coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

रोकिएन असारे विकास, झरीमा बजेट छरेर अनियमितता

नवराजपुर गाउँपालिका ३ जगतपुरमा हिलोमा भैरहेको आरसिसि ढलान। तस्विरः मिथिलेश यादव/नागरिक

सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुरमा पक्की सडक निर्माणकाका लागि गाउँपालिकाले जेठ ३२ मा उपभोक्ता समितिसँग १५ दिने कार्यसम्पन्न म्याद तोकेर सम्झौता गर्यो। म्याद सकिएपछि सुरु भएको १८ लाख ८६ हजार ४ सय ९८ रुपैयाँको यो योजनाको काममा व्यापक अनियमितता भएको गुनासो आए पनि सम्बन्धीत निकाय भने मौन छ।  

हिलाम्य सडकमा रड ओछ्याएर ढलान गरिरहँदा समेत गाउँपालिकाका प्राविधिक तथा अधिकारी नदेखे झै गरेर बसेको स्थानीयको गुनासो छ। गाउँपलिकाले गरेको स्टिमेटअनुसार सडकमा कमप्याकसन(रोलिङ गरी जमिन कसिलो बनाएर) गरेर मात्र ढलान गर्न भनिएको छ। तर, निरन्तरको वर्षाले हिलाम्य बनेको सडकमा रड ओछ्याएर हतारमा ढलान गरिँदैछ।

हिलोमा ढलान गरिहेको जानकारी स्थानीयहरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत र करारमा नियुतm गरिएका प्राविधिक कृष्ण साहलाई समेत गराए। तर, स्थानीयको गुनासोमाथि चासो नलिँदा अनियमितता रोकिएन।

इन्जिनियरिङ अध्यन गरेका स्थानीय रामसेवक यादवका अनुसार स्टिमेटअनुसार काम नभएको जानकारी गराउँदा गाउँपालिकाले चाँसो लिएको छैन। हिलाम्य माटोमा नाङ्गो रड ओछ्यार भैरहेको गुणस्तरहिन विकास असारे अनियमितता हो। यो विकास नभई सरकारी सम्पतीको विनास हो। सम्पन्न गर्नुपर्ने म्याद गुजारेर काम सुरु हुन्छ। त्यो काम पनि बिना प्राविधिक निगरानीमा गरिन्छ। प्राविधिकको इस्टिमेट एकातिर थन्काएर भैरहेको मनमौजी कामको साक्षी गाउँपालिका बस्नुले शंका उब्जाएको उनको भनाई छ।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले अनियमित कामबारे स्थानीयबाट जानकारी आएको स्वीकार गरे। उनले भने, ‘धेरै स्थानीयले जानकारी गराएका छन्, मैले केही गर्न सकेको छैन।’

यस गाउँपालिकामा दरबन्दीका प्राविधिक छैन। गाउँपालिकाले करारमा एक जना प्राविधिक राखेका छन। एक जना प्राविधिकले योजनाहरु हेर्नै भ्याउँदैनन् योजना शाखा प्रमुख रमेश निधीले भने,‘ स्टिमेट बनाउने, योजना हेर्ने, मुल्यांकन गर्ने काम एक जनाले कसरी भ्याउन सक्छ ?’

नवराजपुर गाउँपालिका–३ मै माटो ग्राभेल योजना अझै सुरु भएको छैन। थान चोकदेखि बरगाछीसम्म माटो ग्राभेल योजनाका लागि गाउँपालिकाले १७ लाख ५० हजार रुपैयाँको योजना बनाएपछि सुरु हुन सकेको छैन।

वर्ष दिनसम्म नगरेको कामलाई किन असारकै झरीमा आएर हतार हतार गरियो ? झरीमा गरेको अधिकांश विकासका कार्य दिगो नहुने पोहोरको अनुभव हुँदाहुँदै फेरि दोह¥याउनुले अनियमितताको मनसाय प्रष्ट हुन्छ, यादवले भने।  

यो हतारोको पछाडि अनियमित ढंगले बजेट सिध्याउने उद्देश्य मात्रै लुकेको छ यादवले भने,‘ असारे विकासको आतंकले स्थानीयवासी दिक्क भएका छन। नियामक, नियन्त्रणकारी र कारबाही निकाय कानमा तेल हालेर बस्दा स्थानीयवासी आजित बनेका छन।’  

गोलबजार नगरपाकिलाले गत्त वर्ष असार महिनामा वडा नम्बर ८ स्थित मैनावत्ती खोलाकोबीचमा पक्की संरचना बनायो। असारमा बजेट सिध्याउन खोलाको बीचमा १८ लाख रुपैयाँ छरेर दुरुपयोग गरेको स्थानीय बताउँछन। नगरपालिकाले अकाशे पुल निर्माणका त्योबेला कल्भर्ट जस्तो पक्की संरचना निर्माणमा १८ लाख खर्च गरेको बताउँछन।

बरियारपट्टी गाउँपालिकाकाले गरगमादेखि कचनारीसम्म माटो तथा ग्राभेलको कामका लागि २५ लाखको उपभोतmा समिति गठन गरेर काम सुरु गर्यो। म्याद समाप्त भैसक्दा समेत काम अझै समपन्न हुन सकेको छैन। झरीकाका कारण माटोको बाटो हिलोले हिँड्न नसक्ने भएको छ। विकासको काम कोरोना विषाणुका निम्ति बन्दाबन्दीका बेला पनि गर्न दिइएकै थियो स्थानीय बिल्टु यादवले भने,‘ त्यही बेला माटो ग्राभेलका काम गरेर सडक राम्रा बनाइदिएका भए हुन्थ्यो नि। वर्खामा लगानी बालुवा पानी कहिलेसम्म ?’  

बर्सेनि माटो र ग्राभेलमा बजेट छरिन्छ। अर्को वर्ष त्यसमा भएको प्रगति देखिदैन। असारमा छरेको बजेट असारे वर्खासँगै बगेर जान्छ। अर्को वर्ष पुनः बजेट छरिन्छ यादवले भने,‘काम फेरी असाकै झरीका बेला गरिन्छ। भेलपानीले बजेट फेरी बगाउँछ।’ गाउँमा स्थानीय सरकार आएपछि असारे वर्षामा बजेट छर्ने प्रवृती झनै बढेको बरियारपट्टीका सियाराम यादवको अनुभूती छ। ‘मनसुन असारमा आउँछ भन्ने सबैलाई जानकारी छ’ उनले भने,‘ वर्षभरी चुपचाप बसेर वर्षाको मौका छोपेर अनिमितता दोहरिँदै छ। अनियमितताले स्थानीयवासी आजित बनिरहँदा नियामक निकायको कहिँकतै उपस्थिती नदेखिनु बिडम्बना भएको उनले बताए।  

बरियारपट्टी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहले भने,‘कोरोना भइरस संक्रमणका कारण काम गर्न ढिला भयो। असारमा काम सुरु हुँदा वर्षाले ठोस कामहरु गिलो पारिदिएको छ।’

प्रकाशित: ३० असार २०७७ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App