११ वैशाख २०८२ बिहीबार
image/svg+xml २२:२९ अपराह्न
अर्थ

तुँवालोले ढाक्यो पोखरा, पर्यटन क्षेत्रमा सकस

विमानस्थल बन्द, प्याराग्लाइडिङ उडान कटौती

बाक्लो तुँवालोले ढाकिएको पोखरा। तुँवालोका कारण यहाँँको पर्यटन क्षेत्रमा पनि प्रभाव परेको छ। तस्बिरः सन्तोष पोखरेल/नागरिक

पोखरा क्षेत्रलाई तुँवालोले ढाक्न थालेको धेरै नै दिन भयो। त्यसको प्रभाव मानव स्वास्थ्यदेखि आर्थिक गतिविधिमा समेत पर्न थालेको छ। तुँवालोका कारण नागरिकले घरबाहिर निस्कन डराउने अवस्था आएको गुनासो गरेका छन्। तुँवालोका कारण पर्यटकीय गतिविधि प्रभावित भएको पर्यटन क्षेत्रको गुनासो छ।  

तुँवालोले ढाकेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भईरहेका नियमित आन्तरिक हवाई उडान पनि प्रभावित भएका छन्। बिहान सबेरै खुल्ने विमानस्थल ३/४ घण्टा ढिलागरि खुल्ने गरेको छ भने दिउँसोको उडानमा पनि अवरोध पुग्ने गरेको छ। बाक्लो तुँवालोले ढाकेपछि हवाई सेवा नियमित गर्न समस्या भएको विमानस्थलले बताएको छ।  

शनिबार बेलुकीपख पोखरा अन्तर्राट्रिय विमानस्थल नै बन्द भएको थियो। भिजिविलिटी नपुगेपछि विमानस्थल बन्द भएको थियो। विमानस्थल प्रवक्ता जशोदा सुवेदीले बाक्लो तुँवालोले हवाई उडानमा बारम्बार अवरोध आईरहेको बताईन। ‘बिहान पनि केही घण्टा ढिलागरि विमानस्थल खुल्ने गरेको छ। दिउँसो पनि हवाई सेवा नियमित भएको छैन। हवाई उडानलाई बारम्बार अवरोध पुगेको छ,’ सुवेदीले भनिन, ‘भिजिविलिटी नै नपुगेपछि विमानस्थल नै बन्द गर्नुपर्ने अवस्था आउने गरेको छ। कुन बेला विमानस्थल बन्द हुन्छ भन्ने नै यकिन छैन।’

बारम्बार विमानस्थल बन्द हुने र खुल्ने गर्दा यात्रुलाई समस्या थपिएको छ भने व्यवस्थापनको चुनौती विमानस्थल र हवाई कम्पनिलाई परेको उनले बताईन। ‘तोकिएको उडान तोकिएकै समयमा हुने हो भने समस्या पर्दैन। जब उडान रोकिन्छन। त्यसपछि समस्या थपिन्छ,’ उनले भनिन्, ‘पोखराको हवाई सेवा यो बेला नियमित हुन सकेको छैन। यात्रुले घन्टौ कुरेर मात्र यात्रा गर्न पाउने अवस्था छ।’  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार बेलुकी ५ बजेको भिजिविलिटी १ हजार मिटरमा झरेको थियो। यो हवाई उडानका लागि निकै नै कम हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनका लागि ३७ सय मिटर भिजिविलिटी चाहिन्छ। यो बेला हवाई उडानमा यात्रु चाँप राम्रै भएपनि उडान अनिश्चित हुँदा प्रभावित भएको उनले बताईन।  

प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष अनिल केसी पनि प्याराग्लाइडिङको ब्यापारमा ४० प्रतिशत कटौती आएको बताउँछन्। ‘जस्तो सुकै परिस्थितिमा पनि उड्ने भन्नेका लागि अहिले पनि उडान भईरहेका छन। दृष्यावलोकन भन्दा पनि साहसिक गतिविधिमा रमाउनका लागि उड्नेका लागि अहिले पनि उडान भईरहेका छन। तर, सुन्दर दृष्यमा रमाउन चाहनेका लागि भने अहिले मौसम अनुकुल हुन सकेको छैन।’ उडेका पर्यटक पनि खुसी हुन नसकेको उनले बताए।

