तर घाटा बढ्ने क्रम जारी

अर्थतन्त्रलाई भरथेग गर्दै आएको रेमिटेन्स आप्रवाह घट्ने क्रम पछिल्लो समयमा पनि जारी रहेको छ। रेमिटेन्स आप्रवाह घट्दै गएपछि र निर्यातजन्य वस्तु उत्पादन नहुँदा शोधनान्तर घाटा निरन्तर वृद्धि भइरहेको छ।

नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको विवरणअनुसार चालु आर्थिक वर्षको चार महिनामा (साउन–कात्तिक) तीन खर्ब १२ अर्ब ४२ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ। यो गत आर्थिक वर्षको तुलनामा ७.५ प्रतिशतले कम हो।

अघिल्लो वर्षको सो अवधिमा रेमिटेन्स आप्रवाह ११.२ प्रतिशतले बढेको थियो। चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिटेन्समा निरन्तर गिरावट आइरहेको छ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिनेको संख्या भने बढेको छ। यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या बढेर ९६ हजार तीन सय ८२ पुगेको राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो। पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्न थालेकाले अबको केही महिनापछि रेमिटेन्स वृद्धि हुने अपेक्षा गरिएको छ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या दुई सय ४९.१ प्रतिशतले बढेर ५९ हजार सात सय २३ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो।

शोधनान्तर घाटा डेढ खर्ब बढी

चार महिनामा शोधनान्तर घाटा निकै बढेको छ। असोजसम्म ७५ अर्ब १४ करोड रूपैयाँ शोधनान्तर घाटा रहेकोमा कात्तिकमा यो संख्या बढेर एक खर्ब ५० अर्ब ३८ करोड रूपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। शोधनान्तर घाटा बढेका कारण केही समययता बैंक तथा वित्तीय संस्थालाई समेत तरलता अभाव भइरहेको छ।

चार महिनामा ८२ अर्ब १२ करोड रूपैयाँको सामान निर्यात हुँदा ६ खर्ब ५० अर्ब २९ करोड रूपैयाँको सामान आयात भएको छ। यस अवधिमा व्यापार घाटा वृद्धि भएर पाँच खर्ब ६८ अर्ब १७ करोड रूपैयाँ पुगेको छ। विज्ञहरूले यसरी शोधनान्तर घाटा बढ्नुलाई चिन्ताको रूपमा लिएका छन्। समीक्षा अवधिमा चालु खाता दुई खर्ब २३ अर्ब १९ करोड रूपैयाँले घाटामा रहेको छ।

व्यापार घाटासँगै विदेशी विनिमय सञ्चिति पनि घट्दै गएको छ। कात्तिकसम्म विदेशी विनिमय सञ्चिति १० अर्ब ४७ करोड अमेरिकी डलर झरेको छ। यो सञ्चितिले ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्छ। २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.० प्रतिशतले कमी आई कात्तिक मसान्तसम्म १२ खर्ब ४४ अर्ब ८५ करोड रूपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ कात्तिकमा १०.९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको हो।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ को चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। पछिल्लो एक महिनामा ५१ करोड अमेरिकी डलरले विदेशी सन्चिति घटेको छ।

असोजमा १० अर्ब ९८ करोड बराबरको डलर सञ्चिति थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर ७.४ प्रतिशतले घटेर तीन खर्ब ४५ अर्ब ६५ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो।

प्रकाशित: १ पुस २०७८ ०९:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App