२४ वैशाख २०८३ बिहीबार
image/svg+xml
अर्थ

भुकम्प पुनर्निर्माणको आधा दशक: नयाँ स्वरूपमा ठडियो लाप्राक

आवास

लाप्राककी दामिनी गुरुङको घर २०७२ को भूकम्पले माटोमै मिलायो। भूकम्पको धक्काले केन्द्रबिन्दु बारपाक नजिकैको लाप्राक गाउँ गल्र्याम्म ढाल्यो। घर एउटा पनि ठाडो रहेन।  

घर भत्किएपछि दामिनीले नजिकै अस्थायी टहरो बनाएर गुजारा गर्न सुरु गरिन्। भूकम्पको केन्द्रबिन्दु बारपाकबाट उनको घर दुईदेखि तीन घण्टाको दुरीमा पर्छ। त्यतिबेला भूकम्प प्रतिरोधी घर बनेका थिएनन्। सडक पहुँच पनि भर्खरै पुगेको लाप्राकमा खच्चडमार्फत या बोकेर निर्माण सामाग्री ढुवानी गर्नुपर्ने बाध्यता थियो। त्यहाँका स्थानीयले पक्की घर बनाउन सक्ने अवस्था थिएन। त्यसैले पनि त्यहाँ एउटा पनि घर ठाडो रहेन।  

एकनासे घर, ढुंगा र काठ अधिक प्रयोग भएका संरचना लाप्राकमा थिए। सिङ्गो एउटै बस्तीको गाविसको रूपमा लाप्राकलाई चिनिन्थ्यो। स्थानीय तहको संरचना बनेपछि लाप्राक धार्चे गाउँपालिका–४, मा पर्‍यो। सिङ्गो गाविसको एउटा गाउँ, एउटा वडा बन्यो। त्यहाँ झन्डै ६ सय घर छन्।  

घर भत्किएपछि गुप्सिपाखाको टहरामा करिब एक वर्ष लाप्राकीले दुःख कटाए। दुई हजार सात सय मिटर उचाईमा रहेको गुप्सिपाखमा गुजारा चलाउन सहज पक्कै थिएन र छैन। हिमाली भेग भएकाले त्यहाँ हिमपात हुन्थ्यो। टहरामा हिउँले छपक्कै ढाक्दा पनि बस्नु परेको दिन सम्झँदै स्थानीय शान्ति गुरुङ भन्छिन्, ‘कहाली लाग्दा दिन काटियो, अहिले दुःख बिर्साउने घर बनेको छ। ’ कष्टले हिउँ पन्छाउँदै गुप्सिपाखामा बसेका लाप्राकीले एक वर्षपछि गुप्सी छाडे।  

गुप्सिपाखा लाप्राकको पुरानो गाउँबाट आउजाउ गर्न झन्डै दुई घन्टाभन्दा बढी समय लाग्छ। लाप्राक गाउँ पहिरोको उच्च जोखिमा रहेको ठाउँ हो। गुप्सिपाखामा तल गाउँमा जस्तो पहिरोको खतरा तत्काल देखिँदैन। गुप्सिपाखा सरकारी जग्गा थियो। स्थानीयको सम्पत्ती सबै तल बेसीमा थियो। भूकम्पको एक वर्ष गुप्सिपाखामा बसेका लाप्राकी बिस्तारै बेसी झर्दै भग्नावशेष घरछेउमा टहरा बनाउन थाले।  

अन्यत्रका भूकम्प पीडितलाई सरकारले तीन लाख, जग्गा नहुने, र पहिरोको जोखिममा परेकालाई जग्गा किन्न थप दुई लाख रूपैयाँ अनुदान दियो। तर, लाप्राकको सिङ्गो गाउँका लागि गुप्सिपाखामा जग्गासहित बस्ती निर्माणमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जिम्मा लियो। एनआरएनएले बस्ती निर्माण  गर्ने जिम्मा लिएपछि स्थानीय उत्साहित भए।  

२०७३ साल कात्तिकदेखि बस्ती निर्माणको काम सुरु भयो। बस्ती निर्माणका क्रममा कोरोनाको प्रभाव र वर्षात्को असर धेरै रह्यो। गुप्सिपाखासम्म स्तरीय सडक नभएकै कारण निर्माण सामाग्री ढुवानीमा समस्या भएको थियो। तीन महिना वर्षात्, दुई महिना हिमपातका कारण वर्षमा पाँचदेखि ६ महिना मात्रै मुस्किलले काम गर्ने समय मिल्ने जानकारी निर्माणमा खटिएका इन्जिनियर लक्ष्मण अर्यालले दिएका थिए। लाप्राकको गुप्सी अत्यधिक चिसो हुने ठाउँ हो। त्यहाँ अन्यत्रबाट गएका कामदारलाई नियमित काम गर्न समस्या हुन्छ। नेपाली सेना र स्वयम्सेवकहरूले एनआरएनएलाई केही समय बस्ती निर्माणमा सघाए पनि।  

बस्ती निर्माणका क्रममा काठको अभाव सँगै, ढुङ्गा, गिट्टी, बालुवा सबै अन्यत्रबाट ढुवानी गर्नुपर्ने हुँदा काम ढिलो भएको थियो। एनआरएनएका तत्कालीन अध्यक्ष शेष घलेले आफ्नै कार्यकालमा बस्ती निर्माण सिध्याउने बताएका थिए। त्यसपछि भवन भट्ट अध्यक्ष भए। उनले पनि बस्ती आफ्नो कार्यकालमा सिध्याउने योजनामा कामलाई गति दिएका थिए। अन्ततः काम सकिएन।  

