२० मंसिर २०८२ शनिबार
image/svg+xml
अर्थ

बिउ उत्पादनको हब पूर्वी कैलाली

दुई दशकअघिसम्म कैलालीको मुनुवाका किसान घरकै भकारीमा भण्डारण गरिएको बिउ प्रयोग गर्थे । कुनैकुनै किसानले मात्रै बाहिरबाट किनेर ल्याएको बिउ प्रयोग गर्ने गरेको पाइन्थ्यो। बाहिरबाट बिउ किनेर ल्याउने कुरा किसानका लागि त्यत्ति सहज पनि थिएन।

अहिले जानकी गाउँपालिका वडा नम्बर– ४ मुनुवाका तिनै किसानले उत्पादन गरेको बिउ देशका दर्जन बढी जिल्लाका किसानले प्रयोग गरिरहेका छन्। उनीहरूले उत्पादन गरेको बिउ मुनुवास्थित बिजवृद्धि कृषक सहकारी संस्थाले खरिद गरेर दर्जन बढी जिल्लाका किसानसम्म पुर्‍याउने काम गर्छ।

सहकारीले किसानले उत्पादन गरेको बिउ खरिद गरेर बाह्य जिल्लामा बिक्री गर्ने मात्रै होइन किसानलाई समेत सहयोग गर्छ । सहकारीको सहयोगमा किसानले बिउ उत्पादन गर्छन्। यसको सुरुवात २०६२ देखि भएको जानकारी सहकारीका व्यवस्थापक गोविन्द रावतले दिए।

उनका अनुसार सहकारीकै सहयोगमा किसानले धान, गहुँ, मकै, मसुरो, तोरी, मास लगायतका बालीको बिउ उत्पादन गर्छन् । यो बिउ कैलालीबाहेक बर्दिया, बाँके, सुर्खेत, दाङ, कञ्चनपुर, दैलेख, सर्लाही, सप्तरी, सिराहा लगायतका किसानले प्रयोग गर्छन्।

मुनुवाका किसानले उत्पादन गरेको बिउको बजार र यसको गुणस्तरबारे कुनै समस्या नरहेको व्यवस्थापक रावत बताउँछन्। ‘जतिधेरै उत्पादन गरे पनि बजारको कुनै समस्या छैन’ उनले भने, ‘हाम्रो उत्पादनप्रति अहिलेसम्म कसैले पनि गुनासो गरेका छैनन्।’

सहकारीले बर्सेनि तीन सय मेट्रिक टन धान र गहुँको बिउ बिक्री गर्छ। सहकारीसँग ४०८ मेट्रिक टन भण्डारण क्षमताका गोदाम छन्। यो यहाँको सबैभन्दा पुरानो र ठूलो बिउ उत्पादन गर्दै आएको सहकारी संस्था हो।

टीकापुर नगरपालिका वडा नम्बर ७ सत्तीस्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाले समेत बिउ उत्पादन गर्दै आएको छ। उसले धान, गहुँ र तोरीको बिउ उत्पादन गर्छ। सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले वार्षिक ३०० टन बिउ उत्पादन गरेर बेच्दै आएको जानकारी दिए। उनका अनुसार सहकारीले सेयर सदस्यलाई बिउमा अनुदान दिने गरेको छ। ‘किसानलाई बिउमा ५० प्रतिशत अनुदान दिन्छौं’ उनले भने, ‘हाम्रो नारा नै छ, जमिन किसानको: सहयोग सहकारीको।’ २१ जनाले सुरु गरेको सहकारीमा हाल एक हजार ५८ जना सेयर सदस्य छन्।

२०६३ सालमा बचत संकलन गर्ने उद्देश्यले स्थापना भएको सहकारीले २०७२ सालदेखि बिउ उत्पादन सुरु गरेको हो। रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले सहयोग गरेपछि सहकारीले बिउ उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।

आयोजनाले ठूला मात्र होइन साना सहकारी र केही निजी कम्पनीलाई समेत बिउ उत्पादनमा सहयोग गर्दै आएको छ। आयोजनाको सहयोगपछि धेरै साना सहकारी र निजी कम्पनी बिउ उत्पादनमा सक्रिय छन्।

जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतीस्थित आधुनिक कृषि सहकारी संस्थाले २०६८ बाटै बिउ उत्पादन गर्न सुरु गरेको हो। कैलाली र बर्दिया जिल्लालाई बजार क्षेत्र बनाएको सहकारीले बर्सेनि ५० मेट्रिक टन बिउ उत्पादन गर्दै आएको जानकारी व्यवस्थापक इन्द्राकुमारी डाँगीले दिइन्। उनले सहकारीले धान र गहुँको बिउ उत्पादन गर्दै आएको बताइन। ‘हामीसँग तत्काल भण्डारण क्षमता पनि छैन’ उनले भनिन्, ‘जति उत्पादन हुन्छ त्यति दुई जिल्लाका एग्रोभेटलाई बेच्नै ठिक्क हुन्छ।’

