१) अर्तीराम
पेशललाई अङ्कमाल गर्दै विनोद बोले, “अहो! मेरो साक्षात् देवता, म तिमीलाई पलपल सम्झिरहन्छु। आज तिम्रो दर्शन पाउँदा भगवानकै दर्शन पाएझैँ भयो। उनी बुहारी हुन् कि?”
पेशलले रुन्चे स्वरमा भने, “हजुर, उनी बुहारी हुन्। हजुर त जस्ताको तस्तै हुनु हुँदो रहेछ नि!”
हाँस्दै विनोदले उत्तर दिए, “यो सब भाइको कमाल हो। त्यो दिन भाइसँग भेट नभएको भए म डुब्ने नै रहेछु।”
रश्मिले सानो स्वरमा सोधिन्, “कसरी डुब्नुहुन्थ्यो हजुर?”
विनोदले खुसी हुँदै भने, “म दुई छोरी भए भनेर रन्थनिरहेको थिएँ। भाइले ‘छोराछोरी दुवै ईश्वरको वरदान हुन्। अहिलेको युगमा छोराले भन्दा छोरीले बाबुआमालाई राम्रो गरेका छन्। छोराको आशमा हजुर डुब्नु होला। यस्तै भनेर सम्झाएपछि भाइको कुराले मेरो बन्द आँखा खुल्यो। त्यही दिन बन्ध्याकरण गरेँ। अहिले एउटी छोरी डाक्टर छिन्, अर्की छोरी इन्जिनियर छिन्। हामी सुखै सुखको छालमा छलाङ मारिरहेका छौं। यो सबको श्रेय भाइलाई जान्छ।”
पेशल मुन्टो निहुराउँदै अगाडि बढे। रश्मि बरबरती आँसु झार्दै बाटो लागिन्।
विनोद के भयो बुझ्न नसकेर हेरेको हेर्यै भए। जयदेव बोले, “बिचरो अर्तीरामले आफ्नो अर्तीले सयौंको डुङ्गा पार गराए। आफूले भने छोराको आशमा अति आदर्श श्रीमतीलाई पाँचवटी छोरी जन्माउन बाध्य गराए। अहिले रश्मि बहिनीको पाठेघरको क्यान्सर अन्तिम स्टेजमा पुगेको छ अरे!” अर्ती अरूलाई दिनका लागि मात्र काम लाग्ने रहेछ दाइ! न कि आफूलाई पर्दा त्यही अर्ती सम्झे।”
जयदेवको कुराले विनोदलाई रिँगटा लागेजस्तो भएर भुइँमा थचक्क बसे। अर्तीरामको यो शब्द पनि कानमा ओहोरदोहोर गरिरह्यो, ‘याद राख्नुहोस्, ‘घर जलिसकेपछि इनार खन्नुको कुनै औचित्य हुँदैन’ दाइ!’
२) बबुरो
“हेलो, विनोदजी के छ हालखबर?”
विनोदले जवाफ दिए, “अँ,सञ्चै छ जीवनजी! म बबुरालाई कसरी सम्झनुभयो? धेरैमा फोन गर्नुभयो।”
जीवनले भने, “तपाईं रिसाए पनि रिसाउनुहोस्। एउटा कुरा भन्छु नै तपाईं बबुरो होइन। पत्थर नै हुनु हुँदो रहेछ विनोदजी! हैन त्यसरी फेसबुक वालमा नै राखेको कविता प्रतियोगितामा पनि टपाटप नजिकका मान्छे टिप्ने हो त? कम्तीमा शुद्धता, भाव, शैली आदि हेर्नु पर्दैन? ‘जसको हात उसैको जगन्नाथ’ गर्नुभयो? हैन मर्दा कसरी सास जान्छ हँ तपाईंको? होनहार प्रतिभाको आँसु लाग्दैन?”
विनोदले कड्किएर भने, “ल मलाई एउटा त्यस्तो क्षेत्र बताउनुहोस्। जहाँ साहित्यकारहरूकोे मात्र कदर हुन्छ?”
जीवनको मन एकाएक देशकै ठूलो साहित्यिक संस्थामा गएर अडियो। त्यहाँ पनि साहित्यका पुजारीहरूभन्दा राजनीतिका पुजारीहरू धेरै थिए। अन्य कैयौं साहित्यिक संस्थामा पनि राम्रो हैन, हाम्रै मान्छेको चयन हुन्थ्यो। सबै सम्झिँदा उनको मुटु चिरिएझैं भयो। आँखा टम्म भरियो। उनी मौन रहे।
ठूलो हाँसोमा विनोदले उत्तर मागे, “ल, भन्नुहोस् केही जवाफ छ तपाईंसँग?”