उनका अनुसार तूँवालोका कारण अहिले हिमाली श्रृंखला, हरियाली, फेवाताल र पोखरा सहरको सुन्दर दृष्य देख्न सकिन्न। त्यसैले गर्दा पनि उडान संख्या कम भएको उनले बताए। उनका अनुसार तँुवालो लाग्नुअघि पोखराको आकाशमा दिनमा २ सय हाराहारीमा प्याराग्लाइडिङ उडान भईरहेकोमा अहिले भने त्यो संख्या कटौती भएर १ सय २० मा झरेको छ।  

‘यसै त सोलो (एकल) उडान नभएर प्याराग्लाइडिङ उडान क्षेत्र सुस्ताएको थियो। त्यसैमाथि मौसमी चुनौती पनि थपिएको छ। सुन्दर दृष्य अवलोकन गर्न चाहने लागि यतिबेला मौसम उपयुक्त छैन,’ उनले भने, ‘यसले पर्यटन क्षेत्रमा पनि असर पारेको छ। पोखरामा आएका पर्यटकले सुन्दर दृष्यावलोकनलाई गुमाएका छन्।’ कम समय लिएर घुम्न आएका पर्यटकले पोखराको आकाशमा प्याराग्लाइडिङमा उड्न चाहेपनि तुँवालोका कारण दृष्य देख्न नपाएपछि खिन्न हुने गरेको उनले बताए।

होटल संघका केन्द्रीय सदस्य भरत पराजुली पोखराको मौसमका कारण पर्यटन क्षेत्र प्रभावित भएको बताउँछन। पोखरामा बसोबास गर्ने नागरिकलाई समेत यसले असर पारेको उनले बताए। 

‘पोखराले सफा र सुन्दर सहरको पहिचान कमाएकोमा पछिल्ला केही वर्षदेखि त्यो पहिचान गुमेको छ। प्रदूषणका कारण पोखराको हवाई उडान पनि अस्तव्यस्त बनेको छ। त्यसको आउजाउमा परेको छ,’ पराजुली भन्छन्, ‘पर्यटक भित्रिने मुख्य सिजनमा पछिल्लो समय वायु प्रदूषण थपिँदा पर्यटक नै घुमघाममा निस्कन छाडेका छन्।’

राजधानी काठमाडौंले संसारकै प्रदूषित सहरको पहिचान बनाउँदा आउन चाहने पर्यटक हच्किने गरेको उनले बताए। ‘सफा र स्वच्छ मौसम भएको सहरमा घुम्न जाने चाहना पर्यटकको हुन्छ। पैसा तिरेर बिदा मनाउन आउने ठाउँ नै प्रदूषित भएपछि पाहुनाको आगमन प्रभावित भएको छ,’ पराजुलीले भने, ‘तुँवालोका कारण भिजिविलिटी घट्दा हवाई उडान प्रभावित बनेको छ। हवाई उडान प्रभावित हुँदा पर्यटकले सास्ती खेप्नुपर्ने अवस्था छ। पर्यटक सास्ती खेप्न चाहँँदैनन, बरु घुम्नै निस्कँदैनन।’

पराजुलीका अनुसार अहिलेको तुँवालोका कारण आन्तरिक पर्यटक पनि प्रभावित भएका छन। ‘यस्तो प्रदूषणमा घुम्न निस्कने अवस्था नरहेको भन्दै आन्तरिक पर्यटक पनि रोकिने अवस्था आएको छ। विद्यालयमा बिदा भएकोले यो बेला बच्चासहित घुम्न आउने आन्तरिक पर्यटक पर्याप्त हुन्छन। तर, अहिले मौसमले धोका दिएको छ,’ उनले भने, ‘सर्वसाधारणको स्वास्थयदेखि पर्यटन क्षेत्रमा उत्तिकै असर परेको छ। पर्यटकीय सिजनमा पनि असर परेको छ। पहिला यस्तो थिएन। पछिल्ला तीनवर्षदेखि पोखरामा यो सिजनमा मौसममा समस्या आउने गरेको छ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ पनि तुँवालोका कारण पर्यटन सिजनमा असर परेको बताउँछन्। पोखराको आकाशमा अल्ट्रालाइट जहाज उडान संचालन गरिरहेका श्रेष्ठले तुँवालोका कारण सुन्दर दृष्यावलोकन गर्न नपाएपछि पर्यटकले उडान रोकेको बताउँछन। ‘कतै केही देखिन्न। आकाश पुरै ढाकिएको छ। डाँडाकाँडा कतै केही देखिएको छैन। यस्तो बेला उड्न चाहने कमै छन,’ उनले भने।

प्रकाशित: २४ चैत्र २०८१ १८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App