१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कैलालीका किसानलाई मल अभाव

मल बिना धान रोप्दै किसान। तस्विरः योगेश रावल

भजनी नगरपालिका–८ का किसान गौरी चौधरी मलको खोजीमा भौतारिन थालेको दुई साता बित्यो। उनले मलको खोजीमा आसपासका पालिकाका सबै सहकारी धाए। तर अहिलेसम्म एक बोरा मल पाउन सकेका छैनन्।

यो समस्या गौरी चौधरीको मात्रै हैन। यतिबेला कैलालीका अधिकांश किसान यस्तै समस्या भोगिरहेका छन। उनीहरु धान रोप्न भन्दा पहिले आवश्यक पर्ने मलको खोजीमा छन्। तर मल बिक्री गर्ने जिम्मा पाएका २ सय ५० सहकारी मध्ये कसैसँग एक बोरा मल छैन।

टीकापुर नगरपालिका–९स्थित धनसिँहपुर कृषि सहकारीका अध्यक्ष धनसिँह साउँदले किसान मल नपाएर समस्यामा रहेको बताए। उनले पहिलो पटक आएको सबै मल बिक्री भैसकेको जानकारी दिए। ‘ठूला किसानले पहिले नै किनेर राखेका छन’ उनले भने–‘यतिबेला साना किसान मल नपाएर समस्यामा छन्।’

धनगढीस्थित कृषि सामग्री कम्पनीले बेचेको सबै मल सकिएको छ। कार्यालयले चालु आवमा ८ हजार १८६ टन यूरीया र ५ हजार ५७२ टन डिएपी बेचेको थियो। यो आवश्यक भन्दा निकै कम हो। कार्यालय प्रमुख नवलसिँह बोगटीका अनुसार यूरीया, डिएपी र पोटास गरी कैलालीमा मात्रै २२ देखी २५ हजार टन मल आवश्यक पर्छ।  

यतिबेला कम्पनीको धनगढीस्थित गोदाम समेत रित्तो छ। लकडाउनका कारण तेस्रो मुलुकबाट आएको मल भारतको कलकत्तामा रोकिएको छ। कलकत्तामा मल रोकिएपछि खरीद प्रकृया नै अघि बढ्न नसकेको बताइएको छ। कार्यालय प्रमुख बोगटीले मल नेपाल आईपुग्न अझै एक साता लाग्न सक्ने सम्भावना रहेको बताए। ‘हामीसँग पनि छैन। अझै एक साता लाग्न सक्छ’ उनले भने–‘त्यत्तिञ्जेल समस्या नै छ।’

यो वर्ष विगतको तुलनामा मलको माग बढेको छ। विगतका वर्षहरुमा लुकिछिपी भारतीय सीमा क्षेत्रबाट मल भित्रिने गथ्र्यो। यो वर्ष लकडाउनका कारण सीमा क्षेत्रबाट हुने लुकिछिपी ठप्प छ। किसानले भारतबाट लुकिछिपी मल ल्याउन नपाएपछि माग बढेको बताईन्छ।  

किसानहरु मलको कालोबजारी भएको गुनासो गर्छन्। उनीहरु सहकारीका नाममा खाद्यान्न ब्यापारीले मल किन्ने गरेको बताउँछन। खाद्यान्न ब्यापारीले मल किनेर स्टक राख्दा किसानले सहज ढंगले पाउन नसकेको टीकापुर नगरपालिका–१ का किसान मोहन चौधरीको आरोप छ। ‘सहकारीका नाममा ब्यापारीलाई मोटाउने काम भैरहेको छ’ उनले भने–‘वास्तविक किसान मारमा छौं।’

कार्यालय प्रमुख बोगटी सहकारीले त्यसो गरेको पाईएमा कारवाही गर्ने बताउँछन। उनले तर यस्तो खालको गुनासो अहिलेसम्म नआएको बताए। ‘यदि त्यसो गरेको पाईएमा हामी कारवाही गर्छौ’ उनले भने–‘अहिलेसम्म कहिँ कतैबाट गुनासो आएको छैन।’

सहकारीले महंगोमा मल बेच्ने गरेको आरोप समेत किसानको छ। उनीहरुले कम्पनीबाट सस्तोमा खरिद गरेर सहकारीले महंगोमा मल बेचेको बताउने गरेका छन। तर धनसिँहपुर कृषि सहकारीका अध्यक्ष साउँद सबै सहकारीले ढुवानी भाडा जोडेर एउटै मुल्यमा बिक्री गर्ने गरेको बताउँछन। ‘ढुवानी भाडा मात्रै जोडिएको हो’ उनले भने–‘सबै सहकारीले एउटै मूल्यमा बिक्री गरेका छौं।’ टीकापुरका सहकारीहरुले डिएपी प्रति क्विन्टल ४ हजार ९०० र यूरीया प्रति क्विन्टल १ हजार ९०० बिक्री मूल्य तोकेका छन्।

कैलालीमा ३९ हजार हेक्टरमा धान खेती हुने गरेको छ। किसानले धान रोप्नु पहिले डिएपी र युरीया मल प्रयोग गर्छ। जसका लागि प्रति विगाह एक सय केजी डिएपी र ५० केजी युरीया आवश्यक पर्छ। किसानलाई दोस्रो पटक धान गोड्ने बेलामा युरीया मलको आवश्यकता पर्छ। त्यतिबेला प्रति विगाह एक क्विन्टल युरीया आवश्यक हुने किसान बताउँछन्।

प्रकाशित: १ असार २०७७ १०:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App