२०७२ सालको बारपाक भूकम्पले ध्वस्त बनाएको घर अन्यत्रका पीडितले सरकारबाट अनुदान लिँदासम्म लाप्राकीले घर पाएका थिएनन्। कतिपयले ऋण काडेर आफैँ बस्ने ठाउँ बनाएका थिए। अन्ततः लाप्राकका स्थानीयलाई घर बनाइदिने जिम्मा लिएको एनआरएनएले चिटिक्क परेको घर बनाएर हस्तान्तरण गरेको छ। वैशाख ९ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली, एनआरएनका अध्यक्ष कुमार पन्त, सांसद हरिराज अधिकारीको उपस्थितिमा स्थानीयलाई घर दिइएको हो। अहिले नयाँ घर पाएका लाप्राकी दंग छन्।  

‘अब हामीले नयाँ घर पायौं, निकै खुसी छौं,’ स्थानीय दामिनी गुरुङले भनिन्। उनी भूकम्पपछि पुरानै काठपातले बनाएको अस्थायी टहरामा गुजारा गर्दै आएकी थिइन्। लामो प्रतीक्षापछि भूकम्प प्रतिरोधी घर पाएकी उनले खुसी हुँदै भनिन्, ‘अब छिट्टै नयाँ घरमा सर्छु। ’

लाप्राकमा एनआरएनएले पाँच सय ७३ घरधुरी रहेको बस्ती निर्माण गरेको हो। दुई तले र चार कोठे घरमा शौचालय पनि निर्माण गरिएको छ। एकैखाले घरको बस्ती चिटिक्क बनेको छ। एउटै इट्टा, एकैखाले संरचना प्रयोग भएका कारण बाहिरबाट हेर्दा बस्ती विकसित मुलुकहरूको आवास क्षेत्रभन्दा कम देखिँदैन।  

२०७३ वैशाख १२ मा एनआरएनए, पुनर्निर्माण प्राधिकरण र स्थानीयबीच सम्झौता भए पनि कात्तिकदेखि सुरु भएको बस्ती निर्माण गर्न चार वर्षभन्दा बढी समय लाग्यो। एउटा घर निर्माणमा एनआरएनले १० लाखभन्दा बढी खर्च गरेको जनाएको छ। बस्ती निर्माणमा ५७ करोड ६६ लाख रूपैयाँ खर्च भएको एनआरएनए अध्यक्ष कुमार पन्तले बताए। ‘यो निर्माणमा भएको खर्च हो,’ उनले भने।  

स्थानीयले काठ आफैँ जोहो गरेका थिए। आफ्नो घर राम्रो बनाउन कयौँ दिन स्थानीय श्रमदानमा समेत जुटे। गोलाप्रथा गरेर कसको घर कुन हो भन्ने यकिन गराइएको थियो। बस्तीको २० भन्दा बढी नयाँ घरमा स्थानीय सरिसकेका छन्। बाँकी घरमा पनि स्थानीय सर्ने तरखरमा रहेको वडा अध्यक्ष राज गुरुङले बताए।  

‘आवाससहित अन्य पूर्वाधार हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको छ,’ एनआरएनएका अध्यक्ष पन्तले हस्तान्तरण समारोहमा भनेका थिए। अहिले बनेका घर भूकम्प प्रतिरोधी रहेको उनले बताए। बढीमा दुई वर्षभित्र निर्माण सक्ने योजनासहित सुरु भएको एकीकृत बस्तीको पुनर्निर्माण दुर्गम ठाउँ, वर्षात्मा काम नहुने, निर्माण सामाग्री अभाव, कोरोना प्रभावका कारण ढिला भएको अध्यक्ष  पन्तले बताए।  

ढिलै भए पनि भूकम्प प्रतिरोधी घर पाएपछि स्थानीय खुसी रहेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए। उनले भने, ‘त्यहाँ अझै धेरै पूर्वाधारको काम गर्न बाँकी छ, घरघरमा बिजुली, बस्तीभित्रको सडक, ढल निकास राम्रो भयो भने सबै नयाँ घरमा सर्छन। ’ घरधनीहरूको लालपूर्जा मालपोत कार्यालय गोरखामा बन्दैछ। हरेक घरधुरीले तीन आना दुई पैसा जग्गा पाएका छन्।  

बस्ती निर्माणको क्रममा नेपाली सेना र स्वयम्सेवी व्यक्तिहरूले पनि सघाएका थिए। बस्ती क्षेत्रमा ढल निकासको व्यवस्था, शौचालयको राम्रो प्रबन्ध गर्ने काम बाँकी रहेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ बताउँछन्। ‘धेरै घर एकै ठाउँमा रहेकाले त्यहाँको वातावरण स्वस्थ्य र स्वच्छ राख्न भने चुनौती छ,’ गाउँपालिका अध्यक्ष गुरुङ भन्छन्, ‘जनचेतनासँगै पूर्वाधारमा जोड दिन सकियो भने बस्ती अझै सुन्दर हुने थियो। ’

प्रकाशित: १५ वैशाख २०७८ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App