सर्लाहीमा मापसे चेक जाँच गर्ने क्रममा प्रहरी माथि नै आक्रमण भएको छ।
शनिबार राती ९ बजेको समयमा रामनगर गाउँपालिका ५ स्थित हुलाकी राजमार्ग सडक खण्डको बैधनाथ चोकमा सवारी चालकहरूलाई मापसे चेक जाँच गर्ने क्रममा केही व्यक्तिहरुले प्रहरीलाई घेरा हाली आक्रमण गरेका हुन्।
इलाका प्रहरी कार्यालय गडहियाका इन्चार्ज प्रहरी निरीक्षक उज्ज्वल कार्कीको नेतृत्वमा खटिएको टोली माथि नै सयौँको सङ्ख्यामा आएका गाउँलेहरूले चारै तर्फबाट घेरा हालेर कुटपिट गर्न थालेपछि प्रहरीले आत्म रक्षाको लागि गोली समेत चलाउनु परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बैधनाथ चौकदेखि पश्चिम बिर्ता गाउँका युवाहरूको आक्रमणमा परी ट्राफिक प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउको फुटेको छ । गम्भीर घाइते भएका प्रह यादवको मलङगवा स्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ।
गत बुधबार मादक पदार्थ सेवन गरेर सह चालकले चलाएको यात्रु बाहक बसको ठक्करबाट छतौना बिओपिमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक बिजय तुलाधरको ज्यान गएपछि सर्लाही प्रहरीले मापसे चेकिङमा कडाइ गरेको थियो।
मापसेमा परेका युवाहरूले प्रहरीसँग झगडा गर्न थालेपछि नजिकै रहेका गाउँलेहरू एक्कासि प्रहरी माथि आक्रमण गर्न थालेपछि आत्म रक्षाको लागि पाँच राउन्ड हवाइ फायर गर्नु परेको सर्लाही प्रहरी प्रमुख एसपी रबिन्द्र बहादुर सिंहले बताए।
प्रकाशित: २१ पुस २०८१ ११:५३ आइतबार