११ वैशाख २०८२ बिहीबार
image/svg+xml १७:२९ अपराह्न
अर्थ

‘पोहोर मंसिर भन्दा यसपालि कम विद्युत् ट्रिपिङ’

नेपाल विद्युत् प्रधिकरणले विद्युत् ट्रिपिङ अर्थात झ्याप्प झ्याप्प बिजुली जाने समस्या कम हुँदै आएको दाबी गरेको छ। प्राधिकरणले प्रसारण तथा वितरण र सबस्टेसनको सुदृढीकरणसँगै छिनछिनमा बिजुली जाने क्रम घटेको जनाएको छ। प्राधिकरणको तथ्यांअनुसार, विद्युत्को माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यस वर्ष मंसिरमा तीन सय ४७ पल्ट ट्रिपिङ भएको छ।  

काठमाडौं उपत्यका र आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घन्टा विद्युत् अवरोध भएको छ। पोहोर मंसिरमा पाँच सय ७७ पटक ट्रिपिङ भई ६५ घन्टा विद्युत् आपूर्ति बन्द भएको तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको छ।  

प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले प्रणालीमा माग अनुसार आपूर्तिका लागि पर्याप्त बिजुली रहेकाले घोषित/अघोषित लोडसेडिङ नगरिएको बताए। ‘अहिलेसम्मको डाटा हेर्दा गत वर्षको पुसभन्दा यस वर्ष ट्रिपिङ कम भएको देखिन्छ, विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ,’ उनले भने, ‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर बत्ती जाँदैमा उपभोक्ताले लोडसेडिङ भयो भनेर डराउनुपर्ने जरुरी नै छैन, प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ।’  

उनले ट्रिपिङ बढी हुने सबस्टेसन पहिचान गरी सुधार गर्न, त्यहाँको लोड अन्त सार्नेलगायत काम निरन्तर भइरहेको जानकारी दिए।शाक्यले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केबलमा क्षति पुग्ने, केही स्थानमा पोल तथा टान्सर्फमर सार्नु पर्र्नेलगायत प्राविधिक कारणले आसपास क्षेत्रमा केही समय बिजुली कटौती भएको हुन सक्ने बताए।

सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युतका पोल सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणाली मर्मत सम्भारलगायत काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको छ। गत वर्ष मंसिरमा यी काम गर्न चार सय ९१ पटक विद्युत् आपूर्ति बन्द (सटडाउन) गरिएकोमा यस वर्ष तीन सय ६२ पटक मात्रै गरिएको छ। स्थानीय रूपमा माग धान्न नसक्ने अवस्थामा (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउने लगायत काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्न अहोरात्र काम भइरहेको शाक्यले बताए।

प्रकाशित: २४ पुस २०७७ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App