प्राकृतिक प्रकोप, हवाई र सडक दुर्घटना, हिडडुलमा असहजता, हवाईभाडा वृद्धिका बाबजुत पनि नेपालमा सन् २०२४ मा झन्डै ११ लाख ५० हजार विदेशी पाहुना भित्रिएका छन्। हवाई माध्यमबाट नेपाल भित्रिएका ती पर्यटकको संख्या कोरोना भाइरस संक्रमण सुरु भएपछिको सबैभन्दा बढी हो।
पर्यटन बोर्डले सन् २०२४ मा नेपालमा १३ लाख २० हजार हाराहारीमा विदेशी पाहुना आउने वर्षको सुरुवातमा अनुमान गरेको थियो। बोर्डका निर्देशक मणिराज लामिछानेले २०२४ को अन्त्यसम्म (डिसेम्बर ३० सम्म) नेपालमा सबैगरि ११ लाख ४५ हजार २ सय ९८ जना विदेशी पाहुना भित्रिएको जानकारी दिए। वर्षको अन्तिम दिनपनि ३ हजार हाराहारीमा विदेशी पर्यटक भित्रिएको अनुमान छ।
‘हवाई माध्यमबाट भित्रिएका पाहुनाको संख्या मात्र झन्डै ११ लाख ५० हजार हो, स्थलमार्गबाट भित्रिनेको संख्या पनि पर्याप्त नै हुन्छ,’ उनले भने। नेपाल–भारत सीमा नाकाबाट स्थलमार्ग हुँदै पर्याप्त भारतीय पर्यटक नेपाल आउँछन्। तर, उनीहरुको तथ्यांक कतै हुँदैन। भारतीय बाहेक स्थलमार्ग हुँदै भित्रिने तेश्रो मुलुकका विदेशी पर्यटकको तथ्यांक भने यसैमा समेटिएको छ।
‘स्थलमार्ग हुँदै भित्रिने भारतीय पर्यटकको संख्या पनि पर्याप्त नै हुन्छ। वर्षमा करिब १५ लाख भारतीय पर्यटक स्थलमार्ग हुँदै नेपाल भित्रिने अनुमान छ। तर, त्यसको आधिकारिक तथ्यांक कतै रहन्न। तरपनि ती पर्यटकका कारण नेपालको पर्यटनले आर्थिक लाभ भने पाएको छ,’ उनले भने। लामिछानेका अनुसार यो डिसेम्बर (३० तारिखसम्म मात्र) मा सबैगरि ८९ हजार ७ सय ६५ जना विदेशी पाहुना नेपाल भित्रिएका छन्। ‘औषतमा दिनमा करिब ३ हजार जना विदेशी पर्यटक नेपाल भित्रिएका छन,’ उनले भने।
कोरोना भाइरस संक्रमणपछि नेपालमा यो वर्षको आगमन नै सर्वाधिक भएको पनि लामिछानेले जानकारी दिए। उनका अनुसार यसअघि सन् २०१९ मा विदेशी पाहुना आगमनको संख्या ११ लाख ९७ हजार १ सय ९१ थियो। सन् २०१९ को यो संख्या नै अहिलेसम्मको सर्वाधिक आगमन हो। त्यसपछिको दुइवर्ष (२०२० र २०२१) मा कोरोना भाइरस संक्रमणले गर्दा विदेशी पाहुनाको आगमन घटेको थियो। नेपालमा सन् २०२० मा जम्मा २ लाख ३० हजार ८५ र २०२१ मा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पाहुना भित्रिएका थिए।
सन् २०२२ मा भने आगमनमा सुधार हुँदा संख्या ६ लाख १४ हजार ८ सय ६९ पुगेको थियो। सन् २०२३ मा नेपालमा सबैगरि १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। ‘कोरोना संंक्रमणपछि दोश्रोपटक १० लाख पर्यटक आगमन कटेको छ। पोहोर र अहिलेको वर्षमा आगमनमा निकै नै सुधार भएको हो, किनकी कोरोनाले आगमन निकै नै प्रभावित भएको थियो,’ उनले भने।
