२२ पुस २०८१ सोमबार
image/svg+xml
अर्थ

बेलकाको पाँच महिनाको बजेट खर्च २० प्रतिशत

आर्थिक वर्ष सुरु भएको पाँच महिना बितिसक्दा उदयपुरको बेलका नगरपालिकाको पुँजीगत खर्चले आकार लिन सकिरहेको छैन। नगरसभाले चालु आर्थिक वर्षका लागि पुँजीगत बजेट २४ करोड ६२ लाख ४ हजार ३५ रुपैयाँको अनुमान गरेको थियो।

पुँजीगत बजेट मङ्सिर मसान्तसम्म नगरपालिकाले १ करोड ४८ हजार ७ सय ६३ रुपैयाँ खर्च गरिरहेको छ। लेखा अधिकृत राजन भट्टराईका अनुसार पुँजीगत बजेटको यो खर्च हिस्सा ८.१४ प्रतिशत हो। तर, पुँजीगत बजेट विकास निर्माणसँग सम्बन्धित भएकाले यो भन्दा बढीको काम भईसकेको छ। विकास निर्माणका कामहरू ध्माधम भइरहेको र बील पनि पेस भएर भुक्तानीको प्रक्रियामा रहेकाले खर्चमा देखिएको अङ्कभन्दा काम बढी भइसकेको हुने अधिकृत भट्टराई बताउँछन्।

योजना सम्झौता भइसकेको कामको बील पेस गर्ने कामले निरन्तरता पाइरहने हुनाले पुँजीगत बजेट भुक्तानी भएको मात्र खर्च भन्न नमिल्ने उनी बताउँछन्। पेस भएको बील भुक्तानीको पाइप लाइनमा रहने तथा सम्झौता भएका योजनाहरूको काम निरन्तर भइरहने हुनाले पनि देखिएभन्दा बढी भौतिक प्रगति हुने हुँदा खर्च बढ्ने भट्टराईको तर्क छ।

बेलकाले चालुतर्फ भने पाँच महिनाको अवधिमा ३१.८८ प्रतिशत खर्च गरिसकेको छ। निनियोजित चालु बजेटको आकार ५३ करोड ७९ लाख २९ हजार ९ सय ९३ रुपैयाँमध्ये हालसम्म १७ करोड १५ लाख ६ हजार ३ सय ८३ रुपैयाँ खर्च गरिसकेको लेखा अधिकृत भट्टराईले बताए। चालु र पुँजीगत दुवै गरी समग्रमा बेलकाको खर्च प्रतिशत १०.१ हुन आउँछ।

अधिकृत भट्टराईका अनुसार बेलकामा भौतिक पूर्वाधार संरचनातर्फ खानेपानी, विद्यालय भवन र सडकजस्ता ठूला योजनाहरू सञ्चालित छन्। चालु वर्ष निर्माण हुने बेलका १ तपेश्वरीमा ४ करोड लागतको निर्माणाधीन विद्यालय भवन बहुवर्षीय योजना अन्तर्गत काम हुँदैछ। त्यस्तै रामपुर खानेपानी योजना ३ करोड २० लाखको काम हुँदैछ भने ८ नं. को सोमबार–माईन्टार सडक र र रामपुर–सातपत्रे–आम्बासी सडक १ करोड लागतमा निर्माण हुने क्रममा छ।

प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले ५ महिनाको अवधि यत्तिको खर्च सन्तोषजनक रहेको बताए। दसैँ, तिहार, छठ र उधौलीजस्ता चाडबाड पर्ने भएकाले पनि काम गर्न नपाएको यो अवधिमा यत्तिको खर्च सन्तोषजनक मान्नुपर्ने उनको बुझाइ छ। पुँजीगत बजेट भौतिक पूर्वाधार संरचनामा केन्द्रित हुने हुँदा स्थानीय र टोलस्तरबाटै सम्झौता गर्नुपर्ने तथा ठेक्का प्रक्रिया अवलम्बन गर्नुपर्ने भएकाले पनि खर्च प्रक्रिया ढिलो हुने घिमिरेको बुझाइ छ।

बेलकाले गएको साउनमा सम्पन्न नगरसभाबाट चालु वर्षका लागि ७८ करोड ४१ लाख ३४ हजार २५८ रुपैयाँको अनुमानित आयव्यय प्रक्षेपण गरेको थियो। नगरप्रमुख अशोक कार्कीका अनुसार चालु वर्षको बजेट तथा नीति कार्यक्रममा नगरपालिकाले सङ्घीय सरकार र प्रदेशबाट प्राप्त पुँजीगत, समपूरक र विशेष अनुदान बजेटको साझेदारीमा खानेपानी, सडक, भवन र सिँचाइ कुलो तथा नालालगायत महत्वपूर्ण भौतिक पूर्वाधार संरचना निर्माण गर्ने योजना अघि सारेको छ। 

प्रकाशित: १३ पुस २०८१ १०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App