१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मौसमी सूचनालाई चासो नदिँदा धान बालीमा बढी क्षति

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले वर्षा हुनुभन्दा अगाडी नै सार्वजनिक सूचनामार्फत् सुुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा, प्रदेश १ तथा बागमतीका केही स्थानमा र प्रदेश २ का थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना औंल्याएको थियो।  

महाशाखाको उक्त सूचनामा सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत सम्भावना रहेको उल्लेख गरेको थियो।

महाशाखाले सार्वजनिक गरेको यो सूचनापश्चात् अविरल रुपमा आएको वर्षाले बाँकेसहित अधिकांश जिल्लामा भर्खरै काटेको र काट्ने तयार भएको धान बालीमा बढी क्षति पुर्याएको छ।  

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको उक्त सूचना किसानलाई जानकारी नभएको भने होइन। तर पनि धेरैजसो किसानले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई बेवास्ता गरे र दशैंलगत्तै धमाधम धान काट्न थाले। परिणामः खेतमा काटेर राखेको धानलाई अविरल वर्षाले क्षति गर्यो। वर्षाले धान बालीमा बढी क्षति गरेपछि किसानलाई अहिले भोकमरी हुने चिन्ताले सताएको छ।  

बाँके हिरमिनियाका किसान जयपाल मौर्य भन्छन्, ‘वर्षा हुँदैछ भनेर मौसम विभागले पहिल्यै सूचना दिएको थाहा थियो, तरपनि कात्तिक महिनामा पानी पर्ला भन्ने विश्वास नै लागेन, धेरै मान्छे लगाएर धमाधम धान काटियो, अहिले पूरै धान खेतमा डुबेको छ।’

उनले यसवर्ष ६ विघा जग्गामा धान खेती गरेका थिए। त्यसमध्ये काटेर सुकाएको ४० प्रतिशत धानलाई वर्षाले क्षति गरेको बताए। ‘खेतमा पानीको कतै निकास नभएको हुँदा धान पूरै डुबेको छ,’ उनले भने। मौसम विभागले जारी गर्ने सूचनालाई किसानलाई चासो नै नहुने मौर्य बताउँछन्।

सोही ठाउँका गुरुदिन यादवको दुई विघा बराबरमा काटेको धान पुरै पानीमा डुबेको छ। राधाचार जातको धान दशैं अगाडी नै काट्नलाई तयार भइसकेकाले मौसमी सूचनालाई चासो नदिएर काट्नुपर्ने बाध्यता भएको उनले सुनाए। ‘साढे ४ विघामा लगाएको धानमध्ये २ विघाको धान काटेर खेतमा सुकाएको थियौं,’ उनले भने, ‘भर्खरै दशैं मानेर खेतमा व्यस्त हुँदै गर्दा वर्षाले खत्तम बनाइदियो।’  

मौसम पूर्वानुमान महाशाखाको सूचनाले मन चसक्क बनाएपनि तयार भएको धान काट्नुपर्ने बाध्यता रहेको यादवले सुनाए। ‘मौसम विभागको हरेक सूचनामा म अपडेट भइरहेको हुन्छु, तर किसानको आफ्नै बाध्यता हुन्छ,’ उनले भने।  

अविरल वर्षाका कारण बाँकेमा मात्र करिव २० प्रतिशत जति काटेको धानलाई क्षति गरेको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ। केन्द्रका अनुसार बाँकेमा वर्षेनी ३६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। केन्द्र प्रमुख सागर ढकालले खेतमा काटेको र नकाटेको धानलाई वर्षाले क्षति गरेको बताए। ‘धान बालीमा कति क्षति भएको छ, यसको पूर्ण विवरण आइसकेको छैन,’ उनले भने ‘करिव २० प्रतिशत धान किसानले काटेका छन्, काटेको धान सबै र नकाटेको केही धानलाई पनि हावाले ढालेर क्षति गरेको छ।’  

पानीले भिजेको धान खान अयोग्य हुने र गुणस्तर पनि खस्किन सक्ने ढकाल बताउँछन्। अधिकांस किसान मौसमी सूचनाको पहुँचमा नभएको र सूचना पाएपनि चासो नदिँदा धान बालीमा बढी क्षति भएको उनको भनाइ छ। ‘अधिकांश किसानले मौसमी सूचनालाई पालना नै गर्दैनन्,’ ढकालले भने ‘किसानले मौसमी सूचनालाई पालना गरेमा क्षति धेरै कम हुन्छ।’  प्रायः किसानहरु मौसमी सूचनालाई झ्वाट्टै विश्वास गर्दैनन्। जसले गर्दा प्रतिकूल मौसमका कारण पटक–पटक किसानले क्षति बेहोरिसकेका छन्। राष्ट्रिय कृषक महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका बाँके खजुराका किसान सर्वजित बिष्ट किसानलाई मौसमी सूचना थाहा नहुने र एक्कासी परिवर्तन हुने मौसमले धोका दिने गरेको बताउँछन्। ‘किसानहरु सबै मौसमी सूचनाको पहुँचमा छैनन्, किसानको ध्यान जति खेतीबालीमै हुन्छ,’ उनले भने। वर्षाले आफ्नो पनि १० कठ्ठाको धानबालीमा पूरै क्षति भएको बिष्टले बताए।  

किसानलाई मौसमी सूचनामा केन्द्रित गर्न केही पहल गरेपनि प्रभावकारी हुन सकेको छैन। नेपालगन्जस्थित राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष गोपीप्रसाद यादवले आफ्नो समुहभित्र रहेका २ सय ४० जना किसानमध्ये १०÷१५ जनाले मात्र मौसमी सूचनालाई पालना गर्ने गरेको बताए। ‘धेरैजसो किसानले मौसमी सूचनालाई पालना गर्दैनन्, उनीहरु सूचनाको पहुँचमै छैनन्। मौसम पूर्वानुमान महाशाखाको सूचनालाई चासो दिएको भए यसपटक धानबालीमा क्षति कम हुने उनी बताउँछन्। यादवले थपे, ‘अधिकांशलाई मौसमी सूचनाबारे थाहा छैन, किसानले यसको मतलब नै गर्दैनन्।’

प्रकाशित: २ कार्तिक २०७८ १२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App