८ वैशाख २०८१ शनिबार
अर्थ

चार युवाले सुरु गरे ड्रागन फ्रुट खेती

रतन्छाका चार युवाले लगाएको ड्रागन फ्रुटको खेती र नर्सरी । तस्बिर : नागरिक

खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेती सुरु गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, मिसन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फर्म दर्ता गरेर सामूहिक रुपमा ड्रागन फ्रुटको खेती सुरु गरेका हुन् । 

आर्थिक वर्ष २०७६/०७७ मा साकेला गाउँपालिकाले उपलब्ध गराएको आठ लाख अनुदान र ड्रागन फर्म सञ्चालकको चार लाख गरी १२ लाखमा ड्रागन फ्रुटको खेती सुरु गरिएको हो । पहिलो चरणमा झापाबाट तीन हजार बिरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती लगाइएको सञ्चालक पर्वत राईले बताए । खरिद गरेर ल्याइएका बिरुवामध्ये आधा संख्याको बिरुवा रोपेर अन्य बिरुवा नर्सरीमा राखिएको छ ।  

फर्म सञ्चालकले ड्रागन फ्रुटको बिरुवालाई उभ्याउनका लागि रड, सिमेन्ट र बालुवाको पिलर ठड्याएका छन् । पिलर नजिकै रोपिएको ड्रागन फ्रुटको बिरुवा बढेर पिलर जत्तिकै अग्लो भएपछि पिलरमाथि बंग्याइएको रडमा साईकलको टायर राखेर ड्रागनको बोट झुण्डिने ठाउँ बनाइने छ । ड्रागन फ्रुटको सम्भावनालाई अध्ययन गरेर १० वर्षका लागि जग्गा भाडामा लिएर खेती लगाइएको राईले बताए । जिल्लाकै हलेसी तुवाचुङ नगरपालिकाले ड्रागन फ्रुटको खेतीलाई मध्यनजर गर्दै किसानलाई तालिम दिएको केही समयपछि रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेतीमा लगानी गरेका हुन् । उनीहरुले आगामी वर्ष थप १५ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती विस्तार गर्ने तयारी गरेका छन् ।  

पालिका स्तरिय नमूना कृषि फर्म स्थापना तथा सिँचाइ केन्द्र शिर्षकमा बिनियोजन गरिएको रकमबाट रतन्छामा ड्रागन फ्रुटको खेती सुरु गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए । चार युवाले यूट्युव हेरेर समुद्री सतहबाट करिब ११०० सय मिटर उचाईमा रहेको जग्गामा ड्रागन फ्रुटको खेती लगाएका हुन् । उनीहरुले ड्रागन फ्रुटको फर्मसँगै नर्सरी समेत बनाएका छन् । उत्पादित नर्सरी सहुलियत मूल्यामा बिक्री गरिने राईले बताए । 

६ ईन्च अग्लो बिरुवा प्रतिगोटा दुई सय र ६ ईन्चभन्दा अग्लो बिरुवाको मूल्य प्रतिवटा साढे तीन सय पर्ने फर्मले जनाएको छ । ‘ड्रागन फ्रुटको बिरुवालाई उभ्याउनका लागि सिमेन्टेड थाँक्रो चाहिन्छ, कंक्रिट थाँक्रो भएन भने यसको खेती गर्नै सकिन्न,’ राईले भने, ‘पिलर बनाएर स्थायी थाँक्रो बनाउनुपर्ने भएकाले ड्रागनको खेती अलि महंगो पर्दो रहेछ ।’ 

प्रकाशित: २८ असार २०७७ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App