२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

अर्थतन्त्रमा सुधारको संकेत

१८ वटा औद्योगिक क्षेत्रमा सकारात्मक वृद्धि

अर्थतन्त्रका बाह्य सूचकमा उल्लेखनीय सुधार भएको अवस्थामा अर्थतन्त्रमा आन्तरिक सूचकमा पनि सुधारका संकेत देखिएका छन्। कोभिडपछि थला परेको अर्थतन्त्रमा क्रमश: सुधार देखिएका छन्। चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा अर्थतन्त्रका आन्तरिक सूचकमा सुधार आएको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

चालु आवको तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहने अनुमान छ। गत वर्ष सोही अवधिमा आर्थिक वृद्धि २.२ प्रतिशत थियो। यसरी हेर्दा पोहोरको तुलनामा दोब्बर वृद्धि भएको छ। यो त्रैमासमा १८ वटा औद्योगिक क्षेत्र धनात्मक वृद्धिदर भएको छ। पोहोरको तुलनामा अर्थतन्त्रका सूचक सकारात्मक देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका तथ्यांक अधिकृत अवधेशकुमार शुक्लाले बताए। ‘गत वर्ष २.२ प्रतिशत आर्थिक वृद्धिदर रहेकोमा अहिले दोब्बर बढेर ४.८ प्रतिशत पुगेको छ,’ शुक्लाले भने, ‘यो अर्थतन्त्रका लागि सकारात्मक संकेत हो।’ गत वर्षको तेस्रो त्रैमासमा ऋणात्मक रहेको निर्माण, खानी, औद्योगिकलगायत क्षेत्रमा अहिले उल्लेखनीय सुधार भएको छ। ‘गत वर्ष ऋणात्मक रहेको निर्माण क्षेत्रमा अहिले ६.९ प्रतिशतको वृद्धि भएको छ,’ उनले भने, ‘व्यापारमा पनि सकारात्मक देखिएको छ।’

अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, निर्माण क्षेत्रमा भएको सुधार, वित्तीय तथा बिमा क्षेत्रमा भएको वृद्धि, खानी तथा खनिज पदार्थ उत्खननमा भएको वृद्धि प्रमुख कारक रहेका छन्। सबैभन्दा बढी १२.५ प्रतिशत वृद्धिदर विद्युत् उत्पादन तथा वितरण क्षेत्रमा रहेको छ। त्यसैगरी निर्माण क्षेत्रमा ६.९ प्रतिशत, वित्तीय तथा बिमा क्षेत्रमा ६.७ प्रतिशत र खानी तथा खनिज उत्खनन क्षेत्रमा ६.७ प्रतिशत वृद्धिको रहेको प्रारम्भिक अनुमान छ। अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान गर्ने कृषि क्षेत्रको वृद्धिदर ३.६ प्रतिशत रहेको छ। हिउँदे बाली, तरकारी तथा नगदेबालीको उत्पादनमा भएको सुधारले कृषि क्षेत्रलाई सहयोग गरेको छ।

अर्थतन्त्रको दोस्रो ठुलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको चालु आवको तेस्रो त्रैमासिकमा कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा भएको वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि ५.६ प्रतिशत हुने अनुमान छ।

उत्पादनमूलक उद्योगले पनि ६.२ प्रतिशतको वृद्धिदर हासिल गरेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। त्यसैगरी, सूचना तथा सञ्चार क्षेत्रमा ६.६ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रमा ६.३ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा ६.२ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। यस अवधिमा शिक्षा क्षेत्र, पानी तथा फोहोर व्यवस्थापन, आवास तथा भोजन क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेकाले अर्थतन्त्रको वृद्धिदर सामान्य रहन गएको अनुमान छ। 

शिक्षा क्षेत्रको वृद्धि २.३ प्रतिशत, पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन क्षेत्रको वृद्धि २.४ प्रतिशत, आवास तथा भोजन क्षेत्रको वृद्धि २.५ प्रतिशत रहेको छ। चालु आवको दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा ०.६ प्रतिशतले वृद्धि हुने अनुमान छ। विभागले राष्ट्रिय लेखा प्रणालीबमोजिम आर्थिक सूचक निर्माण गर्न अर्थतन्त्रभित्र सञ्चालित सबै प्रकारका आर्थिक क्रियाकलापलाई मापन गरी तथ्यांकीय स्वरूपमा प्रस्तुत गर्ने गरेको छ। त्रैमासिक कुल गार्हस्थ्य उत्पादनका अनुमान तयार गर्दा विभिन्न आर्थिक क्रियाकलापहरूसँग सम्बन्धित सूचकहरूका आधारमा प्रथमत: मौसमी प्रभावसहितका त्रैमासिक कुल गार्हस्थ्य उत्पादन अनुमान गर्ने गरेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार बाह्य सूचकमा उल्लेख्य सुधार छ। चालु आर्थिक वर्षको १० महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ। वैशाख मसान्तसम्ममा मुलुकको चालु खाता दुई खर्ब ५५ अर्ब ९३ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँले मात्र बचतमा थियो। समीक्षा अवधिमा शोधनान्तर बचत चार खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ र विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।

प्रकाशित: २४ असार २०८२ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App