१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लामो दूरीको यातायात: पर्याप्त यात्रु नहुँदा खर्च धान्नै मुस्किल

कोरोना संक्रमणका कारण झन्डै ६ महिनासम्म रोकिएका लामो दूरी (२०० किलोमिटर बढीका गन्तव्य) का सार्वजनिक सवारी गत असोज १ गतेदेखि सञ्चालनमा त आए । तर लामो दूरीमा सञ्चालन भएका ती सवारीले अझैपनि भनेजति यात्रु भेटेका छैनन् । कोरोना महामारीबीच पनि अढाई महिना अघिदेखि गुडिरहेका लामो दूरीका ती सवारी अहिले पनि रित्तै गुड्नुपरेको व्यवसायीको भनाइ छ ।  

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसी झन्डै ६ महिना रोकिएका सवारी असोजदेखि गुड्न थालेपनि व्यवसायीले कमाउन भने नसकेको बताउँछन् । उनका अनुसार अहिले पनि लामो दूरीका सवारीका यात्रु छैनन् । सेवा सुचारु भएको अढाइ महिनाको अवधिमा मुख्य चाँड दसैं, तिहार, छठ परेपनि त्यो बेला पनि यात्रु पाउन नसकेको उनले बताए । तिहारपछि बल्ल यात्रुको केही संख्या बढेको उनले बताए । यात्रुविहीन तरिकाले सेवा दिँदा व्यवसायीले खर्च धान्नसमेत नसकेको अध्यक्ष केसीले बताए ।  

‘लामो रुटमा गाडी गुड्न थालेको अढाइ महिना बित्यो, तर यात्रु भने अझै भनेजति पाउन सकिएको छैन । पहिलेजति संख्यामा सवारी सञ्चालन गर्न पनि सकिएको छैन,’ केसीले भने, ‘छोटो दूरीमा केही यात्रु बढेको भएपनि लामो दूरीको सार्वजनिक यातायात सेवाले भने गति लिन सकेको छैन ।’ उनका अनुसार अहिले ७० प्रतिशत मात्र गाडी चलिरहेका छन् । ती गाडीका यात्रुको संख्या करिब २५ प्रतिशत रहेको उनले बताए ।  

‘कोरोनाकै त्रासका कारण पोखराबाट स्कुटर चलाएर बिराटनगर (५२५ किलोमिटर) आउजाउ गर्ने अवस्था आएको छ । स्कुटरमा यत्ति लामो दूरी तय गर्ने यात्रु अरूबेला बसमा आउजाउ गर्थे,’ केसीले भने, ‘डरत्रासकै कारण सर्वसाधारण यात्रु सार्वजनिक सवारी चढ्न आँट गरेका छैनन् । बरु जोखिम मोलेर स्कुटरजस्ता निजी सवारीमा हिँडडुल गरिरहेका छन् ।’ यति लामो समय यात्रु घरबाट बाहिर निस्कन नसक्नुमा सरकारले कोरोनालाई कारण देखाएर डरत्रास उत्पन्न गर्दा यो अवस्था आएको उनले बताए । ‘अत्यावश्यक कामबाहेक सकेसम्म घरबाहिर ननिस्कनु, भौतिक दूरी कायम गर्नु भनेर सरकारले भनिरहेको छ,’ उनले भने, ‘त्यसले गर्दा यात्रुहरू अति जरुरी काम परेको अवस्था बाहेक बाहिरिएका छैनन् ।’  

केसीका अनुभवमा कोरोना अघि यात्रुहरू सामान्य कामले पनि आउजाउ गर्थे । तर, अहिले नगई नहुने अवस्थामा मात्र यात्रु सार्वजनिक सवारीमा यात्रा गर्छन् । यात्रुले सकेसम्म सार्वजनिक सवारीमा यात्रा गर्नु नपरे हुन्थ्यो भन्ने गरेको उनले बताए । ‘पहिलो पहिले सामान्य कामले पनि यात्रुहरू बस चढेर गन्तव्यसम्म आउजाउ गर्दथे । तर, अहिले अत्यावश्यक कामले मात्र यात्रु गाडी चढ्ने गरेका छन् । गाडीबाट कोरोना सर्ने हो भने त अहिलेसम्म छ्यापछ्याप्ती हुनुपर्ने हो,’ उनले भने, ‘यात्रु पनि सचेत बनेका छन् । घरबाट ननिस्कन भनेकोले पनि यात्रु डराएका छन् ।’

