संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनिने बित्तिकै केही देशलाई कर थपे, केहीलाई कर थप्ने धम्की दिए। यसले विश्वव्यापी बजारलाई अस्थिर बनाइदिएको छ। यस कारण धेरै देशका मुद्रा कमजोर हुन पुगेका छन्। मुद्रा कमजोर मात्र भएका छैनन्, कैयौं देशका किराना पसलमा अकस्मात महँगी बढेको छ। सुन किन्न चाहनेहरूको मन कुँडिएको छ। खासगरी बिहेको मौसममा सुनको मूल्य बढेको बढ्यै छ।
किन बढ्यो मूल्य?
ट्रम्पले २५ प्रतिशत स्टिल र एल्युमिनियमको आयातमा कर लगाउने घोषणा गरेका थिए। घोषणा लगत्तैका दिनमा सुनको मूल्य आकस्मिक रूपमा बढिरहेको छ। यस्तो किन भइरहेको छ त ? संसार अस्थिरतामा अघि बढ्दा सुनको मूल्य किन बढ्छ ? ट्रम्पको निर्णयबाट अन्य किसिमका एसेटहरू पनि बढिरहेका छन्।
ट्रम्पका आर्थिक निर्णय र अभिव्यक्तिपछि सुनको मूल्य नयाँ उचाइमा पुगेको छ। विज्ञहरूका अनुसार यसले सुरक्षित सम्पत्तिहरूप्रति लगानीकर्ताको आकर्षण देखाउँछ। जबजब संसार अस्थिरतातर्फ बढ्छ, मान्छेले स्थिर सम्पत्तितर्फ लगानी गर्न थाल्छन्। सुन सुरक्षित र स्थिर लगानी हो। गएको सोमबार, सुनको मूल्य पहिलो पटक प्रति आउन्स दुई हजार ९०० डलरभन्दा माथि पुग्यो। मंगलबार, मूल्य अझ बढेर २,९४२ माथि पुग्यो।
सुनलाई सुरक्षित सम्पत्ति किन मानिन्छ?
सुन हजारौं वर्षदेखि मुद्राको रूपमा प्रयोग हुँदै आएको छ र यो अस्थिरताका समयमा सुरक्षित लगानी मानिन्छ। मुद्राको मूल्य मुद्रास्फीति वा अत्यधिक छपाइका कारण घट्न सक्छ तर सुन सीमित स्रोत भएकाले यसले आफ्नो मूल्य कायम राख्छ। बरु कुनै देशको मुद्रा केही सीमित मुलुकमा मात्र चल्न सक्छ, डलर वा युरोबाहेक। उता सुन भने विश्वव्यापी रूपमा स्वीकार्य छ।
सुनको महत्त्वबारे विश्व सुन परिषद्को भनाइ छ, सुन अत्यधिक तरल सम्पत्ति हो, जसमा कसैको दायित्व हुँदैन, कुनै ऋण जोखिम हुँदैन र ऐतिहासिक रूपमा यसको मूल्य सुरक्षित रहँदै आएको छ।
सुनको मूल्य कहिले आकस्मिक रूपमा बढेको थियो?
इतिहासले सुनलाई सुरक्षित सम्पत्तिको रूपमा मान्ने जनधारणा बलियो बनाएको छ। सन् २००८ मा अमेरिकी आवास संकटले बजारलाई तहसनहस गर्दा सुनको मूल्य पहिलो पटक हजार डलरप्रति आउन्स पुगेको थियो। त्यसपछि सुनको मूल्य केही घटेको थियो, खासगरी २०११ को सेप्टेम्बरपछि। सन् २०१२ पछि भने डलरको मूल्य उच्च दरमा बढेर एक हजार नौ सय डलर पुगेर कीर्तिमान बनाएको थियो।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण गरेपछि सुनको मूल्य दुई हजार ७० प्रतिआउन्स पुगेको थियो। त्यसको ठीक महिना दिनअघि एक हजार नौ सय १० डलर प्रतिआउन्स थियो।
भाउ किन अकासियो?
