१६ चैत्र २०८१ शनिबार
image/svg+xml १८:४६ अपराह्न
अर्थ

सुरु भयो पर्यटकीय सिजन, उकासिँदै पर्यटन क्षेत्र

अघिल्लो सिजन भन्दा सुखद्ः व्यावसायी

अघिल्लो सिजन (सेप्टेम्बर–नोभेम्बर) कमजोर तरिकाले गुजारेको पर्यटन क्षेत्रमा यतिबेला भने केही सुधार देखिएको व्यावसायीले बताएका छन्। मार्च– जुनसम्मको समयलाई पर्यटन व्यावसायीले विदेशी पर्यटक भित्रिने सिजन मान्छन्। यो समयमा पदयात्राका लागि विदेशी पर्यटक नेपाल आउने भएकोले व्यावसायीले महत्व दिन्छन्। लामो समयसम्म चल्ने भएकोले यो सिजन महत्वपूर्ण रहेको उनीहरुको भनाई छ।  

पदयात्रा क्षेत्रमा यतिबेला विदेशी पाहुनाको आगमन बढिसकेको त्यहाँका व्यावसायीको भनाई छ। त्यसको प्रभावस्वरुप पोखराका होटलमा पनि पाहुना आगमन थपिएको उनीहरुको भनाई छ। व्यावसायीका अनुसार अहिले अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रमा दिनमा १ सय ५० जनाको हाराहारीमा विदेशी पर्यटक उक्लिरहेका छन्। एबिसी क्षेत्रको प्रवेशद्वारमा पर्ने माछापुच्छ्रे आधारशिविर (एमबिसी) क्षेत्रका पर्यटन व्यावसायी दिलीप गुरुङका अनुसार मार्च लागेपछि पदयात्रा सुरु हुने भएकाले पर्यटक आगमन पनि बढ्न थालेको छ।  

‘पछिल्लो समय एबिसी क्षेत्रमा बाह्रैमास पर्यटक आउजाउ हुन्छ। संख्यात्मक रुपमा धेरै र थोरै भन्ने मात्र हो। तर, यतिखेर भने दिनमा १ सय ५० जनाको हाराहारीमा पाहुना उक्लिरहेका छन। ती सबै विदेशी पाहुना हुन,’ उनले भने, ‘विदेशी पर्यटक भित्रिन थालेपछि सिजन सुरु भएको हाम्रो बुझाई हुन्छ। यो बेला मौसम उपयूक्त हुने भएकाले पनि विदेशी पाहुना पदयात्रामा आउँछन्।’

जाडो र गर्मी अधिक नहुने भएकोले यो सिजन पदयात्राका लागि उपयुक्त हुने उनले बताए। ‘जाडो पनि सकिएको छ। गर्मी पनि सुरु भईसकेको छैन। गर्मी नै सुरु भएपनि हिमाली क्षेत्रको पदयात्रामा खासै असर पर्दैन,’ उनले भने, ‘अबको केही महिना विदेशी पाहुना आउनेछन्। आन्तरिक पनि आउने हुँदा सिजनले व्यावसायीलाई व्यस्त राख्छ।’

पोखराका होटल व्यावसायी पनि सिजनको सुरुवाती पाहुना आगमनले पर्यटन क्षेत्रमा केही राहत मिलेको बताउँछन्। पोखराको माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराईका अनुसार पोखराका ठुला आकारमा होटलको मार्च महिनाको अकुपेन्सी ८० प्रतिशतसम्म उक्लेको छ। मध्यमस्तरका होटलको भने त्यो आकार केही कम भएपनि पाहुना आगमनमा सुधार देखिएको उनको भनाई छ।  

‘अघिल्लो सिजनमा उत्तिसारो सुखद् हुन सकेन। नेपालमा घटेको प्राकृतिक विपद्का कारण पाहुना आगमन प्रभाबित बन्यो। कोभिड संक्रमण अघिको जस्तो पर्यटनमा उत्साह त अहिले पनि छैन। तर यो भर्खरै सुरु भएको सिजनको सुरुवाती संकेत अनुसार पाहुना आगमन राम्रो देखिन्छ,’ उनले भने, ‘७०–८० प्रतिशतमा अहिले अकुपेन्सी छ। साना र मध्यम आकारका होटलले पनि कम्तिमा ६० प्रतिशतसम्म अकुपेन्सी ओगटेका छन्।’  

भट्टराईका अनुसार अप्रिल, मे लगायतको महिनाको आगमनको पनि संकेत राम्रै देखिएको छ। ‘नेपालको पर्यटनमा सानो कुराले पनि प्रभाव पार्छ। कुनै समस्या नभएमा अबका केही महिना विदेशी पाहुनाको आगमन बढ्ने देखिन्छ,’ उनले भने, ‘विदेशीको यही आगमनमा आन्तरिक पाहुना पनि थपिँदा पोखराले राहतको सास फेर्नेछ।’ उनका अनुसार मार्च सुरु भएदेखि माउन्ट कैलाशको अकुपेन्सी ८० प्रतिशतमा चलिरहेको छ।  