टीकापुर नगरपालिका ८ बटनपुरस्थित धनसिंहपुर कृषि सहकारी संस्थाले धान र गहुँको बिउमा मात्रै जोड दिएको छ। सहकारीका व्यवस्थापक मुना घर्तीमगरका अनुसार ८० टन गहुँ र ६० टन धानको बिउ बर्सेनि बिक्री हुँदै आएको छ। सहकारीको बजार कैलाली, बर्दिया, कञ्चनपुर, बाँके, सुर्खेत लगायतका जिल्ला हुन्। २०७३ सालदेखि बिउ उत्पादन सुरु गरेको सहकारीमा हाल ३४४ जना सेयर सदस्य छन्।

सहकारी मात्रै होइन निजी कम्पनीले समेत बिउ उत्पादन गर्दै आएका छन्। किसानसँगको साझेदारीमा निजी कम्पनीले बिउ उत्पादन गर्ने गरेका छन्। टीकापुर नगरपालिकाभित्र रहेका किसान बहुउद्देश्यीय प्रालि, क्रिएटिभ एग्रिकल्चर साइन्स एन्ड टेक्नोलोजी रिसर्च प्रालि, टोप एग्रिकल्चर साइन्स एन्ड टेक्नोलोजी रिसर्च प्रालि, लोक सरस्वती कृषि एग्रोभेट फार्म प्रालि र ज्ञान सिड कम्पनी प्रालिले बिउ उत्पादन गर्ने  गरेका छन् ।

टीकापुर नगरपालिका ६ ओखरपुरस्थित टोप एग्रिकल्चर साइन्स एन्ड टेक्नोलोजी रिसर्च प्रालिका व्यवस्थापक हिरन्ड गिरीले वार्षिक डेढ सय टन जति धान र गहुँको बिउ बेच्दै आएको बताए। उनले किसानले उत्पादन गरेको बिउ कम्पनीले खरिद गरेर बिक्री गर्ने गरेको जानकारी दिए। ‘किसानले उत्पादन गर्छन्, हामी खरिद गरेर अन्यत्र बेच्छौं’ उनले भने, ‘यसका अलावा हामी किसानलाई सहजीकरण पनि गर्छौं।’

२०७५ सालदेखि बिउ उत्पादनमा सक्रिय कम्पनीले किसानलाई अनुदान, प्राविधिक, कृषि औजार लगायतका कुरामा सहयोग गर्दै आएको छ। व्यवस्थापक गिरीले कैलाली, कञ्चनपुर, बर्दिया र अछाम जिल्लामा बिउ बिक्री गर्ने गरेको बताए । अन्य निजी कम्पनीहरूले समेत यसैगरी किसानलाई सहयोग गरेर बिउ उत्पादनमा महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

कृषि कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख भरतप्रसाद कँडेलले सहकारी र निजी कम्पनी गरी १५ वटाले बिउ उत्पादन गर्दै आएको जानकारी दिए। उनले कैलालीको पूर्वी क्षेत्र बिउ उत्पादनका लागि चिनिन थालेको बताए। ‘बिउ उत्पादनमा राम्रो प्रगति भएको छ’, उनले भने, ‘यसमा आयोजनाको ठूलो भूमिका रहेको छ।’

उत्पादनमा वृद्धि

स्थानीयस्तरमा उत्पादन भएको बिउ प्रयोग गर्न थालेपछि उत्पादनमा समेत वृद्धि भएको छ। परम्परागत बिउभन्दा अहिले उत्पादनमा दोब्बर वृद्धि भएको जानकी गाउँपालिका ४ मुनुवाका किसान रामफल बडायकले बताए। ‘विगतमा एक विगाहमा २० क्विन्टल धान उत्पादन हुन्थ्यो’ उनले भने, ‘अहिले ४० क्विन्टल हुन्छ।’ उनी दुई बिगाहमा बिउ उत्पादन गर्छन्।

अर्का किसान विजयकुमार कठरियाले समेत उत्पादनमा वृद्धि भएको बताए। उनी पाँच विगाहमा बिउ उत्पादन गर्छन्। ‘अढाई विगाह आफ्नै हो। थप अढाई बिगाह अर्काको जग्गा भाडामा लिएको छु’, उनले भने, ‘विगतको तुलनामा उत्पादन बढेको छ।’ उत्पादनमा वृद्धि भएपछि यहाँ उत्पादित बिउ किसानको रोजाइमा पर्न थालेको छ।  

कृषि कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख कँडेलले आयोजनाले बिउ उत्पादनमा जोड दिनुको उद्देश्य कृषि क्षेत्रको उत्पादनमा वृद्धि होस् भन्ने रहेको बताए। उनले पछिल्लो समय कुल ग्राहस्थ्य उत्पादनमा आयोजनाको कमान्ड क्षेत्रले महत्त्वपूर्ण स्थान ओगट्दै गएको दाबी गरे।  

प्रकाशित: १५ असार २०८२ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App