सांसद् रचना खतिवडाले जेन्जी आन्दोलनको आडमा अगाडी बढिरहेको कुरा नबिर्सन पनि सरकारको ध्यानाकर्षण गराएकी छन्।
जेनजी आन्दोलनका क्रममा आफ्नो २२ वर्षीय छोरा गुमाएकी खतिवडाले जेन्जी आन्दोलनका सहिद तथा घाइतेको रगतमा टेकेर आएको जनादेशले सहिद परिवार र घाइतेको घाउमा न्यायको मलम लगाउन ढिलाई गरेको भन्दै आक्रोश पोखिन्।
उनले न्यायको मलम कहिले लगाउने भनेर सरकारलाई प्रश्न पनि गरिन्। देश परिवर्तनको नयाँ चरणमा अघि बढिरहेको र यो परिवर्तन जेन्जी आन्दोलनका क्रममा भएका सहिद र घाइतेको रगतले आएको उनको भनाइ थियो।
निर्दोषमाथि गोली चलाएर युवाको अभिष्य र सपनामाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन पनि उनले माग गरिन्। दोषीलाई सर्वसाधरण राख्ने जेलमा कहिले देख्न पाउँछौं भनेर प्रश्नसमेत गरिन्। आफूले न्याय नपाएको संकेत गर्दै उनले न्यायालय फोहोर भएको भन्दै सफाई गरि शुद्धिकरण गर्न मागसमेत गरेकी छन्।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका २२ वर्षीय रसिक खतिवडाकी आमा रचना खतिवडा प्रतिनिधिसभा सदस्य बनेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई समानुपातिकतर्फ खसआर्य समूहबाट सांसद बनाएको हो।
प्रकाशित: २९ वैशाख २०८३ १४:०७ मंगलबार





