१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

८८ करोडको योजना पूरा नहुँदा सास्ती नै सास्ती

सघन सहरी विकास कार्यक्रम

सघन सहरी विकास कार्यक्रमअन्तर्गत स्तरोन्नति गर्न लागिएको रानीघाट पुलपारीदेखि रामगढवा जोड्ने बाटो। तस्बिर: रितेश/नागरिक

विभिन्न १३ वटा सडक खण्ड निर्माणका लागि ८८ करोड रुपैयाँबराबरको ठेक्का सम्झौताको निर्धारित समयावधि तीन महिना अगाडि सम्पन्न भएको छ। सघन सहरी विकास कार्यक्रमअन्तर्गत पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कार्यान्यवन भइरहेका यि योजनाका १३ सडकमध्ये एउटाको काम पनि सकिएको छैन। महानगरका यि १३ वटा सडकको मुहार फेर्ने भनिएको यस योजनामा प्रगति न्यून छ भने सडक खनिएपछि आवतजावत गर्ने सर्वसाधारणलाई सास्ती बढेको छ।  

‘गत वर्ष नै ठेकेदारले काम सुरु ग-यो, तर अगाडि बढेन। साबिकको ग्राभेल सडकलाई नयाँ सडक बनाउने नाममा बिगारिएपछि सुक्खायाममा धुलोले सास्ती खेपेका हामी अहिले हिलो र र पानीले समस्या भोग्न बाध्य छौं,’ रानीघाट पुलपारीदेखि रामगढवा जोड्ने बाटोका पीडित स्थानीय शैलेस साहले भने, ‘यस विषयमा हामीले महानगरपालिका कार्यालय, सघन सहरी विकास कार्यालयसम्म पुग्यौं, सामाजिक सञ्जालमा अभियान चलायौं र अन्त्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत गुनासो पठाएका छौं, कतै सुनुवाइ भएन।’

सघन सहरी विकास कार्यालयले टेन्डर प्रक्रिया सकिएर २०६५ वैशाख ३१ मा संयुक्त निर्माण कम्पनी रमण, श्यामसुन्दर माहाविर जेभीसँग सम्झौता गरेको थियो। ८८ करोड ३५ लाख ४२ हजार रुपैयाँमा उनीहरुले सकार गरेको ठेक्काका सम्झौताअनुसार ०७७ वैशाख ३० भित्र सम्पन्न गर्नुपर्ने थियो। कार्यालयको तथ्यांकअनुसार समग्रमा अहिले १३ वटै योजनामा ३० प्रतिशतमात्र काम सम्पन्न भएको छ। ७० प्रतिशत काम बाँकी छ। यसमध्ये पाँचवटा योजनामा ठेकेदारले हातसमेत हालेका छैनन।  

‘केही योजनमा ठेकेदारले काम सुरु समेत नगरेको कुरा सहीहो, कारण के देखिन्छ भने मापदण्ड अनुसार ११.२ मिटरको सडक बनाउन ति ठाउँहरुमा साइट क्लियर नभएर धेरैजसो काम विलम्ब हुनपुगेको हो,’ कार्यालयको तर्फबाट खटिएका योजनाका इन्जिनियर अमरेन्द्रकुमार झाले भने, ‘रानीघाट, रामगढवा र अलौंमा भने ठाउँ प्राप्त हुन कठिन भएपछि त्यहाँको मापदण्ड पुनर्निर्धारण गर्दै ९.२ मिटर बनाइएको छ। एकदमै साघुरो रहेको एउटा सडकमा यो योजना कार्यन्यवन गर्न सम्भव नै नभएपछि त्यसलाई महानगरपालिकासँग समन्यव गरेर अरु आवश्यक ठाउँमा सारिएको पनि छ।’ सुरुमा ठेकेदारले काम अगाडि बढाएका ठाउँमा पनि लकडाउनमा आएर प्रगति बढ्न नसकेको उनले बताए।  

यि सडकहरु रहेका ठाउँमा महानगरपालिकाले नयाँ योजना दिएको छैन। पहिलोदेखि महानगरपालिकाले कार्यान्यवन गर्ने अर्को योजनाअन्र्तगत सडक बनिरहेको ठाउँको साटो महानगरपालिकाले दिने अर्को ठाउँमा सघन सहरी विकास कार्यक्रमअन्तर्गतको ठेक्कामध्येको सडक बनाउने गरी समन्वयसमेत गरिएको छ। तर, काममा प्रगति भने सुस्त छ। समग्रमा स्तरोन्नति भई नयाँ बन्ने सडकले जनजीवन सहज हुने आशा बोकेका स्थानीय यसपालिको वर्षातमा हिलो र पानी जमेर सास्ती भोग्न बाध्य छन्। सघन सहरी विकास कार्यक्रमअन्तर्गत ठेक्का गरिएका सडक भने सबै महत्वपूर्ण नै छन्।  

संयुक्त कम्पनीमध्ये निर्माणमा अगुवाइ गरिरहेको महावीर कन्स्ट्रक्सनका सञ्चालक अनिल गुप्ताले सडक बनाउनका लागि साइट (ठाउँ) उपलब्ध नभएर अपेक्षित भौतिक प्रगति हुन नसकेको बताए। ‘हामीले आठ ठाउँमा काम सुरु गरिसकेका छौं, त्यहाँ बाधा नआएको भए अहिलेसम्म उल्लेखनीय प्रगति भएको हुन्थ्यो,’ गुप्ताले भने, ‘रानीघाट पुलपारीको सडकखण्डमा ठाउँ खाली गराउन विवाद भएर बल्ल काम अगाडि बढेको थियो, लकडाउनमा वीरगन्ज हटस्पट बनेपछि काम बन्द भयो, यहीँबेला पानी सुरु भयो।’ उनले मौसम अनुुकूल भए आउदो भदौ १५ देखि काम पुनः सुरु गरेर एक वर्षभित्र सबै योजना सम्पन्न गर्ने लक्ष्य लिएको बताए। 

प्रकाशित: २९ असार २०७७ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App