पृथ्वीसँग सबैगरि १३९७ वटा गाडी छन् । ६३ जिल्लामा पृथ्वीका यी गाडी गुड्छन् । हरेक दिन पृथ्वीका करिब चार सय पाँच सय गाडी कुनै न कुनै रुटमा गुडिरहेका हुन्छन् । अहिले मुस्किलले तीन सय गाडी गुडिरहेको केसीको भनाइ छ । ‘यतिसम्म कि लामो दूरीमा त यात्रुबिना पनि गाडी छुटेका छन् । तर, एउटा यात्रु पनि नपाएपछि बीचबाटै फर्किने पनि गरेका छन् । पोखराबाट काकडभिट्टाका लागि छुटेका बस एउटा पनि यात्रु नभेटेपछि नारायणगढबाट फकिएका छन्,’ उनले भने, ‘एउटै यात्रु नभएपछि हामीले जबर्जस्ती गन्तव्यसम्म जाउ भन्न पनि सक्दैनौं ।’  

उनका अनुसार अहिले पृथ्वीका सबैजसो रुटमा गाडी त गुडेका छन् । तर, पहिलेको आकारमा भने अझै सवारी चल्न सकेका छैनन् । उनका अनुसार पोखराबाट काकडभिट्टाका लागि दिनमा रात्री र दिवा गरेर ६ बस चल्ने गरेकामा अहिले तीनवटा मात्र गइरहेका छन् । त्यस्तै पोखराबाट काठमाडौंका लागि दैनिक एक सय माइक्रोबस चल्ने गरेकामा अहिले ४५ को हाराहारीमा चलिरहेका छन् । पोखराबाट बुटवलका लागि नारायणगढ र स्याङ्जाको रुटबाट गरेर दिनमा ४० गाडी चल्ने गरेकामा अहिले ३० को हाराहारीमा जाने गरेको उनको भनाइ छ । पोखराबाट काठमाडौंका लागि नौवटा रात्री बस जाने गरेकोमा अहिले एउटालाई पनि यात्रु नपुगेको उनले बताए ।

‘यात्रु त काठमाडौंको रुटमा सबैभन्दा कम छन् । काठमाडौंमा संक्रमण बढी रहेकाले पनि यो अवस्था आएको हो,’ उनले भने, ‘अरूतिरका छोटो रुटमा भने यात्रु बढिरहेका छन् । लामो दूरीमा भने अझै यात्रु कम छन् ।’ यात्रु कम भएपछि कम्पनीले आधा संख्यामा क्यू निकालेर गाडी गुडाउँदै आएकामा आगामी सातादेखि पूरै आकारमा क्यू खुलाउने उनले बताए । ‘जसले जति यात्रु पाउँछन्, उत्ति बोक्ने हो । अब गाडी चलाउन सक्नेले चलाउँछन्, नत्र जे होला होला भनेका छौं,’ उनले भने, ‘आधा संख्यामा क्यू निकाल्दा केही अप्ठेरो पनि भएको छ । अब पहिलेकै संख्यामा क्यू खुलाउँछौं ।’  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साई पनि लामो दूरीको यातायातले अझै गति लिन नसकेको बताउँछन् । ‘व्यवसायी चलाउने मनस्थितिमा छैनन् । तर, बन्द गर्न पनि सकेनौं । हामीले मात्र बन्द गरेर भएन,’ साईले भने, ‘यात्रु अभावमा व्यवसायी पीडामा छन् ।’ उनले पनि अत्यावश्यक कामका लागि मात्र यात्रुले हिँडडुल गर्ने भएकाले अहिले अभाव भएको उनले बताए ।  

लकडाउनपछि साना आकारका गाडी र मोटरसाइकल बिक्री बढ्दा पनि यात्रु घटेको उनले बताए । ‘पोखराबाट बिराटनगर जाने यात्रुले झोला गाडीमा पठाएर आफूहरू स्कुटर वा मोटरसाइकलमा पनि गएका छन,’ उनले भने, ‘सकेसम्म सार्वजनिक सवारी चढ्नै नपरे हुन्थ्यो भन्ने गरिएको छ ।’ यसले व्यवसायी र मजदुरलाई अप्ठेरो पारेको उनले बताए । ‘गाडी चलाउँदा कमाइ छैन, तर बैंकलाई किस्ता तिर्न बाध्य पारिएको छ,’ उनले भने । 

प्रकाशित: २३ मंसिर २०७७ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App