१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेशमा रोपाईं ३६ प्रतिशत

पोखरा १७ महतगौंडा फाँटमा रोपाईं गर्दै गरेका स्थानिय महिला । तस्बिर : उमेश पुन/नागरिक

गण्डकी प्रदेशमा मध्य असार सम्ममा ३६ प्रतिशत रोपाईं सम्पन्न भएको छ । गण्डकी प्रदेशमा कुल खेती योग्य जमिन एक लाख २२ हजार ६ सय ९५ हेक्टर क्षेत्रफल रहेकोमा सोमबार असार १५ गते सम्ममा ३६.२७ प्रतिशत रोपाईं सम्पन्न भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक निलकण्ठ पोखरेलले जानकारी दिए । यो अघिल्लो वर्षको भन्दा एक प्रतिशतले बढी हो । अघिल्लो वर्ष असार १५ गतेसम्ममा ३५.८० प्रतिशत रोपाई भएको थियो ।

गण्डकी प्रदेशमा यस वर्ष हालसम्म सबैभन्दा बढी म्याग्दीमा ७५ प्रतिशत र सबैभन्दा कम पर्वतमा १५ प्रतिशत रोपाईं भएको छ । कास्कीमा भने हालसम्म ५५ प्रतिशत रोपाईं सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै, बागलुङमा ४५ प्रतिशत, तनहुँमा ३७.१०, स्याङजामा ३५, नवलपुरमा ३३.८५, गोरखा र लमजुङमा २०÷२० प्रतिशत रोपाईं सम्पन्न भएको प्रदेश निर्देशक पोखरेलले जानकारी दिए ।

हालसम्मको रोपाई सन्तोषजनक भएको पोखरेलले बताए । यस वर्ष मनसुन छिटै शुरु भो,’ उनले भने, ‘त्यसका अलावा कोरोना कहरका कारण शहरबाट मान्छे गाउँ फर्किनु, जागिरमा भएकाहरू घरमै फुर्सदिलो हुँदा जनशक्तिपनि बढ्नु र परम्परागत भन्दा यान्त्रिकीकरणमार्फत खेती गर्ने संस्कृति बढेकाले रोपाईं समयमै भइरहेको छ ।’ उनले असार मसान्त सम्ममा गण्डकी प्रदेशमा ९५ प्रतिशत रोपाई सकिनेसमेत दाबी गरे । बाँकी ५ प्रतिशत मकै काटेर धान रोप्नुपर्ने भएकाले साउन अन्तिमसम्मै पुग्नसक्ने उनको भनाई छ ।

निर्देशनालयले रोपाईंका बेला मलको अभाव भएपनि किसानले मल नकुरी रोपाईं गरिरहेको जनाएको छ । रोपाईं पछिपनि रासायनीक मल हाल्न सकिने भएकाले किसानले मल नकुरेको उनको भनाई छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण सरकारले गरेको लकडाउनका कारण भारतबाट मल ल्याउन समस्या भएको, ल्याइएको मलपनि लकडाउनकै कारण वितरणमा समस्या हुनु, वितरित मल सिमित किसानले आवश्यक्ता भन्दा धेरै खरिद गरेर राख्नुलगायतका कारणले मलको अभाव सिर्जना भएको उनले स्पष्ट पारे । उनले केहि दिनपछि नै पर्याप्त मात्रामा मल आइपुग्ने बताए ।

गण्डकी प्रदेशका हिमाल पारिको जिल्ला मनाङ र मुस्ताङमा भने धानबाली लगाईंदैन ।

यसैबीच, गण्डकी प्रदेशमा यस वर्ष रोपाईंको क्षेत्रफल बढ्ने भएको छ । अघिल्लो वर्ष भन्दा यस वर्ष दुई हजार आठ सय ७९ हेक्टर बढीमा रोपाईं हुने भएको हो । अघिल्लो वर्ष एक लाख १९ हजार आठ सय १६ हेक्टर जमिनमा रोपाईं भएकोमा यस वर्ष एक लाख २२ हजार ६ सय ९९ हेक्टरमा रोपाईं हुने निर्देशक पोखरेलले जानकारी दिए । जनशक्ति बृद्धि, प्रदेश सरकार तथा स्थानिय तहको पहलमा पु¥याइएको सिंचाई सुविधा र कोरोनाका कारण उत्पन्न हुनसक्ने संकटलाई मध्यनजर गर्दै बाँझो खेतमासमेत खेती गर्दा रोपाईंको क्षेत्रफल बढ्ने उनको भनाई छ ।

प्रकाशित: १६ असार २०७७ ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App