पर्यटन बोर्डले सन् २०२४ मा नेपालमा १३ लाख २० हजार हाराहारीमा विदेशी पाहुना आउने वर्षको सुरुवातमा अनुमान गरेको थियो। सबैभन्दा बढी पाहुना भित्रिएको वर्ष (२०१९) को आगमन संख्याको कम्तिमा १० प्रतिशत पाहुना २०२४ मा बढ्न सक्ने सुरुवाती आँकलन बोर्डको थियो। त्यही आँकलन अनुसार बोर्डले १३ लाख २० हजारको लक्ष्य अनुमान गरेको थियो। ‘बोर्डको २०२४ मा भित्रिने विदेशी पर्यटकको अनुमानित संख्याको लक्ष्य पुरा नभएपनि आगमनमा सुधार भने भएकै हो। समस्याका बाबजुत पर्यटक आगमन राम्रो मान्नुपर्छ,’ उनले भने।
अन्तर्राष्ट्रिय पर्यटकको विश्वव्यापी आगमनलाई नियालिरहेको राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएन टुरिजम)ले पनि अहिलेसम्मको आगमनमा २०१९ को तथ्यांकलाई सर्वाधिक मानेर विश्लेषण गर्ने गरेको छ। यूएन टुरिजमका अनुसार २०१९ को आगमनपछि कोरोना संक्रमणले पर्यटन क्षेत्रलाई असर परेको र त्यसपछिका वर्ष पर्यटन क्षेत्र रिकभर हुने क्रममा २०२४ को सेप्टेम्बरसम्म आउँदा ९८ प्रतिशत रिकभर भएको उल्लेख गरेको छ।
यूएन टुरिजमका अनुसार २०१९ को आगमन संख्याको तुलनामा २०२० मा २८ प्रतिशत मात्र विश्वव्यापी पर्यटक आउजाउ भएको थियो। त्यो आकार २०२१ मा ३१ प्रतिशत पुगेको थियो । २०२२ मा भने थप सुधारिएर ६७ प्रतिशत भएको थियो। पर्यटक आगमनमा सुधार हुँदै जाँदा २०२३ मा ८९ प्रतिशत र २०२४ को सेप्टेम्बरसम्मको अवधिमा ९८ प्रतिशत रिकभर भएको यूएन टुरिजमले बताएको छ।
विश्वव्यापी रुपमा पर्यटक क्षेत्रमा कोभिडको प्रभाव कम हुँदै जाँदा नेपालमा पनि आगमन बढ्दै जाँदा नेपालमा सन् २०२४ सम्मको आगमनमा ९६ प्रतिशत रिकभर भएको बोर्डका निर्देशक लामिछानेले बताए।
‘२०१९ लाई सतप्रतिशत मानेर विश्लेषण गरेको र त्यसपछिका वर्ष आगमन खस्किँदै जाँदा पर्यटन क्षेत्र प्रभावित भएको थियो। त्यो आगमन अहिले ९६ प्रतिशत रिकभर भएको छ,’ लामिछानेले भने, ‘विश्वव्यापी रुपमा पर्यटन क्षेत्रको गतिविधि बढ्दा नेपालमा पनि त्यसको प्रभाव परेको छ।’
कोरोना संक्रमण सुरु हुँदाकै ताका पर्यटन क्षेत्र पहिलेकै अवस्थामा (२०१९ अघि) फर्किन केही वर्ष लाग्ने र त्यो समय २०२४ अन्तिम हुने अपेक्षा गरेको थियो। आगमन सुधार हुने क्रममा २०२२ सम्म ५१ प्रतिशत रिकभर भएको थियो। सन् २०२३ सम्ममा ८५ प्रतिशत रिकभर भईसकेको थियो । ‘सन् २०२४ मा आगमनको नयाँ रेकर्ड कायम गर्ने लक्ष्य थियो। तर, केही घटनाक्रमले आगमन प्रभावित हुँदा लक्ष्य नभेटिएपनि नजिक पुगेका छौं,’ उनले भने।
