६ वैशाख २०८१ बिहीबार
अर्थ

कोदोको रक्सी: ‘ब्यान्ड भर्सेस ब्रान्ड’को अध्ययन प्रतिवेदन तयार

घरेलु मदिरालाई ब्रान्डिङ, बजारीकरण तथा  प्रवर्द्धनका लागि सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले गठन गरेको सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदलले प्रतिवेदन तयार पारेको छ। कोदोको रक्सीलाई ‘ब्यान्ड होइन ब्रान्ड’ बनाउनुपर्ने अभियान थालेकी प्रदेश नम्बर १ की सामाजिक विकासमन्त्री उषाकला राईको अवधारणा अनुसार प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा गठित कार्यदलले ७० पृष्ठको प्रतिवेदन तयार पारेको हो।

गत वैशाख अन्तिम साता गठित कार्यदलले सोमबार सामाजिक विकासमन्त्री प्रतिवेदन बुझाएका छन्।प्रदेश १ का १० जिल्लाका उत्पादक, उपभोक्ता र जनप्रतिनिधिसँगको प्रत्यक्ष जानकारी सर्वेक्षण तथा सम्बद्ध विज्ञबाट प्राप्त राय सुझावको आधारमा अध्ययन विश्लेषण गरेर प्रतिवेदन तयार गरिएको कार्यदलका संयोजक लोक्सोमले बताए।

नेपालमा मदिरा उत्पादन र उपभोगको विद्यमान अवस्था, कानुनी अवस्था, स्थानीय सीप तथा प्राविधिक ज्ञान तथा प्रवर्द्धनको अवस्था, दाउरा, पानी र मर्चाको उपलब्धताको वस्था, मदिरा उत्पादनका लागि चाहिने कोदो खेतीको सम्भावना, कोदोको रक्सी उत्पादन, ब्रान्डिङ तथा बजारीकरण सम्भाव्यता, उत्पादन रणनीति, ब्रान्डिङ, बजारीकरण, आर्थिक अवसर तथा सम्भावना, गुणस्तर मापन लगायत विषयवस्तु समेटेर प्रतिवेदन तयार पारिएको छ।

प्रदेशभित्रका १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादकसँग प्रत्यक्ष भेटघाट गरेर तयार पारिएको प्रतिवेदनमा यसको वैधानिक उत्पादन एवं बिक्रीवितरणका माध्यमबाट आर्थिक आम्दानी गर्ने लक्ष्य प्राप्तिमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सामुदायिक तथा निजी क्षेत्रको भूमिका रहने उल्लेख छ।

यस्तै, घरेलु रक्सीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्दै बजारीकणका लागि अघि सारिएको ‘ब्यान्ड भर्सेस ब्रान्ड’ अवधारणा सफल पार्न मौजुदा कानुन संशोधन, उत्पादनको स्तरोन्नति गर्दै स्थानीय, प्रदेशस्तरीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै प्रचारात्मक गतिविधि सञ्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।

हालसम्म अनुमति बेगर वा अनुमति पाएकाले पनि अनुमतिमा तोकिएको सर्त बमोजिम बाहेक मदिराको उत्पादन, बिक्री वितरण तथा निकासी पैठारीमा बन्देज छ।

प्रकाशित: ३ भाद्र २०७८ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App