जीवनले रुञ्चे स्वरमा भने, “अहँ, छैन। तपाईंहरू जस्ताले नै आफ्नो साम्राज्य जमाउनुहोस्। बबुरो त हामी पो हौं। हामी जस्ता सीधासादाको यहाँ केही काम नै छैन। कृपया लतिका, सुयोग लगायतका कविता एकपल्ट फेरि पढ्नुहोस् । यतिचाहिं भन्छु नै।”
विनोदले अलि झस्केझैँ गरी भने, “हत्तेरिका उनीहरूको पनि कविता थियो र?”
३) आमा
जोगेन्द्रले मोबाइल गर्दै भित्र पसे। श्यामाले खुसीको स्वरमा भनिन्, “मेरो ठूले आयौ? अहिले कस्तो छ बाबा? कहिले तिम्रो मुख देखौं जस्तो भएको थियो।”
जोगेन्द्रले जङ्गिदै भने, “नाटक गर्नुको पनि हद हुन्छ नि! मुख हेर्न मनै थियो भने म डेँगु भएर मुर्दाझैं लड्दा किन आउनु भएन हँ? अबदेखि मलाई छोरा भन्नु पर्दैन। ‘खोलो तर्यो लौरो बिर्सियो’ यही त भयो नि मेरो जीवनमा पनि। सम्झिनुहोस्, अबदेखि तपाईंको छोरा मर्यो। दुःख, बिमारमा काम नलाग्ने आमा अरू बेलामा किन चाहियो हँ? म यही भन्न आएको हुँ।” यति भन्दै जोगेन्द्र हिंडी पनि हाले।
श्यामाले रुन्चे स्वरमा भनिन्, “चिया त खाएर जाऊ बाबा!”
बाहिरबाट झिनो आवाज आयो, “जे घिच्नु छ, आफैंले घिचे हुन्छ।”
रमोलाले सासूनजिकै बस्दै भनिन्, “हामीले त भनेकै हौं नि! हजुरलाई कोरोना भएको कुरा सबैलाई भनिदिऊँ भनेर। हजुरले नै मान्नु भएन। जेठाजुलाई के थाहा हजुर मर्नु न बाँच्नु भएर १४ दिन हस्पिटल बसेको कुरा। हजुरले बिरामी छोरालाई पीर पर्छ, कुरा लुकाइदेऊ भन्नुभयो। उनीहरू भने पातलो दिसा भए पनि सबैलाई सुनाउँदै हिंड्छन्। बयासी वर्षकी आमा किन ओछ्यानमा सुतेकी होलिन् भनेर बुझ्नु त कता हो कता? जेठाजुले त झन् आगो ओकलेर पो जानुभयो।”
श्यामाले आँसु पुछ्दै भनिन्, “हामी सबैलाई माथि उठाउन पहाडसरि पीडा निल्ने ऊ देवता नै हो बुहारी! उसले जे भने पनि मलाई अमृतसरि लाग्छ। मेरो मुटुको टुक्रालाई काँडाले पनि नकोरोस्।”
मोबाइल बिर्सिएर लिन फर्केका जोगेन्द्रलाई आमा र बुहारीबीचको कुरा सुनेर सयौं सुइराले रोपेझैं असह्य भयो। तुरुन्तै उनको हृदयबाट चीत्कार निस्कियो, “आमा!”
