राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन नहुने भन्दै परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ गरेको छ। अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले हालेको रिट निवेदन शुक्रवार रजिस्टार भद्रकाली पोखरेलले दरपीठ गरेका छन्।
सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गर्न तीन वटा कुरालाई मुख्य आधारमा लिएको सर्वोच्चका सूचना अधिकारी एवं उपरजिस्टार नीराजन पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार पहिलोमा सार्वजनिक हक अधिकारको हनन कसरी भयो ? भन्ने रिट निवेदकले निवेदनमा खुलाउन नसकेको सर्वोच्चले ठहर गरेको छ।
अर्को विषय गभर्नर सिफारिस समितिले सिफारिस नै नगरेको अनिश्चित विषयमा मुद्दा चल्न नसक्ने भनेको छ, भने तेस्रो विषय पत्रपत्रिकामा आएका समाचार आधार बनाइ अनिश्चित विषयमा मुद्दा चलाउनु अपरिपक्व अवस्था भएकाले त्यसलाई आधार मान्न भएन भन्ने रजिस्टार पोखरेलले उठाएका छन्।
रिट निवेदकहरूले गभर्नर बनाउन लागेको भनिएका पौडेले राजनीतिक दल(नेपाली कांग्रेस)मा सदस्य भएका व्यक्ति भन्दै गभर्नर नियुक्त हुन नसक्ने भन्दै दाबी गरेका थिए।
प्रकाशित: २ जेष्ठ २०८२ १३:०२ शुक्रबार