‘पोखरा भित्रिने मुख्य पृथ्वी राजमार्गले पनि गति लिएको छ। अब त आउजाउ केही सहज पनि बनिसकेको छ। चितवन–पोखरा समय अवधि तीनघन्टामा झरिसकेको छ। त्यसैले आन्तरिक पाहुनाको आउजाउमा सहज हुनेछ,’ भट्टराईले भने, ‘बिस्तार भईरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि संचालन समय बढ्दै जाँदा अबका केही दिन पर्यटनमा आशावादी हुन सकिन्छ। तर, त्यसका लागि देशमा कुनै समस्या निम्तनु भएन।’  

भट्टराईका अनुसार यो सिजनमा पोखरा भित्रिनेमा यूरोपियन मुलका पर्यटक छन्। तीसँगै भारतीय र चिनियाँ पाहुना पनि छन्। स्थलमार्गबाट भित्रिने भारतीय पाहुना पोखरा आउँदा त्यसले व्यावसायमा सहज भएको उनले बताए।  

पोखराको चालु अवस्थाको एकमात्र पाँचारे होटल पोखरा ग्राण्डका बिक्री प्रबन्धक कमल शेरचनका अनुसार यो सिजनको सुरुवाती संकेत सकारात्मक छ। होटलको अकुपेन्सी अहिले उक्लेर ८० प्रतिशत हाराहारीमा पुगिसकेको छ।

‘यो सिजनको संकेत राम्रो छ। ७०–८० प्रतिशत पुगेको अकुपेन्सीले पनि त्यही संकेत गरेको छ,’ शेरचनले भने, ‘मार्च सुरुदेखि नै आगमनमा सुधार देखिएको थियो। त्यो आगमन उकालो लाग्ने क्रममा छ।’

यो पटक सेप्टेम्बर–नोभेम्बर उत्ति सुखद हुन नपाएपनि यो सिजनले व्यावसायलाई केही राहत दिलाएको पनि शेरचनको भनाई छ। ‘यूरोपियन र भारतीय पाहुना बढी छन्। पोखरामा भारतीय पाहुना स्थलमार्गबाट आउने हुँदा केही सहज छ। चिनियाँको आगमन भने सोचेजस्तो हुनै सकेन,’ उनले भने, ‘कोभिड अघि चिनियाँको अकुपेन्सी नै ७० प्रतिशत हाराहारीमा हुन्थ्यो। तर, चिनियाँको त्यो आकार अहिले भने बढीमा ३० प्रतिशत होला, यूरोपियन र भारतीयका कारण केही सहज भएको छ।’

पोखराकै अतिथि रिसोर्टका संचालक भरत शर्मा पनि मार्चको तुलनामा अप्रिलको आगमन अझै बढी सुधार हुने बताउँछन्। ‘अहिले पनि ६०–७० प्रतिशत हाराहारीको अकुपेन्सीमा चलिरहेको छ,’ शर्माले भने, ‘यो आगमन उत्ति कमजोर होईन र उत्कृष्ट पनि भन्न मिल्दैन। तर, अघिल्लो पटकको सिजन भन्दा यो पटक केही सुखद् भने छ।’  

पोखराबाट आगामि केहीदिनमा चीनको छेन्दु र ल्हासामा सिधा हवाई उडान सुरु हुँदैगर्दा पाहुना आगमन बढ्न सक्ने संकेत रहेको उनले बताए। ‘चिनियाँको आगमन जति हुनुपर्ने हो, त्यो छैन। तर, आगामि दिनमा पोखरादेखि चीनको छेन्दु र ल्हासामा सिधा हवाई उडान सुरु हुँदैछ। त्यसले पोखरामा केही संख्यामा चिनियाँको आगमन बढाउनेछ,’ उनले भने। पोखरा भित्रिने राजमार्गमा सहज हुँदै गएपनि त्यसबारे अझै सन्देश प्रवाह भईनसक्दा आगमनमा केही प्रभाव परेको देखिएको पनि उनले बताए।  

पोखराका साहसिक पर्यटकीय गतिविधि संचालन गरिरहेको हाइग्राउण्ड एडभेन्चर्सका संचालक दीनेश महर्जन भने खर्च गर्ने क्षमताका पाहुनाको आगमनमा अझै सुधार हुन नसकेको बताउँछन्। ‘खर्च गर्ने क्षमताका पाहुना अझै भित्रिन सकेनन्। संख्यात्मक हिसाबले अघिल्लो पटक भन्दा केही सुधार देखिएपनि गुणस्तरीय पाहुनाको भीढ बढ्न सकेन,’ महर्जनले भने, ‘सबैलाई ब्यापार पुग्ने अवस्था छैन। ठुला होटलमा पाहुना पर्याप्त छन्। साना र मध्यमस्तरका होटलको अकुपेन्सी अझै पनि कमजोर छ। पर्यटक भित्र्याउनका लागि पहल आवश्यक छ।’  

नेपालसम्मको आउजाउ महंगो पर्न जाँदा विदेशी पाहुना चाहेर पनि नेपाल भित्रिन नसकेको उनले बताए। ‘नेपालसम्मको हवाई भाडा साह््ै नै महंगो भयो। हवाई भाडाको हिसाबले नेपाललाई सस्तो गन्तव्य बनाउनुपर्छ,’ उनले भने, ‘नेपालसम्मको हवाई भाडामा नियन्त्रण गर्ने हो भने पाहुना भित्रिन्छन। त्यसले पर्यटनलाई पनि राहत मिल्छ।’  

प्रकाशित: २ चैत्र २०८१ १६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App