१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

ठमेलको दिगो विकासका लागि व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने

फाइल तस्बिर/नागरिक

नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेलको दिगो विकासका लागि ठमेल क्षेत्रका व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने भएका छन्। विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसले मुलुकको पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेको भन्दै यसको सामनाका लागि एकजुट भएर अगाडि बढ्न लागेका हुन्।

ठमेल पर्यटन विकास परिषद्ले मङ्गलबार साँझ प्रेस विज्ञप्ति जारी गरी पर्यटक भए पर्यटन व्यवसाय रहने, व्यवसाय रहे घरधनी रहने र व्यवसायी र घरधनी रहे ठमेल रहने भएकाले सबै मिलेर वर्तमान समस्याको समाधान गर्नुपर्ने बताएको छ।

ठमेलले हिजोका दिनमा सरकारलाई राजश्व, विदेशी मुद्रा र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै आजको दिनमा ठमेलको पर्यटन क्षेत्र बचाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएको छ। परिषद्ले कोभिड–१९ का कारण व्यवसायी ठूलो मर्कामा परेको भन्दै न्यूनतम व्याजदरमा सहुलियत ऋण, विद्युत् सेवा शुल्क, इन्टरनेट सेवा शुल्क एक वर्षसम्म मिनाह गर्न माग गरेको छ।

 परिषद्का उपाध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको पर्यटन जोगाउनका लागि घरधनी, व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने बताए। घरधनीले घरभाडाका सम्बन्धमा व्यवसायीलाई दिनुपर्ने सहुलियतको विषयमा समेत परिषद्ले व्यवसायीसँग छलफल चलाउँदै आएको उनको भनाइ छ।

प्रकाशित: ३ असार २०७७ ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App