८ वैशाख २०८१ शनिबार
अर्थ

स्वास्थ्य सामग्री भन्सार पास गर्न निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रण गर्न आयात गरिएका स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपास तत्कालै गर्न निर्देशन दिएका छन्। अर्थमन्त्रीले सोमबार भर्चुअल माध्यमबाट भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक र विभिन्न भन्सार कार्यालयका प्रमुखलाई यो निर्देशन दिएका हुन्।

पौडेलले सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपुर्जा लगायत सामग्री बिनाझन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिए। एकातिर कोभिड–१९ बाट जोगिनुपर्ने र अर्कातिर प्रभावकारी रूपमा कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पौडेलले स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीलाई आग्रह गरे।

अर्थमन्त्री पौडेलले कोभिड–१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रूपमा जानकारी गराउन पनि निर्देशन दिए। यस्तै अर्थसचिव शिशिरकुमार ढुंगानाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीको भन्सार जाँचपाससम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए।

राजस्व सचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सार कार्यालयसँग समन्वय गरी चौबिसै घन्टा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए। भन्सार विभागका महानिर्देशक यमलाल भुसालले अत्यावश्यक वस्तुहरूको आपूर्तिलाई सहज बनाउन विभागले तत्काल रेस्पोन्स टिम बनाएर काम गरेको जानकारी दिएका थिए।

प्रकाशित: ४ जेष्ठ २०७८ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App