उनका अनुसार पर्यटक आगमनमा सुधार हुनुमा पर्यटन बोर्ड आफैले प्रर्वद्धनात्मक अभियान थालेको छ। त्यस्तै नेपालमा भएका ठुला गतिवधिले पनि आगमनलाई बढावा दिएका छन्। अघिल्लो महिना भएको क्रिकेटको नेपाल प्रिमियर लिग (एनपिएल), बुद्धिष्ट सम्मेलन, पोखरामा हाल भईरहेको अन्तर्राष्ट्रिय बेलुन महोत्सव र चिनियाँ सरकारको आयोजनामा भएको ड्रागन बोट रेस मुख्य कारण रहेको उनले बताए।
त्यस्तै केही कारणले आगमन प्रभावित भएको पनि लामिछानेले बताए। उनका अनुसार अघिल्लो वर्ष पर्याप्त मात्रामा प्रर्वद्धन नहुनु, भारतीय बस, हेलिकप्टर र हवाई जहाज दुर्घटना, बाढीपहिराको त्रास र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय कटौती हुनुले पर्यटक आगमनमा असर पारेको उनले बताए। ‘२०२४ मा नेपालको पर्यटन पहिलेकै आकार नाघेर थप सुधार हुने अपेक्षा गरेका थियौ। तर, यही वर्ष भएका केही घटनाक्रमका कारण आगमन प्रभावित हुँदा लक्ष्य भेट्न सक्ने अवस्था रहेछ,’ लामिछानेले भने, ‘२०१९ आगमन कटाउन २०२५ पर्खिनुको विकल्प रहेन। अर्काे वर्ष मात्र नेपालको पर्यटक आगमनले बल्ल २०१९ को रेकर्ड ब्रेक गर्नेछ।’
नेपालमा सन् २०२४ को जनवरीमा ७९ हजार १ सय विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या फेब्रुअरीमा ९७ हजार ४ सय २६ थियो। मार्चको आगमन संख्या १ लाख २८ हजार १ सय ६७ थियो। अप्रिलको आगमन भने १ लाख ११ हजार ३ सय ७६ रहेकोमा मे महिनामा ९० हजार २ सय ११ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए।
जुन महिनामा नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ७६ हजार ७ सय ३६ थियो। जुलाईको आगमन ६४ हजार ५ सय ९९ हुँदा अगष्टको आगमन भने ७२ हजार ७ सय १९ रहेको थियो। सेप्टेम्बरमा ९६ हजार ३ सय ५ जना विदेशी नेपाल भित्रिए। अक्टोवरमा भने १ लाख २४ हजार ३ सय ९३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए। नोभेम्बरमा नेपालमा १ लाख १४ हजार ५ सय १ जना विदेशी पाहुना भित्रिएकोमा डिसेम्बरमा ८९ हजार ७ सय ६५ जना भित्रिएको बोर्डले बताएको छ। सबैगरि ११ लाख ४५ हजार २ सय ९८ जना विदेशी सन् २०२४ (डिसेम्बर ३० सम्म) नेपाल भित्रिएको बोर्डले बताएको छ।
पर्यटन व्यवासायी भने पर्यटकको आगमनमा सुधार हुँदै गएपनि यो नै पर्याप्त नभएको बताउँछन्। ‘कोरोना संक्रमणले पर्यटन क्षेत्र थिलोथिलो भएको थियो। पछिल्लो समय आगमन त बढिरहेको छ। पर्यटन क्षेत्रका लागि यो आगमन पर्याप्त भने छैन,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले भने, ‘पोखरासम्मको पहुँचमा सकस हुँदा पर्यटन क्षेत्रले बढी लाभ लिन सकेको छैन। तरपनि आगमनमा भने सुधार भईरहेको छ।’
प्रकाशित: १६ पुस २०८१ १६:५९ मंगलबार