४) स्वतन्त्र
लोग्नेलाई भात पस्किन गएकी तनुजाको टाउकोमा एक्कासि थाल बजारिएपछि उनी डङ्ग्रङ्ङ्ग पछारिइन्।
कमला चिच्च्याइन्, “हे भगवान्! यो के देख्नुपर्यो? असत्तीको हातमा कीरा नै परोस्।”
सुरज चर्कियो, “तपाईंले नै पुलपुल्याएर यसले ठाउँ छोडेकी हो। दिउँसभरि स्कुलमा घोक्रो फुलाएर कराउनुपर्छ भन्ने यसलाई थाहा छैन? घाँटीबाट नै नछिर्ने यस्तो पनि कही खाना हुन्छ? अझ यसको थाप्लामा भातको भाँडो नै बजार्नुपर्ने हो।”
अनुजाको टाउकोमा पानी ठोक्दै कमला बोलिन्, “दुनियाँले बहुविवाहको केस लगाएर लोग्नेको जागिर खुस्काइदे भन्दा यसले मानिन। घर र माइतीको इज्जत धानेर बसेकी छ। हीराको मोल नबुझ्ने तँ पतितसँग के कुरा गर्नु? मेरै कोखलाई धिक्कार दिन्छु।”
अनुजाले आँखा खोलेर रुन्चे स्वरमा भनिन्,“आमा नकराउनुहोस् मलाई केही भएकै छैन। बाबूले यो कुरा थाहा पाए भने उनलाई नराम्रो असर पर्छ।”
कमलाले आँसु झार्दै भनिन्, “नानी तँमाथिको यो अत्याचार हेर्ने मेरो शक्ति छैन। आफ्नी स्वानी बितेपछि काजी सापले हामी दुवैले दुःख पायौँ। हाम्रा छोराछोरी दुवैलाई असल संस्कार दिनुपर्छ, मसँग हिंड भन्नुभएको थियो अरे! हाम्रै मायाले तैँले नमानेको कुरा मलाई थाहा छ। तिमीहरूलाई यो कालकोठरीबाट म नै मुक्त गरिदिन्छु। तिमीहरूलाई उडाएपछि मात्र चयनले सास लिन्छु।”
“हैन के कुरा गर्नुहुन्छ आमा?” सुरज चिच्यायो।
कमला पनि चर्किइन्, “म ठीक भन्दै छु पाजी! यी गौप्राणीहरू स्वतन्त्र हुनु नै पर्छ। यो खाना तेरै प्राणप्यारीले पकाएकी थिई बुझिस्? उसलाई केही भन्ने हिम्मत छ तसँग? धिक्कार तेरो जुनी ‘भुइँको टिप्दा पोल्टाको गुमाइस्’।”
५) एउटा छोरा
मोबाइलतिर हेर्दै विनोद चर्किए, “बाउले पनि चाट्नु दिमाग चाटिसके। सताउनुको पनि हद हुन्छ नि यार! अस्तिन पनि म मर्न लागेँ भनेर नेपाल डाके। म गएको भोलिपल्टदेखि ठमठम हिंड्न र मैले भन्दा बढी खान थाले। छोरालाई के, कसो छ पटक्कै बुझ्नु छैन। बेला न कुबेला फोन हानेको छ।”
आठ वर्षका लन्डनमै हुर्किएका थोरै नेपाली बोल्न जान्ने छोराले बाबुको हातबाट मोबाइल लिएर हजुरबालाई मोबाइल लगाउँदै भनें, “ल छितो कुला गल्नुहोच्।”
मोबाइल लिंदै विनोद बोले, “ल ढोग गरेँ। ल भन्नुहोस् फेरि के भयो?”
नवराजले खोक्दै भने, “भाग्यमानी भएस् बाबू! खोई के भन्नु बुढेसकालमा जन्मेको त नै एक मात्र सहारा होस्। तेरी आमा ज्वरोले इन्तु न चिन्तु भएकी छे। बाथले मेरो खुट्टा पटक्कै चल्दैन। आएर हामीलाई वृद्ध आश्रमतिर राखिदे बाबू! बेलामा दुई गाँस त खान पाउँछौं। अस्तिदेखि हामी भोक्कै छौं। सबैले गाउँ छोडिसके। भएका पनि टाढा छन्। कसले के खुवाओस्?”
मोबाइल राख्दै विनोद फतफताए, “पैसा नै ओढ्न, पैसा नै ओछ्याउन मिल्ने गरी पठाउँदा पनि कहिले शान्ति छैन। बाबुआमालाई मान्छेहरूले किन आश्रममा राख्छन् भनेको त यस्तै कारणले पो रहेछ। ल भन अपेक्षा! अब म के गरौं? गएर राम्रो आश्रममा राखिदिऊँ है? लन्डन छोड्ने कुरै भएन। यहाँ कसरी लेराउनु?”
अपेक्षाले उत्तर दिन नपाउँदै छोराले भने, “थिक छ, हदुलबा- हदुलआमालाई आच्लम् लाख्ने भए म पनि हदुलहरूलाई पछि आच्लम् नै लाखिदिन्चु। हदुल पनि एउता छोला, म पनि एउता छोला...।”
( कथाकार ‘दोषी’ काे लघुकथासङ्ग्रह ‘पहिरो’ मा सङ्गृहीत।)
प्रकाशित: २१ पुस २०८१ १२:११ आइतबार