ट्रम्पले सोमबार अबेर संसारका जुनसुकै भागबाट अमेरिका पुग्ने स्टिल र आल्मुनियमलाई २५ प्रतिशत करको दर पुनः घोषणा गरे। पहिले आल्मुनियम १० प्रतिशतको कर छँदै थियो। यसका साथै, ट्रम्पले केही उत्पादनहरूको कर छुट पनि हटाए।
संयुक्त राज्य अमेरिकाले सन् २०२४ मा करिब ४९ अर्ब डलर बराबरको स्टिल र आल्मुनियम आयात गरेको थियो। ‘हाम्रो राष्ट्रलाई स्टिल र आल्मुनियम अमेरिकामै उत्पादन गर्न आवश्यक छ, हामी आफ्नो देशको भविष्य जोगाउन चाहन्छौं,’ ट्रम्पले भन्ने गरेका थिए।
हाल, उनले क्यानडा र मेक्सिकोबाट सबै आयातमा २५ प्रतिशत कर लगाउने योजना स्थगित गरेका छन् तर चिनियाँ सामानहरूमा भने १० प्रतिशत लगाएका छन्।
अमेरिकाले स्टिल र आल्मुनियम कहाँबाट ल्याउँछ?
अमेरिकी अन्तर्राष्ट्रिय व्यापार प्रशासन (युएस–आइटिए) अनुसार अमेरिकालाई सबैभन्दा बढी स्टिल निर्यात गर्ने देश क्यानडा हो। क्यानडाले सबैभन्दा धेरै आल्मुनियम पनि निर्यात गर्छ। त्यसपछि मेक्सिको, ब्राजिल, दक्षिण कोरिया, जर्मनी र जापान प्रमुख आपूर्तिकर्ता हुन्।
अर्कोतर्फ संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया र चीनबाट पनि आयात गरिरहेको हुन्छ। चीनबाहेक एक हिसाबले अमेरिकाका सबैभन्दा नजिकका मुलुकले नै ती सामग्री आयात गरिरहेको देखिन्छ। अमेरिका आफ्नो आवश्यक स्टिलको करिब एक चौथाइ मात्र स्वदेशमा उत्पादन गर्छ।
संसार के भनिरहेको छ?
विभिन्न मुलुकका प्रमुख तथा अर्थशास्त्रीहरूले ट्रम्पका कदमले विश्वव्यापी आर्थिक अस्थिरता बढाएको बताउन थालेका छन्। क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रडोले पेरिसमा आयोजित एआई सम्मेलनमा यस्ता कर पूर्ण रूपमा अनुचित रहेको बताए।
उनले भने, ‘हामी अमेरिकाको सबैभन्दा नजिकको सहकर्मी हौं। हामी एकअर्कामा कारखानाका दृष्टिले पनि जोडिएका छौं। अमेरिकाले उत्पादन गर्ने प्रतिरक्षाका सामग्री, जहाज निर्माण, ऊर्जा तथा कार, ट्रक तथा बस बनाउन सघाउने महŒवपूर्ण सहकर्मी हौं। क्यानडा अमेरिकी स्टिल उद्योगको महत्त्वपूर्ण भाग हो तर जब यसमा भाँजो हालिन्छ भने हामीले आफ्ना उद्योग र श्रमिकहरूको रक्षा गर्नेछौं।’
उता चीनले बढ्दो करप्रति असन्तुष्टि मात्र होइन, चेतावनीसमेत दिइरहेको छ। यो करको दरले व्यापार युद्ध सुरु गर्ने त होइन तर त्यसतर्फ संसार अघि बढिरहेको देखिने ग्लोबल बिजनेस एड्भाइजरी संस्था टेनियोका वरिष्ठ उपाध्यक्ष ग्याब्रियल वाइल्डु बताउँछन्।
अरू आर्थिक परिवर्तनहरू के छन्?
सो घोषणालगत्तै अमेरिकी डलर अन्य मुद्राहरूको तुलनामा मजबुत बनेको छ। चिनियाँ स्टिल कम्पनीहरूको सेयर ०.१४५ प्रतिशतदेखि २.६२ प्रतिशतसम्म घटेको छ। यसैगरी आइरन ओअर (फलाम खानीको प्रमुख उत्पादन) को मूल्य पनि तल झरेको छ। एसियाली बजारहरू ट्रम्पको निर्णयका कारण अनिश्चित हुँदै स्थिर बन्नका लागि संघर्षरत छन्। यस दृष्टिले बजार अझै अस्थिर हुने सम्भावना देखिँदैछ। बजार जति अस्थिर हुँदै जान्छ, सुनको मूल्य उति चर्किंदै जाने निश्चित छ।
(एजेन्सीहरूको सहयोगमा)
प्रकाशित: १ फाल्गुन २०८१ १०:०१ बिहीबार





