१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्याराग्लाइडिङ दुर्घटना प्रकरणः आठजना पाइलटलाई उडानमा रोक

अनिश्चितकालका लागि ती पाइलटको उडान रोकियो

पोखराको आकाशमा प्याराग्लाइडिङ गरिँदै । फाइल तस्बिरः नागरिक

प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचक्रयाँइ गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखराका आठजना प्याराग्लाइडिङ पाइलटको उडाउनमा रोक लगाएको छ। यात्रुलाई उडाउने क्रममा ती पाइलटले सुरक्षालाई बेवास्ता गर्दै अतिरिक्त गतिविधि गराएको भन्दै क्यानले आठजना पाइलटलाई अनिश्चितकालसम्मका लागि उडानमा रोक लगाएको हो।

प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीका अनुसार आठजना पाइलटको उडान अनिश्चितकालका लागि रोकिएको छ। भण्डारीका अनुसार पाइलटहरु यूकेश गुरुङ, सहिल खान, संग्राम थापा, बिशाल थापा, रिखी पोडे, सुवास थापा, एलिस थापा र अञ्जन कुँवरलाई अनिश्चितकालसम्मका लागि उडान गर्न रोक लगाइएको छ।  

‘आठजना पाइलटलाई अनिश्चितकालसम्मका लागि उडान गर्न रोक लगाइएको छ,’ ना का अध्यक्ष भण्डारीले भने, ‘उनीहरुलाई के कस्तो कारबाही गर्ने भन्ने क्यानले नै छानबिन गरेर निर्णय गर्नेछ।’ भण्डारीका अनुसार ती पाइलटले यात्रुसहित उडानको क्रममा उडान सुरक्षामा हेलचेक्र्याँइ गर्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने गतिविधि गरेका थिए। ‘सुरक्षालाई हेलचेक्र्याँइ गर्दै उडान गरेकोले उनीहरुलाई कारबाही गर्न खोजिएको हो,’ भण्डारीले भने, ‘हामीलाई क्यानले पत्र पठाउँदै ती पाइलटको उडानमा रोक लगाएको जानकारी गराएको छ।’ प्राधिकणको सेफ्टी विभागले पत्र पठाएर तीन दिनभित्र क्यानमा उपस्थित हुन ती पाइलटलाई निर्देशन दिएको भण्डारीले बताए। ‘प्राधिकरणले भने बमोजिम हामीले पाइलटको उडानमा रोक लगाएका छौं। अब के कस्तो कारबाही गर्ने भन्ने क्यानले नै निर्णय गर्नेछ,’ उनले भने।

प्याराग्लाइडिङ उडानमा कतिपय पाइलटले गर्नै नहुने गतिविधि गर्छन्, जसले गर्दा दुर्घटनाको जोखिम बढाएको व्यवसायीको भनाई छ। उडान दौरान यात्रुलाई रोमाञ्चकता दिलाउने भन्दै कतिपय पाइलटले भूइ नजिकै झरेर फूल र रुखको पात टिप्ने गतिविधि पनि गर्छन्। फूल र पात टिपेर दिँदा पाँच सय र तालको पानी छुवाउँदा अतिरिक्त एक हजार रुपैयाँ पनि पाइलटले यात्रुसँग लिने गरेका छन्। फूल र पात टिपेर दिने मात्र नभई पाइलटले यात्रुलाई रोमाञ्चकता थप्न एक्रोब्याटिक पनि गराउँछन्। केही दिनअघि त्यसैगरि फूल र पात टिप्न खोज्दा भएको दुर्घटनामा एकजना पाइलटले ज्यानै गुमाएका थिए। त्यसपछि बल्ल जथाभावि गर्ने पाइलटलाई कारबाही गर्न प्राधिकरणले ना लाई भनेको थियो।  

अधयक्ष भण्डारीका अनुसार क्यानले पोखरामा पाइलटको ज्यानै गएपछि प्राधिकरणले उडानको क्रममा फूल र पात टिप्ने पाइटलको भिडियो खोजी गरिरहेको थियो। सामाजिक सञ्जालमा पाइएको भिडियोको आधारमा ती पाइलट पहिचान गरेको उनले बताए। त्यसबाहेक अरु पाइलटको पनि भिडियो खोजी गरिरहेको भण्डारीले बताए। ‘कारबाहीमा परेका पाइलटको उडानका क्रममा सुरक्षामा खेलाँची गरेको भिडियो प्राधिकरणले फेला पारेको छ,’ उनले भने, ‘त्यही प्रमाणका आधारमा कारबाही गर्नेछ।’

नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख भोलाप्रसाद गुराँगाइले पनि उडान सुरक्षालाई हेलचेक्र्याँइ गरेकोले ती पाइलटको उडान अनिश्चितकालिन रोक लगाइएको बताए। ‘उडानका क्रममा सुरक्षामा ध्यान दिनुपर्नेमा हेलचेक्र्याँइ गरिएको छ,’ गुरागाँइले भने, ‘सुरक्षामा खेलाँची गर्नुलाई उड्डयन क्षेत्रमा सबैभन्दा ठूलो गल्ती मानिन्छ। उनीहरुलाई कडा भन्दा कडा कारबाही हुन्छ। तर, के कस्तो कारबाही गर्ने भन्ने छानबिनपछि निर्णय हुन्छ।’ गुरागाँइका अनुसार उडान जोखिममा पार्ने पाइलटको विवरण खोज्न प्राधिकरणले भिन्दै टिम बनाएको छ।  

ना का पदाधिकारीका अनुसार प्याराग्लाइडिङ उडानका क्रममा अतिरिक्त क्रियाकलाप गरेकोले ती पाइलटलाई कारबाही गरिँदा उनीहरुको लाइसेन्स नै केही समयका लागि निलम्बन हुन सक्नेछ भने उनीहरुलाई जरिवाना पनि गरिनेछ। कतिपयले ती गतिविधिको भिडियो यूट्युब र टिकटकमा पनि अपलोड गरेका थिए।

प्रकाशित: २३ मंसिर २०७७ ०५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App