२१ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

वन कार्यालयले सिफारिस रोक्दा नदीजन्य पदार्थ उत्खनन रोकियो, राजस्व सङ्कलन पनि घट्यो

डिभिजन वन कार्यालयले लहान नगरपालिका भएर बग्ने बलान, सर्रे र खुट्टी खोलामा नदीजन्य पदार्थ उत्खननका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न प्रदेश वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस नगर्दा चार महिनादेखि उत्खनन रोकिएको छ।

नदीजन्य पदार्थका लागि ठेक्का नलाग्दा नगरपालिकाको राजस्व सङ्कलन घटेको छ भने विभिन्न विकास–निर्माण परियोजना प्रभावित भएका छन्।

वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिका लागि नगरपालिकाले सबै प्रक्रिया पुर्याएर वन कार्यालयले मन्त्रालयसमक्ष सिफारिस नगर्दा समस्या भएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले गुनासो गरे। 'हामीले वन कार्यालयलाई यो महिनामा  चारवटा पत्र लेखिसक्यौँ तर वन अधिकृतले सिफारिस गर्नुभएको छैन,' उनले भने।

वातावरण संरक्षण नियमावली, २०७७ को दफा ९ को उपदफा (४) को ‘सम्बन्धित निकायले वातावरणीय अध्ययन प्रतिवेदनको सरोकारवाला अन्य सरकारी निकायसँग आवश्यक राय सुझाव लिन सक्नेछ’ भन्ने व्यवस्था अनुसार वन कार्यालयले मन्त्रालयलाई सिफारिस नदिएर काम रोकिएको प्रमुख झाको आरोप छ।

डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रले मन्त्रालयसमक्ष सिफारिस गर्न नगरपालिकाबाट प्राप्त निवेदन अध्ययन भइरहेको बताए। 'नदीजन्य पदार्थ उत्खननको जिम्मेवारी स्थानीय तहको हो। हामीले मन्त्रालयलाई नगरपालिकाको प्रस्ताव ठीक छ वा छैन समीक्षा गरेर सिफारिस दिने हो,' उनले भने, 'जहाँ वन क्षेत्र पर्छ, त्यहाँबाट नदीजन्य पदार्थ झिक्न मिल्दैन। वन क्षेत्रसमेत समेटेर सिफारिस मागिएकाले समस्या भएको हो।' रासस 

प्रकाशित: १९ पुस २०८१ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App