७ वैशाख २०८१ शुक्रबार
अर्थ

विद्युत् प्राधिकरणबाट बिदा भए कुलमान

नेपाल विद्युत् प्राधिकरणमा मंगलबार आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बिदाइ गरिँदै । तस्बिर: नागरिक

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चारवर्षे कार्यकालमा लोडसेडिङ अन्त्यसँगै प्राधिकरणमा प्रशासनिक तथा वित्तीय सुधार ल्याउन सफल भएको बताएका छन् । मंगलबार प्राधिकरणमा भएको बिदाइ समारोहमा बोल्दै घिसिङले चारवर्षे कार्यकालमा प्राधिकरणका वित्तीय सूचकांकहरू धनात्मक बनेको बताएका छन् ।  

‘कुनै बेला कर्मचारीको तलब खुवाउन समेत सरकारको मुख ताक्नुपर्ने अवस्थाबाट गुज्रिरहेको प्राधिकरणले पूर्वाधार विकासका योजना बनाउँदा खुट्टा कमाउनुपर्ने अवस्था थियो,’ घिसिङले भने, ‘तर अबका दिनमा उत्पादन, प्रसारण र वितरणको लागि आवश्यक वजेट प्राधिकरण आफैंले पनि व्यवस्था गर्न सक्ने अवस्थामा पुग्नेछ ।’ घिसिङले प्राधिकरणको संस्थागत जमानीमा बहुपक्षीय वित्तीय संस्थाहरूबाट ऋण लिन सकिने अवस्था सिर्जना हुन थालेको बताए । ‘अहिले प्राधिकरणको छविमा सुधार आएको छ,’ उनले भने, ‘आमनागरिकको प्राधिकरणप्रतिको दृष्टिकोणमा परिवर्तन भएकोे छ । प्राधिकरणका कर्मचारीले गर्व अनुभव गर्ने दिन आएको छ ।’  

उनले नेतृत्व सम्हाल्दा प्राधिकरणको सञ्चित घाटा ३४ अर्ब ६० करोड रूपैयाँ थियो । अहिले सो घाटा शून्यमा झरेर सञ्चित नाफा कमाउने चार अर्ब ८६ करोड रूपैयाँ संस्था बनेको छ । प्रबन्ध निर्देशक घिसिङले विद्युत् माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमानदार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भएको बताए । ‘लोडसेडिङ अन्त्य गर्नु मात्र हाम्रो अन्तिम अभिष्ट थिएन । हाम्रो योजना प्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरणतर्फका आयोजना सम्पन्न गर्नु तथा नयाँ सुरु गर्नु थियो,’ उनले भने ।  

घिसिङले जीर्ण बनेका अधिकांश आयोजनाहरू निरन्तरको प्रयासबाट निर्माण सम्पन्न भएको दाबी गरेका छन् । त्यसैगरी, केही सम्पन्न हुने संघारमा रहेका छन् । घिसिङले नेतृत्व सम्हालेको पहिलो वर्ष प्राधिकरणले एक अर्ब ४७ करोड खुद नाफा कमाएको थियो । दोस्रो वर्ष दुई अर्ब ८५ करोड, तेस्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रूपैयाँ र चौथो वर्ष ११ अर्ब ५ करोड नाफा कमाएको थियो ।  

चार वर्षअघि ३४ अर्ब ६१ करोड रूपैयाँ सञ्चित नोक्सानी रहेकोमा आव ०७६÷७७ मा प्राधिकरणले सम्पूर्ण सञ्चित नोक्सानीलाई शून्यमा झारी करिब ५ अर्ब रूपैयाँ नाफामा लैजान सफल भएको छ । घिसिङले आफ्नो कार्यकालमा १० प्रतिशत बिन्दुले विद्युत् चुहावट नियन्त्रण गरेको बताए ।

चार वर्षअघि प्रणालीमा रहेको २५.७८ प्रतिशत चुहावट अहिले १५.२७ मा झरेको छ । देशभरका करिब ८६ प्रतिशत जनताले ग्रिडको विद्युत्मा पहुँच पाएका छन् । अफ ग्रिडसहित करिब ९० प्रतिशत जनताले विद्युत् ऊर्जामा पहँुच प्राप्त गरेका छन् । चार वर्षअघि प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत १३०.७८ युनिट मात्रै रहेकोमा अहिले बढेर २६० युनिट पुगेको छ ।

चार वर्ष अगाडि १४ घन्टासम्मको लोडसेडिङ हुँदा मुलुकभित्रको कुल विद्युत् खपतको करिब ३५ प्रतिशत भारतबाट आयात भइरहेको थियो । विद्युत् खपत करिब ७५ प्रतिशतले बढेको अवस्थामा समेत आव २०७६÷७७ मा कुल उपलब्ध विद्युत्कोे २२ प्रतिशतमात्रै आयात रहेको उनले बताए ।

घिसिङले लामो समयदेखि रुग्ण भएर बसेका माथिल्लो त्रिशूली ३ ए, चमेलिया र कुलेखानी ३ आयोजनाहरू सम्पन्न भएको बताए । निजी क्षेत्रका सहित गरी जम्मा ४५७ मेगावाटका जलविद्युत् आयोजना सञ्चालनमा आएको बताए ।

प्रसारण र वितरण लाइनका रुग्ण आयोजनाहरू सम्पन्न भएका छन् र केही ठूला आयोजनाहरू सम्पन्न हुने चरणमा छन् । उनले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण प्राधिकरणको राजस्व संकलन प्रभावित भएको र निर्माणाधीन केही आयोजनाहरू लक्षित समयमा पूरा हुन नसकेको बताए ।  उनले कठिन परिस्थितिमा समेत प्राधिकरणका हरेक गतिविधिमा सहयोग एवं समर्थन गर्ने आमउपभोक्ता, नागरिक समाज, देश विदेशमा रहेका सम्पूर्णलाई आभार व्यक्त गरे ।  

बिदाइ कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धमूर्ति उपहार दिए । नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले घिसिङको कार्यकुशलताले प्राधिकरणले आर्थिक रूपमा ठूलो छलाङ मारेको बताए । ‘सरकारले फेरि उहाँलाई पुनः नियुक्त गर्ला भन्ने आशामा बसेका छौं,’ उनले भने, ‘अहिले पहिलो कार्यकालबाट बिदाइ गर्दैछौं । अबको १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस् ।’  

प्रकाशित: ३१ भाद्र २०७७ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App